२०८१ बैशाख १६, आईतबार | Sun, 28, Apr, 2024

आहा ! सुन्दर दुगुनागढी । (फोटोफिचर)

Thumbnail
  • २०७४ आश्विन २८, शनिबार मा प्रकाशित ६ साल अघि
  • सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका स्थित यार्मासिङमा निर्मित दुगुनागढी ऐतिहासीक र पर्यटकिय दृष्टिकोणले महत्वपूर्ण मानिन्छ । नेपाल तिब्बत सिमानाको मितेरिपुलबाट साढेँ चार किलोमिटर पूर्व लार्चा भन्ने ठाँउबाट करिब एक घण्टाको उकालो हिँडेपछि यो गढीमा पुग्न सकिन्छ ।

    वि.सं. १९१२ सालमा तत्कालिन प्रधानमन्त्री श्री ३ जङ्गबहादुर राणाको निर्देशन बमोजिम नेपाली सेनाले यो गढी निर्माण गरेको हो । नेपाल भोट युद्धका बेलामा कालीप्रसाद शेर र गोरखनाथ गणले संयुक्त रुपमा यो गढी निर्माण गरेका थिए । यो गढी निर्माणको तजबिज लफ्टिनेन्ट कर्णेल पहलमान सिँह बस्नेत र निर्माण कार्यको रेखदेख जनरल धीरशम्शेरले गरेका थिए । भोटसँगको युद्धमा नेपालीले यसै गडीको प्रयोगबाट सफलता हासिल गरेको प्राप्त शिलालेखमा उल्लेख गरिएको छ ।

    यहाँबाट तिब्बतको खासाबजार नजिकै देखिन्छ । उच्च स्थानमा भएकोले शत्रु आएको टाढैबाट देखिन्छ । भोटसँगको युद्धमा नेपाली सेनाले तिब्बतको खासाबजारमा यसै गढीबाट तोप हानेर क्षति पुर्याएको भन्ने भनाई छ ।

    शिलालेखमा यस्तो उल्लेख छः

    वि.सं. १९१२ साल मंसिर महिनामा श्री जनरल वीरशम्शेर जंग कुँवर राजाजीबाट मर्जीभै दुगुना बस्दा श्री लेफ्टिनेन्ट कर्णेल पहलमानिसंहले तजबिज गरी ३ पल्टनसमेत किल्लाको नाप बाहिरि फेरो हात १० मी. फेरि हात ५६१ प्रगलो हात १० मि. फेरि हात ५०० मुची ४ माह हात १९ भित्री मैदान पूर्वपश्चिमतर्फ १११ हात भित्री मैदान उत्तर दक्षिण १६ पूर्वपश्चिम ६२ गार्हो ढोका दक्षिणतर्फ बाहिरीमा ढोका र जम्मा जग्गाको गढि ५७७ रहेको देखिन्छ । सम्वत् १९१२ भित्र पौस सुदी १ रोज ३ देखी चैत्रभरी रोज ३ सम्म ।

    यो गढी २०७२ वैसाख १२ को भूकम्पपछि सुनसान छ । यहाँ पुग्ने पर्यटकीय पदमार्ग क्षतिग्रस्त भएकाले भूकम्पपछि स्थानीय समेत जान छाडेका देखिन्छ । दुगुनागढीको शिलालेखको संरक्षणका लागि सरकारले तत्काल चासो दिनुपर्ने स्थानीय बताउँछन् ।

    • शब्द/तस्वीर : सुन्दर शिरीष

    २८ असोज २०७४ गते प्रकाशित

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस