२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

एमाले-राप्रपा तालमेलकाे तयारी : सिन्धुपाल्चोक-२ मा शेरबहादुर कि पशुपति ?

  • २०७९ भाद्र १६, बिहिबार मा प्रकाशित १ साल अघि
  • भदौ १६, २०७९

    चौतारा । सत्तारुढ दलहरुले गठबन्धन गरेपछि दबावमा परेको नेकपा एमालेले साना पार्टीहरुसँग तालमेलको प्रक्रिया अगाडि बढाएको छ । अध्यक्ष केपी शर्मा ओलीकै अग्रसरतामा पूर्वपञ्चहरुको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेलको प्रयत्न भइरहेको छ ।

    चुनावी तालमेलबारे ओलीसँग लिङ्देनले बालकोट पुगेरै यसअघि कुराकानी गरेका थिए । राप्रपाका महामन्त्री कुन्ती शाही र केन्द्रीय सदस्य रेखा थापाले पनि ओलीसँग भेटेका थिए । दुवैतिरका नेताहरू तालमेल हुनेमा बढी विश्वस्त छन् । त्यसको कारण भने सत्तारुढ दलहरुले गठबन्धन गरेकाले एमाले र राप्रपा दुवैलाई तालमेलको खाँचो छ ।

    एमालेसँग तालमेलबारे पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले छलफल गरिरहेको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठ बताए। अझ अध्यक्षद्वय ओली र लिङ्देन दुवैले झापामा चुनाव जित्न एकअर्काको मत चाहिने भएकाले पनि तालमेलको सम्भावना बढी छ ।

    राष्ट्रिय रुपमै पनि तालमेल गर्न अरु बलियो दल बाँकी छैन । तर राप्रपासँग तालमेल गर्दा एमालेका केही प्रभावशाली नेताहरू समस्यामा पर्ने देखिन्छन् । किनकि राप्रपाको जनमत राम्रो भएको र ठूला नेता रहेको निर्वाचन क्षेत्रमा दाबी गर्ने पक्का छ । ०७४ मा पनि राप्रपाले नेपाली कांग्रेससँग त्यस्तै गरेका थिए ।

    राप्रपाबाट चुनाव लडिरहने नेतामध्ये एक हुन् पशुपति शमशेर राणा। उनी पञ्चायतकै अवधिदेखि सिन्धुपाल्चोकबाट चुनाव लड्दै आएका छन् । ०७४ को चुनावमा उनी सिन्धुपाल्चोक–२ बाट उम्मेदवार थिए । कांग्रेसको समर्थनमा उम्मेदवार रहेका राणा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसँग पराजित भए ।

    तामाङले ०७० मा पनि राणालाई पराजित गरेका थिए । ०६४ को चुनावमा पनि राणा भन्दा तामाङले धेरै मत ल्याएपनि माओवादीका दावा लामाले जितेका थिए ।

    ०६९ मा उपाध्यक्ष अशोक राईको नेतृत्वमा एउटा समूह बाहिरिँदा र ०७७ मा एमाले विभाजन हुँदा पार्टी नेतृत्वलाई साथ दिएका कारण तामाङलाई पञ्छाएर राणालाई टिकट दिनु एमालेलाई सजिलो छैन ।

    यो क्षेत्रमा मात्रै नभई सिंगो सिन्धुपाल्चोकमा राणाको राम्रो छवि छ । झनै क्षेत्र नं. २ मा राप्रपा बलियो छ । त्यसैले पनि पशुपति आफै चुनावी मैदानमा उत्रिँदा विपक्षीका लागि टाउको दुखाइको विषय बन्ने गरेको छ ।

    २०३८ सालदेखि अहिलेसम्मका सबै चुनावमा उनी उम्मेदवार बनेका छन् । २०३८ देखि एक छत्र जनताका प्रतिनिधि बनेका राणाले पहिलोपटक २०६४ को निर्वाचनमा हार ब्यहोरे । त्यसपछिका सबै संघीय चुनावमा उनले हारमा ‘ह्याट्रिक’ गरिसकेका छन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस