२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

नवलपुरका माधव कुँइकेल, जो साइकलमै पुगे जुम्ला

  • २०८० चैत्र ३०, शुक्रबार मा प्रकाशित २ हफ्ता अघि
  • चौतारा । सिन्धुपाल्चोकका ५९ वर्षका माधवप्रसाद कुँइकेल साइकलमै जुम्ला पुगेका छन् । गत फागुन २७ गतेदेखि सन्धुपाल्चोकबाट हिँडेका उनी झण्डै एक महिनापछि जुम्ला पुगेका हुन् ।

    इन्द्रावती– ४, नवलपुरका कुँइकेल साइकल र नेपाली झन्डासहित खलंगामा पुगेर जिल्ला प्रशासन कार्यालय जुम्लामा पुगेका थिए ।

    भौगोलिक रुपमा निकै कठिन र कच्ची सडकमा साइकल चलाउँदै जुम्ला पुगेका कुँइकेलले कर्णाली प्रवेश गर्दा साइकल यात्रा झनै रोमाञ्चक बनेको बताए । उनले भने, ‘जो सुकैले साइकलमा कर्णाली पुगेर प्राकृतिक रुपमा मनोरम दृश्यसंग रमाउन सक्ने देखिन्छ ।’

    उनको यात्रामा कर्णालीमा देखिएका डाँडाकाँडा, भीरपहराहरुले मनै शान्त बनाइदिन्छन् । सदावहार कलकल बग्ने कर्णाली नदीको सुशावटले त झनै मन चंगा बनाउने अनुभव गरेको कुँइकेलले बताए । कुँइकेलले २२ वटा जिल्लामा साइकलबाट पुगेको बताए ।

    नेपालमा पनि साइकल यात्रा सुरक्षित छ भन्ने सन्देश फैलाउन आफूले साइकल यात्रा प्रारम्भ गरेको उनको भनाइ छ ।

    ६० वर्ष पुग्नै लागेका कुँइकेल साइकलमै जुम्ला पुग्दा स्थानीयबासी भने छक्क परे । उनीहरुले साइकल, नेपाली झण्डा बोकेर आएको उनको स्वागत समेत गरे ।

    ुकर्णाली प्राकृतिक रुपमा सुन्दर छ । तर पछिल्लो समयमा मानवीय त्रुटिका कारण सौन्दर्यता कुरुप बन्दै गइरहेको देखेँ,ु कुँइकेलले भने, ‘आन्तरिक तथा बाह्य पर्यटकको केन्द्र बनाउन पनि साइकलमा कर्णाली प्रवेश गरेको हुँ ।’

    उनले साइकल यात्रासँगै स्वास्थ्य, शिक्षाजस्तो संवेदनशील क्षेत्रमा सरकारी नजर नपुगेको बिषयमा छलफल गरेको सुनाए । नागरिकलाई निस्शुल्क स्वास्थ्य सेवा दिनुपर्ने माग लिएर कुँइकेल हरेक जिल्लामा पुग्ने गरेका छन् । बिरामीले निशुल्क एम्बुलेन्स सेवा पाउनुपर्ने र हरेक नेपालीले निशुल्क स्वास्थ्य सेवा पाउनुपर्ने उनको भनाइ छ ।

    कर्णालीको डोल्पा हुँदै मुगुदेखि जुम्ला सदरमुकाम खलंगामा पुगेका कुँइकेलले भौगोलिक रुपमा विकट मानिएका क्षेत्रहरुले अहिलेसम्म सुलभ स्वास्थ्य सेवासमेत पाउन नसकेको अनुभव सुनाए ।

    प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेलाई भेटेर उनले साइकल यात्राको बारेमा जानकारी गराउँदै स्वास्थ्य क्षेत्रमा देखिएको समस्या निराकरणका लागि पहल गर्न आग्रह गरे ।

    अनाथ, असहाय, गरिब, हिंसापीडित महिला, बालबालिका, दलित तथा आकस्मिक विपद्का घटनामा परेकालाई तत्काल एम्बुलेन्स सेवा उपलब्ध गराउने अभियान लिएर देशभर साइकल यात्रामा निस्केको उनको भनाइ छ ।

    उनले हरेक जिल्लामा पुगेर जनप्रतिनिधि, प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई भेट्ने गरेका छन् । सबै जिल्लाका सदरमुकाम पुग्ने र जिल्लाका प्रबुद्ध व्यक्तिलाई भेटेर स्वास्थ्य समस्याबारे छलफल गरेको बताए । उनले प्रशासन कार्यालयबाट हरेक जिल्लामा पुगेको सिफारिस पत्र समेत बनाउन लगाएर लिने गरेका छन् । कान्तिपुरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस