२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

हेलम्बुको योजना : हेलम्बु-रसुवागढी सुरुङ मार्गदेखि विद्यार्थीको खातामा १ लाखसम्म (पूर्णपाठ)

  • २०८० अषाढ ११, सोमबार मा प्रकाशित १0 महिना अघि
  • असार ११, २०८०

    चौतारा । हेलम्बु गाउँपालिकाले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। गाउँपालिकाले शिक्षाको सुधारका साथै भौतिक पूर्वाधारको क्षेत्रमा पनि प्राथमिकता राखेको छ।

    विद्यार्थी भर्ना हुँदा विद्यार्थीको खातामा १ लाख रकम जम्मा गरिदिने कार्यक्रम अघि सारेको छ। विद्यालय पुरा नभई बीचमै पढाई छोड्ने विद्यार्थीहरुको संख्या वृद्धि हुँदै गएको समस्यालाई मध्यनजर गर्दै गाउँपालिकाले आगामी शैक्षिक शत्रदेखि प्रत्येक विद्यालयमा वाल विकास कक्षा पार गरी कक्षा १ मा भर्ना हुने प्रत्येक छात्राको खातामा १ लाख रुपैँया जम्मा गरिदिने व्यवस्था गर्न लागेको अध्यक्ष निमाग्याल्जेन शेर्पाले बताए।

    सो रकम स्नातक दोस्रो बर्षसम्म अध्ययन गरेमा निज छात्राले नै खर्च गर्न पाउने तर उक्त तहसम्म अध्ययन नगरेमा गाउँपालिकाले स्वतः फिर्ता लिने नीतिगत व्यवस्था गरेको छ।

    यस्तै, हेलम्बु–रसुवागढी सुरुङ मार्गलाई पनि अघि बढाउने भएको छ। गाउँपालिकाको गत आर्थिक वर्षको कार्यक्रममा समावेश रहेको काठमाण्डौ हेलम्बु रसुवागढी फाष्टट्रयाक मिलारेपा मार्ग (काठमाडौँ देखि हेलम्बु ५५ कि.मी र हेलम्बुदेखि रसुवा स्याप्रुवेशी १८ कि.मी टनेल मार्ग) मित्र राष्ट्र चिन जोड्ने उद्देश्य अनुरुप रसुवागढी हेलम्बु सुरुङ मार्ग हुँदै काठमाण्डौसंग जोड्ने छोटो र भरपर्दो फाष्टट्रयाक निमार्ण गर्ने कार्य अनुरुप तयार पारेको छ।

    यस मार्गलाई रसुवा, नुवाकोट र हेलम्बुलाई जोडी प्रदेश चक्रपथको रुपमा विकास गर्नको लागि संघीय सरकार र प्रदेश सरकार सँग विशेष पहल गरिने उल्लेख गरेको छ।

    पूर्णपाठ

    पृष्ठभूमि,
    सिन्धुपाल्चोक जिल्लाको उत्तर पश्चिम भेगमा अवस्थित यस हेलम्बु गाउँपालिका साविकको महाँकाल, इचोक, पाल्चोक, किउल र हेलम्बु गरि ५ वटा गा.वि.स. मिलाएर हेलम्बु गाउँपालिका गठन भएको हो । यस गाउँपालिकाको अधिकाशं भू–भाग पहाड र सुन्दर डाँडापाखाले भरिएको छ भने यस गाउँपालिकाको क्षेत्रफल २८७.२६ वर्ग कि.मी रहेको छ २०७८ को जनगणना अनुसार यस गाउँपालिकाको कुल जनसंख्या १७४९७ रहेको छ । यस गाउँपालिकाको पूर्वमा पाँचपोखरी थाङपाल गाउँपालिका पश्चिममा नुवाकोटको दुप्चेश्वर गाउँपालिका र रसुवा जिल्ला उत्तर पाँचपोखरी थाङपाल र रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका र दक्षिणमा मेलम्ची नगरपालिका रहेको छ । साथै यस गाउँपालिका समुन्द्र सतहबाट करिब ९०० मिटर उचाई देखि ५८०० मिटर सम्मको उच्च भू–भागमा पर्दछ । हेलम्बु गाउँपालिका सुन्दर शान्त रमणीय जुगल हिमालको सन्निकट आमा याङ्ग्रीको काखमा अवस्थित रहेको छ । माथिल्लो भू–भागमा ह्योल्मो, तामाङ गुरुङ लगायतका आदिवासी जनजाती र दलित समुदायहरुको बाहुल्यता रहेको र तल्लो बेसी भू–भागमा विशेष गरी खस, आर्य, र केहि दशनामी र दलित समुदायको बसोबास रहेको छ ।
    आमायाङ्ग्री, घोदिज्यो, मेलम्चीघ्याङ, तार्केघ्याङ, सेर्माथाङ, गुरु–रिन्पोन्छे, ककनी, कुटुमसाङ, गोल्फु भञ्ज्याङ, च्योमथली, घोप्टेघ्याङ (सेमेराङ्ग), थालागाङ, पाल्चोकी माई लगायतका महत्वपूर्ण स्थल, गुम्बा, माने, मन्दिर आदिको अवलोकन गर्दा त्यहाँ पुग्ने जो कोहिको मनै लोभ्याउने हुन्छ । यहाँका विभिन्न समुदायको अतिथि सत्कार, विशेष प्रकारको संस्कृति परम्परा आकर्षक प्राकृतिक सौन्दर्यता, स्वच्छ वातावरण र पर्यटकीय दृष्टिकोणले गर्दा यस क्षेत्र महत्वपूर्ण रही आएको छ ।
    १.१ बार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमाका लागि अपनाईएको पद्धति
    सात चरणको सहभागितामुलक गाउँपालिकाको योजना तर्जुमा पद्धति तथा लोकतान्त्रिक गणतन्त्रात्मक संघीयताको मर्म अनुरुप सार्वभौमसत्ता सम्पन्न नागरिकको शासन प्रक्रियामा आधिकारिक रुपमा सहभागिता गराई विकेन्द्रीकरणको माध्यमबाट आफ्नो विकास आफै गर्न आन्तरिक स्रोत साधनको पहिचान र परिचालन गरि प्रत्येक गाउँ, टोल, बस्ती, वडास्तरीय भेला गराई विभिन्न स्थानीय वासी, बुद्धिजीवी, राजनीतिक दलहरु, विभिन्न संघ संस्था लगायत सम्पूर्ण सरोकारवाला निकायहरुसँगको सल्लाह सुझावको आधारमा योजना तर्जुमा समिति, एकिकृत योजना तर्जुमा समिति हुँदै, समुदायकाको भावना र चाहना अनुरुप योजना तथा कार्यक्रमहरुलाई प्राथमिकिकरण गर्दै कार्यान्वयनका लागि गाउँपालिकाको योजना तथा कार्यक्रममा समावेश गरिएको छ ।
    स्थानीय वासीन्दाको प्रत्यक्ष संलग्नता र सहयोगमा स्थानीय सरकारका प्रतिनिधीहरुले आवश्यक योजना पहिचान, प्राथमिकिकरण, योजना तर्जुमा तथा कार्यान्वयन प्रक्रिया अगाडि बढाएका कारण योजना प्रति उपभोक्ताको अपनत्वको भावना विकास भई योजनाले दिगोपन समेत हाँसील गर्न सक्ने भएकोले यसै प्रक्रिया मार्फत नै सम्वृद्ध र देशकै नमुना गाउँपालिकाको रुपमा परिचित बनाउन सफल हुने छौ भन्ने आशा राखिएको छ । यसबाट हामी सबै हेलम्बु बासीहरुमा गौरान्वित भएको महशुस भएको छ । यस महान कार्यमा सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधी, कर्मचारी, बुद्धिजिवी, राजनैतिक दल लगायत सम्पूर्ण हेलम्बु बासीहरुलाई हृदय देखि धन्यवाद दिदैँ आगामी दिनहरुमा पनि यस्तै खालको साथ र सहयोगको अपेक्षा राखिएको छ ।
    १.२. आयोजना प्राथमिकिकरणका क्षेत्रहरुः
    नेपाल सरकारबाट स्थानीय सरकार सञ्चालन ऐन २०७४ बाट निर्देशित योजनाका प्राथमिकिकरणका आधार अनुरुप तयार गरि योजना तर्जुमा गरिएको छ ।
    • भौतिक पूर्वाधार क्षेत्र सुधार कार्यक्रम
    • पर्यटन प्रर्वद्धन तथा कला संस्कृतिक संरक्षण कार्यक्रम
    • गुणस्तरीय शिक्षा, शैक्षिक विकास तथा साक्षरता वृद्धि कार्यक्रम
    • गुणस्तरीय स्वास्थ्य सेवा कार्यक्रम
    • कृषि सडक तथा पर्यटन मार्गको स्तरोन्नती कार्यक्रम
    • स्थानीय स्तरमा आर्थिक विकासको लागि सिपमूलक तथा रोजगार प्रर्वद्धन कार्यक्रम
    • कृषि उत्पादकत्व र बजारीकरण बढाउने कार्यक्रम
    • स्थानीय स्रोत साधन तथा जनशक्ति परिचालन
    • सामाजिक, राजनैतिक तथा आर्थिक हिसाबले पिछडिएको दलित, जनजाती, महिलाहरुलाई आयमुलक तथा सिपमूलक कार्यक्रम
    • जलस्रोत, व्यापार व्यवसाय सुधार कार्यक्रम
    • गैह्र सरकारी संस्थासंग समन्वय साझेदारी
    खण्ड २
    आगामी आ.ब. २०८०/०८१ को नीति तथा कार्यक्रम
    २ सोचः “हेलम्बु गाउँपालिकाको अभियान, नमुना गाउँपालिकाको निर्माण”, भन्ने संकल्प राखिएको छ।
    २.१ लक्ष्यः
    यस हेलम्बु गाउँपालिकामा आगामी वर्षहरुमा भौतिक पूर्वाधार, कृषि, सडक, शिक्षा, स्वास्थ्य, रोजगार, को क्षेत्रलाई प्राथमिकतामा राखी यस गाउँपालिकाको शैक्षिक सुधार, पर्यटन प्रर्वद्धन, रोजगारी सिर्जना, स्वास्थ्य सुरक्षा र आयआर्जनमा वृद्धि गर्दै हेलम्बुलाई समृद्ध र समुन्नत बनाईने छ।
    २.२. उद्देश्यः
    • खाद्यन्नमा आत्मनिर्भर वनाउने।
    • मासु तथा दुधमा आत्मनिर्भर बनाई निकासी गर्ने।
    • शिक्षालाई गुणस्तरिय वनाउने।
    • सवै नागरिकलाई स्वास्थ्य सेवामा सरल पहुँच वनाउने।
    • हेलम्वु गाउँपालिका भित्रका मुल सडक तथा ग्रामिण सडकको स्तोरन्नती गर्दै लगिनेछ।
    • स्थानीय स्तरमा सिप मुलक तालिम प्रदान गरि आत्मनिर्भर वनाईनेछ।
    • पर्यटकीय स्थलहरुको रुपमा विकास गरिनेछ।
    • साहसिक खेल केन्द्र वनाईने छ।
    २.३ अपेक्षित उपलब्धीः
    यस हेलम्बु गाउँपालिकाको आ.व. २०८०/०८१ को बजेट तथा कार्यक्रमको जुन उद्देश्य राखि तयार गरिएको छ, त्यसलाई सार्वजनिक, सामुदायिक र निजी क्षेत्रको सहकार्यबाट हासिल गर्न अधिकतम पहल गरिएको छ ।
    २.४ वार्षिक बजेट कार्यक्रम तर्जुमा गर्दा अवलम्बन गरिएका प्रमुख आधारहरु
    • नेपालको मौजुदा संविधान
    • स्थानीय सरकार सञ्चालन ऐन
    • पन्ध्रौ आवधिक योजना
    • जनसंख्या र भौगोलिक वनावट
    • वस्ती स्तरबाट आएका मागहरु
    • वडा स्तरबाट माग भई आएका कार्यक्रमहरु
    • विषयगत समितिबाट सिफारिस भई आएका कार्यक्रमहरु
    • जनगणनाको तथ्याङ्क २०७८
    • विभिन्न क्षेत्रवाट प्राप्त सुझावहरु।
    २.५. बजेट तर्जुमाका आर्थिक आधारहरु
    • नेपाल सरकारबाट विनियोजित रकम
    • प्रदेश सरकारबाट प्राप्त हुने रकम
    • राजश्व बाँडफाडबाट प्राप्त हुने रकम
    • आन्तरिक स्रोत मार्फत संकलन हुने रकम
    • विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय दातृ संस्था गैर सरकारी संघ संस्थाबाट प्राप्त हुने सहयोग
    २.६ प्रमुख नीति तथा कार्यक्रमहरुः
    हेलम्बु गाँउपालिकाको गाउँसभामा आर्थिक बर्ष २०८०/०८१ को लक्ष्य, उद्देश्य, नीति एवं रणनीतिहरुलाई मध्यनजर गरि नीति तथा कार्यक्रम तयार गरिएको छ । योजनावद्ध विकास नै दिगो विकासको मुलभूत आधार भन्ने सैद्धान्तिक मान्यता अनुरुप आगामी आर्थिक बर्षका लागि गाँउपालिकाको प्रमुख नीति तथा कार्यक्रम प्रस्तुत गरिएको छ।
    १. हेलम्बु फ्लड ट्रेल निर्माण तथा संचालनः मिति २०७८ साल असार १, श्रावण साउन १६ र १७ गते हेलम्वुको मेलम्ची नदीमा आएको महाविनासकारी वाढीको कारण क्षति भएको स्थानहरुमा जलवायु परिवर्तन तथा विपद् सम्वन्धी अध्ययनको लागि हेलम्बु गाउँपालिकाको भ्रेमथाङ सम्म हेलम्वु फ्लड ट्रेल निर्माण तथा संचालन गरिने व्यवस्था मिलाईने छ।यसको लागी आवश्यक वजेटको व्यवस्था गरिनेछ।

    २. जलवायु परिवर्तनको असर न्यूनिकरण कार्यक्रमः यस हेलम्बु गाउँपालिका भित्र रहेको साना खोल्सा, मुख्य मुहान, प्राकृतिक रुपमा भएको पोखरीहरु पुरिँदै गएको हुनाले सम्पुर्ण खोल्सा र मुहानहरुलाई पून पूर्ववत रुपमा ल्याई जलवायु परिवर्तनको असर न्युनिकरण गर्नको लागि यस पालिका भित्र रहेका विभिन्न खोल्सा, नदि नाला र सम्भाव्य स्थानमा पोखरी निर्माण गर्नको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ।

    ३. जलवायु न्यायः जलवायु न्याय पृथ्वीमा रहेको अनेकन प्राकृतिक श्रोतहरुको प्रयोग विश्वका सबै राष्ट्रहरुले आ–आफ्नो क्षमता अनुसार गरिएको छ। श्रोतहरुको प्रयोगमा व्यक्ति, समुदाय र राष्ट्रको बिचमा ठूलो असमानता रहेको छ। शक्ति राष्ट्रहरुले गरेको श्रोतको अत्यधिक दोहनका कारण प्रदुषण तथा विभिन्न विनासहरु हुँदै आएको छ जसको असर विश्वव्यापी रहेको देखिन्छ। यसको मारमा परेको हाम्रो जस्तो सानो देश नेपालले विगतका केही समय देखि अनाहकमा मार खेपिरहनुपरेको छ। त्यसमा पनि जलवायु परिवर्तनको असरका कारण हेलम्बुले विभिन्न समस्याहरुको सामना गरिरहनु परेको छ। प्राकृतिक श्रोतको अत्याधिक प्रयोग र जलवायु परिवर्तन हुनुमा यहाँको भूमिका नगण्य रहेको छ। आफ्नो जिविकाको लागि प्राकृतिक श्रोतमा निर्भर रहने यहाँको मानिसहरु जलवायु प्रकोपबाट सबैभन्दा धेरै प्रभावित रहेको छ। त्यसैले त्यसको क्षतिपूर्ति स्वरूप बाह्य निकायबाट वित्तीय सहयोगको अपेक्षा पालिकाले गरेको छ। यस्ता जलवायु वित्तको रुपमा सहयोग लिन र त्यसलाई यस क्षेत्रको विकासमा खर्च गर्नको लागि जलवायु न्याय योजना आवश्यक रहेको छ। यस हेलम्बु गाउँपालिकाले जलवायु न्याय योजना तयार पारी बाह्य निकायहरुसँग सहयोग प्राप्तीको कदम अगाडी बढाउनेछ। जलवायु परिवर्तनको कारणले हिमालहरुमा हिँउ नभएको र त्यस क्षेत्रका चराचुरुङ्गि, जिव जन्तु र वनस्पति लोप हुदै गईरहेको अवस्थालाई मध्यनजर गर्दै जौविक विविधताको संरक्षण गर्न गत आर्थिक वर्ष देखि शुरुवात गरिएको हिमाली क्षेत्रमा हिउँ जमाउने कार्यकमको प्रतिवेदनका सुझावलाई कार्यन्वयन गर्ने व्यवस्था मिलाईनेछ।

    ४. जलवायु विपद अध्ययन केन्द्रः निरन्तर वढ्दो तापमान तथा जलवायु परिवर्तनको असरलाई मध्यनजर गर्दै यसै आर्थिक वर्षवाट जलवायु सम्वन्धी विपद अध्ययन केन्द्र निर्माण गर्न संघीय सरकार र प्रदेश सरकार सँगको आवश्यक समन्वय सहकार्य र सहयोग मार्फत अध्ययन केन्द्र निर्माण गरि संचालन गर्ने व्यवस्था मिलाईनेछ।

    ५. आन्तरीक पर्यटन प्रर्वद्धन कार्यक्रमः हेलम्वु गाउँपालिकाको धार्मिक, सास्कृतिक, प्राकृतिक सुन्दरताले भरिएको पर्यटकीय क्षेत्रहरुको अवलोकन, प्रचारप्रसार र आन्तरीक प्रर्यटन प्रर्वद्धनको लागि गाउँपालिका कार्यरत कर्मचारीहरुको अवलोकन कार्यक्रम संचालन गरिने छ।

    ६. कर्मचारी प्रोत्साहनः हेलम्बु गाउँपालिकामा कार्यरत कर्मचारीहरु मध्ये आफुलाई तोकिएको कामको जिम्मेवारी छिटो, छरिटो, गुणस्तरिय र तोकिएको समयमा सम्पन्न गर्ने तथा नागरिक मैत्री व्यवहारमा अव्वल भएको कर्तव्य पालन गर्ने कर्मचारीलाई कार्यदलको मूल्याकंनको आधारमा नगद तथा प्रोत्साहन रकम सहित गाउँ सभावाट पुरस्कृत गरिनेछ ।

    ७. वागवानी केन्द्रः हेलम्वु गाउँपालिका वडा नं २ शेर्माथाङमा रहेको वागवानी केन्द्र हाल संचालनमा रहेको छैन। सो स्थानलाई हिमाली जडीवुटी तथा फलफुल अध्ययन, अनुसन्धान केन्द्रको रुपमा विकास गर्नका लागि उपयुक्त रहेकोले उक्त केन्द्र पुनस्थापनाका लागि संघीय सरकार, प्रदेश सरकार र कृषि विकास मन्त्रालयमा अनुरोध गरिने छ।

    ८. विद्यालय कर्मचारी र वाललिकास शिक्षिकालाई थप भत्ताः हेलम्वु गाउँपालिकाले वालविकास शिक्षिकाको लागि दिदै आएको थप भत्तालाई निरन्तरता दिईनेछ। साथै आगामी आर्थिक वर्षवाट विद्यालय सहायक र विद्यालय कर्मचारीहरुलाई पनि नेपाल सरकारले तोकेको न्युनतम पारिश्रमिक भन्दा कम नहुने गरि पारिश्रमिक दिईने व्यवस्था मिलाईनेछ। यसको लागि अवश्यक वजेटको व्यवस्था गरिनेछ ।

    ९. हेलम्बुमा शैक्षिक विकासको लागि शुन्य ड्रप आउट (Drop Out) कार्यक्रम, भर्ना हुँदा विद्यार्थिको खातामा १ लाख रकम दिने व्यवस्था गरिनेछ । आगामी आ.व देखि गाउँपालिकामा एक शैक्षिक कोषको स्थापना गरिनेछ उक्त कोषमा हेलम्बु गाउँपालिका भित्र कार्यक्रम संचालन गर्न अनुमती लिएका संघसंस्थाहरुले कार्यक्रमको १० प्रतिशत रकम अनिवार्य साझेदारी गर्नुपर्ने निति अगाडि बढाइने छ । साथै यस गाउँपालिकामा विद्यालय पुरा नभर्इ विचमै पढार्इ छोड्ने (Drop out) हुने विद्यार्थिहरुको संख्या वृद्धि हुँदै गएको समस्यालार्इ मध्यनजर गर्दै गाउँपालिकाले आगामी शैक्षिक शत्रदेखि प्रत्येक विद्यालयमा वाल विकास कक्षा पार गरी कक्षा १ मा भर्ना हुने प्रत्येक छात्राको खातामा १ लाख रुपैँया जम्मा गरिदिने र सो रकम स्नातक दोस्रो बर्षसम्म अध्ययन गरेमा निज छात्राले नै खर्च गर्न पाउने तर उक्त तहसम्म अध्ययन नगरेमा गाउँपालिकाले स्वत फिर्तालिने नितिगत व्यवस्था गरि अगाडि बढाउने छ यसको लागि आवश्यक बजेटको व्यवस्था गरिने छ ।

    १०. संस्थागत विद्यालय: हेलम्बु गाउँपालिका भित्रको शिक्षालार्इ समान रुपले अगाडी बढाउने उद्देश्यका साथ गाउँपालिका भित्र रहेको संस्थागत विद्यालयका विद्यार्थिहरुलार्इ पनि दिवा खाजामा समावेश गराउनुका साथै विद्यालयलार्इ लाग्ने सम्पूर्ण खर्च गाउँपालिकले व्यहोर्ने र विद्यार्थिसँग कुनैपनि शुल्क लिन नमिल्न नीति अगाडी बढाइने छ ।

    ११. हेलम्बुमा जन्मेका प्रत्येक दलित छात्राले रु एक लाख पाउनेः हेलम्बु गाउँपालिका भित्र स्थायी बसोवास गर्ने दलित महिलावाट जन्मिएको दलित सन्तानले गाउँपालिका भित्रको सामुदायिक शैक्षिक संस्थाबाट माध्यमिक तह उर्तिण गरी स्नातक तहको दोस्रो वर्षमा अध्ययन गरिरहेको छात्राहरुलाई कार्यविधि वनाएर जनही रु एक लाख प्रदान गरीने व्यवस्था मिलाईनेछ।

    १२. खेलाडी प्रोत्साहन कार्यक्रमः स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने नारालाई आत्मसाथ गर्दै हेलम्बु गाउँपालिका भित्रका खेलाडीहरुलाई प्रोत्साहन गर्न खेलाडीहरु पहिचान गरि खेलाडीहरुलाई औषधि उपचार कोषमा जोडीने व्यवस्था मिलाईने छ। प्रत्येक खेलाडीहरुलाई पाँच लाख सम्मको औषधि उपचार खर्च गाउँपालिकाले व्यहोर्ने व्यवस्था मिलाईनेछ।
    १३. रैथाने वाली संरक्षणः जैविक विविधताको संरक्षणको लागि हेलम्बु गाउँपालिकाले विभिन्न किसिमका रैथाने वालीहरुको संरक्षणका गर्नका साथै कृषकहरुलाई उत्प्रेरित गरी विऊ वैंक स्थापना गर्ने कार्य यसै आर्थिक वर्षवाट संचालन गरिने व्यवस्था मिलाईनेछ।

    १४. एक वडा एक उत्पादनः हेलम्वु गाउँपालिका भौगोलिक तथा मौसमी विविधताले भरिपूर्ण रहेको छ। स्थानीय रुपमा वढी उत्पादन हुने कृषि उपज र उत्पादन गर्ने सकिने कृषि उत्पादनको संभावनाको आधारमा आगामी आर्थिक वर्षमा “एक वडा एक उत्पादन” कार्यक्रमलाई आगाडी वढाईने व्यवस्था मिलाईनेछ।

    १५. हेलम्बु गाउँपालिकाको अभियान, यूवा उद्यमी तथा दक्ष जनशक्ति निर्माणः हेलम्बु गाउँपालिकामा आफ्नो क्षेत्रभित्रको नागरिकहरुको जीवनस्तर माथि उकास्न तथा स्थानीय स्तरमानै रोजगारी सृजना गर्न यसै आर्थिक वर्षवाट गाउँपालिका भित्रको विभिन्न स्थानहरुमा सामुहिक अथवा व्यक्तिगत रुपमा यूवाहरुले गर्ने व्यवसाय जस्तैः बाख्रापालन, कृषि फर्म, माछापालन, दुधजन्य वस्तुको उत्पादन जस्ता विभिन्न व्यवसाय गर्ने युवाहरुलाई प्रोत्साहन गर्नको लागि गाउँपालिकाले व्यवसायिहरुलाई व्यवसायको प्रकृति हेरी सिपमुलक तालिम तथा अनुदानको व्यवस्था मिलाईनेछ। हेलम्बु गाउँपालिका भित्र रहेका सामुदायिक तथा आवासिय विद्यालयहरुमा अध्ययनरत छात्र छात्राहरुको लागि आवश्यक पर्ने जुत्ता उत्पादनका लागि लघु उद्यम कार्यक्रम मार्फत हेलम्वु गाउँपालिकाले आवश्यक कच्चा पर्दार्थ तथा तालिम संचालन गरी सुपथ मुल्यमा जुत्ता उपलव्ध गराईने व्यवस्था मिलाईनेछ।

    १६. औधोगिक ग्रामः पर्यटकीय क्षेत्र हेलम्बु घुम्न आउने पर्यटकहरुको लागि यस गाउँपालिकाको चिनारी दिने स्थानीय सामाग्रीहरुको उत्पादन तथा विक्री वितरणको लागि हेलम्बु गाउँपालिकामा औद्योगिक ग्राम निर्माण गरी कोसेली घरको स्थापना र संचालन गर्न आवश्यक व्यवस्था गरिनेछ।

    १७. मेलम्ची खोलाको वाढीवाट पूर्ण क्षति भएको जग्गामा भूमी कर छुटः मिति २०७८ साल असार १ र तत्पश्चात मेलम्ची खोलामा आएको वाढीका कारण हेलम्वु गाउँपालिकावासीको निजी खेतियोग्य जग्गा वगरमा परिणत भएको हुँदा उक्त क्षति भएको जग्गाहरुको कित्ता पहिचान गरी सो जग्गाको भूमि करमा सत प्रतिशत छुट दिईनेछ।

    १८. भूमि कर छुटः हेलम्वुवासीहरुले विगत देखि भूमि कर नतिरेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ को पौष मसान्त भित्र भूमि कर तिरेमा सोमा लाग्ने कर र हर्जना गरी जम्मा हुन आउने करमा ५०% छुट दिईनेछ।

    १९. विधुतमा सहुलियतः यस गाउँपालिकामा वसोवास गर्ने असाहय विपन्न एकल महिलाहरु (छोरा छोरी नभएका) ले मासिक रुपमा २५ यूनिट भन्दा कम विधुत खपत गरे वापतको शुल्क गाउँपालिकाले भुक्तानी गर्ने व्यवस्था मिलाईनेछ। साथै गाउँपालिका भित्र वसोवास गर्ने नागरिकले खपत गर्ने परिमाण बराबरको विधुत गाउँपालिकाले स्वंयले उत्पादन गर्ने गरी अध्ययन कार्य अगाडी वढाईनेछ।

    २०. एकिकृत सिकाई केन्द्रः हेलम्वु गाउँपालिकामा माध्यमिक तह सम्म अध्ययन पछि उच्च शिक्षा हासिल गर्न राजधानी लगायतका विभिन्न स्थानमा गएर अध्ययन गर्नु पर्ने वाध्यकारी अवस्थाको साथसाथै अध्ययनको लागि लाखौ खर्च हुने हुदाँ न्यून मध्यम वर्गिय परिवारले उच्च शिक्षा हासिल गर्न नसक्ने अवस्थालाई मध्यनजर गरी हरेक विद्यार्थिको शिक्षाको हकलाई सुनिश्चत गर्दै गत आर्थिक वर्षवाट गाउँपालिका भित्रका विभिन्न वडामा संचालन हुदै आईरहेका एकिकृत सिकाई केन्द्रमा विद्यार्थि संख्या वढ्दै गईरहेको अवस्थालार्इ मध्यनजर गर्नुका साथै समग्र शैक्षिक विकासको लागि शिक्षालाई गुणस्तरीय, प्रभावकारी र उपलव्धिमूलक वनाउने हेतुले विद्यार्थिको रुचि र चाहाना अनुरुपको संकायहरु सहितको दक्ष विषयगत शिक्षकहरु लगायतका एकिकृत सिकाई केन्द्रमा आवश्यक पर्ने अन्य थप पूर्वाधार र स्रोत साधनको व्यवस्था गरी गुणस्तरीय शिक्षामा जोड दिईनेछ। यसको लागि आवश्यक वजेटको व्यवस्था गरिनेछ।

    २१. अर्गानिक उत्पादन प्रर्वद्धन तथा Farmers Market: खाद्यन्न तथा तरकारी वालीमा प्राङ्गारिक मल प्रयोग गर्न प्रोत्साहन गर्दै हेलम्बु गाउँपालिकामा उत्पादन हुने खाद्यन्न, तरकारी तथा नगदेवाली जस्ता कृषि उत्पादनहरुमा रसायनिक मल र विषादीको प्रयोगमा कमी गदै अर्गानिक उत्पादनमा जोड दिई हेलम्बुलाई हिमालय आर्गानिक फारर्मर्स मार्केटको (Farmers Market) रुपमा आगाडी वढाईनेछ साथै गाउँपालिका भित्र स्थानीय कृषकहरुले आर्गानिक विधि द्धारा उत्पादन गरेका खाद्यन्न, तरकारी, फलफूल, लगायतका अन्य उत्पादनहरु विक्री वितरण गर्न उपयुक्त स्थानमा फारर्मस मार्केट (Farmers Market) संचालन गर्ने व्यवस्था मिलाईनेछ।

    २२. विद्यालयमा किचेन गार्डेन तथा दिवा खाजा कार्यक्रम : आगामि आर्थिक वर्षवाट हेलम्बु गाउँपालिकाका सम्पुर्ण विद्यालयहरुका किचेन गार्डेनको पूर्ण रुपमा सदुपयोग गरी विद्यालय परिसर भित्र हरिया तरकारीहरु उत्पादन गरी विद्यालयमा खुवाईने छ। दिवा खाजा कार्यक्रममा किचेन गार्डेनमा उत्पादन भएका ताजा तरकारी उपभोग गर्ने व्यावस्था मिलाईनेछ। साथै आवसीय विद्यालयहरुमा खपत हुने तरकारी आफै उत्पादन गरी उपभोग गर्ने र तरकारीमा आत्मनिर्भर वनाईनेछ। नेपाल सरकारद्धारा इ.सि.डी. देखि कक्षा ६ सम्मको विधार्थीलाइ खाजा कार्यक्रम रहेको र एउटै विद्यालयका विधार्थीहरुमा पनि कसैलाइ खाजा सुविधा रहेको र कसैलाइ नरहेको अवस्थाको मध्यनजर गर्दै सवैलाइ समान रुपमा खाजा सुविधा उपलब्ध गराउनको लागि कक्षा ७ देखि १२ सम्मका सम्पुर्ण विद्यार्थीहरुलाई हेलम्बु गाउँपालिकाबाट खाजा सुविधा उपलब्ध गराउँदै आएकोमा उक्त कार्यक्रममा आगामी आर्थिक वर्षमा विद्यालयका शिक्षकहरुलाई समेत समेटी खाजा कार्यक्रम संचालन गरिने छ।

    २३. धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणः स्थानीयवासीको पहिचानको संरक्षणका लागि हेलम्बु गाउँपालिका भित्र रहेका सम्पूर्ण गुम्वा, मठ मन्दिर जस्ता ऐतिहासिक तथा धार्मिक, संस्कृतिक सम्पदाको संरक्षण र संवर्द्धन गर्न आगामी आर्थिक वर्षवाट नै गुम्वा तथा मन्दिरका प्रति गुम्वा/मन्दिर पुजारीलाई नियमित पुजाआजा गरेवापत प्रति महिना रु १,०००/- र पुजा पाठ तथा व्यवस्थापन गर्नका लागि समिति गठन गरि समितिलाई एकमुष्ट वार्षिक रु १०,०००/- दरले उपलव्ध गराईने छ।साथै स्रोत साधनका कारण व्यवस्थापन गर्न कठिनाई भईरहेको मनि आमा समुह र खैजडी भजन किर्तन समुहलाई आवश्यक सहयोग गर्ने व्यवस्था मिलाईने छ।

    २४. ज्येष्ठ नागारिक दिवा विश्राम केन्द्र तथा अनुभव साटासाट केन्द्रः जेष्ठ नागरिक अनुभवका खानी र संस्कृति तथा ईतिहासका जिवित प्रमाणको रुपमा रहेकोले उहाँहरु सँग रहेको अनुभव साटासाट गर्ने स्थान र अवसरको अभावमा ज्ञान सिप हराएर जाने अवस्था आउन नदिन हेलम्बुवासी अशक्त, जेष्ठ नागरिकहरुलाई लक्षित गर्दै जेष्ठ नागरिक आमा बुवाहरुको सम्मानमा आराम गर्न तथा अनुभव साटासाटको लागि विभिन्न संघ संस्था तथा दातृ निकायको समन्वयमा यसै आर्थिक वर्षवाट कुनै एक स्थानवाट शुरुवात गरि सवै वडामा ज्येष्ठ नागरिक दिवा विश्राम केन्द्र तथा विगतको अनुभव साटासट केन्द्र प्रत्येक वडामा निर्माण गरी संचालनमा ल्याईने व्यवस्था मिलाईनेछ ।

    २५. विद्यार्थी छात्रवृति कार्यक्रमः हेलम्बु गाउँपालिकामा स्थायी वसोवास गरि स्वदेशमा नै एम.वि.वि.एस. अध्ययन गर्न चाहने विद्यार्थीहरुको मनोवल उच्च राख्न र पालिका भित्र वाट दक्ष चिकित्सक उत्पादन गर्ने कार्यमा सहयोग पुर्याउन तथा दलित छात्र छात्राहरुको हकमा सम्पुर्ण खर्च गाउँपालिकाले व्यहोर्ने छ। अन्य जातजातीहरुको हकमा जनहि वार्षिक रु दुई लाख छात्रवृति स्वरुप प्रदान गरिने छ। छात्रवृति प्राप्त गरेर अध्ययन गर्ने विद्यार्थिले कम्तिमा एक वर्ष पालिका भित्र अनिवार्य सेवा गर्नु पर्ने नीतिगत व्यवस्था यसै आर्थिक वर्षवाट मिलाईनेछ।

    २६. हेलम्बु-रसुवा गढी सुरुङ मार्गः गाउँपालिकाको गत आर्थिक वर्षको कार्यक्रममा समावेश रहेको काठमाण्डौ हेलम्बु रसुवागढी फाष्टट्रयाक मिलारेपा मार्ग (काठमाडौँ देखि हेलम्बु ५५ कि.मी र हेलम्बु देखि रसुवा स्याप्रुवेशी १८ कि.मी टनेल मार्ग) मित्र राष्ट्र चिनको One Belt One Road जोड्ने उद्देश्य अनुरुप रसुवागढी हेलम्बु सुरुङ मार्ग हुँदै काठमाण्डौसंग जोड्ने छोटो र भरपर्दो फाष्टट्रयाक निमार्ण गर्ने कार्य अनुरुप Feasibility Study Report हेलम्वु गाउँपालिकाले तयार गरेकोछ। यस मार्गलाई रसुवा, नुवाकोट र हेलम्बुलाई जोडी प्रदेश चक्रपथ (Ring Road) को रुपमा विकास गर्नको लागि संघीय सरकार र प्रदेश सरकार सँग विशेष पहल गरिनेछ।

    २७. हेलम्वु अस्पतालः यस गाउँपालिकामा निर्माणाधिन अवस्थामा रहेको १५ सैयाको अस्पतालको भौतिक संरचना निर्माण कार्य तिव्र गतिमा अगाडी वढीरहेको र आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिईएको छ। आँउदो आर्थिक वर्षमा उक्त अस्पतालवामा आवश्यक उपकरण सहितको दक्ष चिकित्सक र स्वास्थ्यकर्मीको व्यवस्था गरी आधुनिक र गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराईनेछ। साथै गाउँपालिकाको कुनै एक पायक पर्ने स्थानमा गाउँपालिका भित्रका गर्भवति महिलाहरुको सहजतालाई मध्य-नजर गर्दै एकिकृत वर्थिङ सेन्टर संचालन गरिने व्यवस्था मिलाईनेछ ।

    २८. दुग्ध उत्पादक किसानलाई प्रोत्साहनः दुग्ध उत्पादक कृषक प्रोत्साहन कार्यक्रम अन्तर्गत दुग्ध उत्पादकहरुलाई प्रोत्साहन गरी दुग्ध उत्पादनमा व्यापक वृद्धि गराई हेलम्वुवासीको आय आर्जनमा टेवा पुर्र्याउन यसै आर्थिक वर्षको तथ्याङ्कलाई आधार मानेर आगामी आर्थिक वर्षमा दुग्ध उत्पादन वृद्धि गर्ने दुग्ध उत्पादक किसानलाई प्रति लिटर रु ३ का दरले उत्पादनमा आधारित प्रोत्साहन अनुदान उपलव्ध गराईने व्यावस्था मिलाईनेछ।

    २९. एकल पुरुष तथा श्रीमान वेपत्ता महिलाहरुलाई सामाजिक सुरक्षा भत्ताः हेलम्बु गाउँपालिका भित्र स्थायी वसोवास गर्ने एकल पुरुषहरुको लागि यस गाउँपालिकाले कार्यविधि बनाई मासिक रुपमा भत्ता उपलब्ध गराँउदै आएकोमा उक्त कार्यक्रमलाई यस आगामी वर्षमा निरन्तरता दिँदै लगिने छ साथै आगामि आर्थिक वर्षवाट हेलम्वु गाउँपालिका भित्रका श्रीमान वेपत्ता भएका महिलाहरुलाई पनि कार्यविधि वनाएर सामाजिक सुरक्षा भत्ता उपलव्ध गराईने व्यवस्था मिलाईने छ।यसको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ।

    ३०. मेलम्ची नदी करिडोरः मिति २०७८ असार १ साउन १६ र १७ गते मेलम्ची नदीमा आएको विनाशकारी वाढीवाट प्रभावित भएको क्षेत्रको व्यवस्थापन गर्न हेलम्वु गाउँपालिकाको क्षेत्र भित्रको मेलम्ची नदीमा करिडोर निर्माण गर्ने र वाढी प्रभावित क्षेत्रको तथ्याङ्क संकलन तथा नाँप जाँच गरी संघीय सरकार, प्रदेश सरकारको समन्वयमा नदीको दुवै तर्फ करिडोर निर्माण लगायत विभिन्न स्थानमा पोखरी निर्माण गरि वातावरण संरक्षण र पर्यटन प्रर्वद्धन गर्ने तथा छिटो भन्दा छिटो पिडितहरुलाई राहत तथा मुआव्जा वितरण गर्ने व्यवस्था मिलाईनेछ।

    ३१. पर्यटन प्रर्वद्धनको लागि खेलकुदः हेलम्वु गाउँपालिका पर्यटकीय दृष्टिकोणले अथाह सम्भावना वोकेको क्षेत्र हो। यस क्षेत्रलाई धार्मिक, प्रकृतिक, संस्कृति हिसावले धनि मानिन्छ। आगामी आर्थिक वर्षमा पर्यटन प्रर्वद्धन गर्न गाउँपालिकाले वागमती प्रदेश स्तरीय अन्तर पालिका अध्यक्ष पुरुष तथा महिला भलिवल प्रतियोगीता संचालन गर्ने व्यवस्था मिलाउनेछ। यसको लागि आवश्यक वजेट व्यवस्था गरनेछ

    ३२. विपद सुरक्षा केन्द्रः हेलम्वु गाउँपालिका विपदको दृष्टिकोणले उच्च जोखिममा रहेको छ। यँहा वाढी, पहिरो, आगलागि, भुकम्प, जंगली जनावरको आक्रमण जस्ता विपद निरन्तर रुपमा हुँदै आईरहेको छ। सो विपदवाट प्रभावित नागरिकहरुको सुरक्षा र पुनः स्थापनाको लागि विपद सुरक्षा केन्द्र स्थापना गर्न गत आर्थिक वर्षको नीति तथा कार्यक्रममा विपद सुरक्षा केन्द्र निर्माणको लागि स्थान छनौट र डि.पि.आर को काम विशेष कारणवश हुन नसकेकोले यसै आर्थिक वर्ष भित्र डि.पि.आर तयार गरी निर्माण कार्य आगाडि वढाईनेछ।

    ३३. साहसीक खेल तालिम केन्द्रः धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिने हेलम्वु क्षेत्रमा घुम्न आउने पर्यटकहरुको वसाई अवधि लम्व्याउन तथा स्थानीय वासिहरुको आय-आर्जनमा वृद्धि गर्नका लागि यस पालिकाको उच्च क्षेत्रमा माउण्टेनरिङ, रक क्लाईम्विङ र स्की तालिम केन्द्रको रुपमा विकास गर्न आवश्यक पहल गरिनेछ।

    ३४. सहकारीः गाउँपालिका क्षेत्रभित्र संचालन भईरहेको सहकारी संस्थाहरुको तथ्याङ्क, आँकडा तथा सूचनाहरुको विधुतीय माध्यमवाट प्रशोधन तथा अभिलेखीकरण गरी जोखिमका आधारमा समस्याग्रस्त सहकारी संस्थाहरु पहिचान गर्न प्रयोगमा ल्याईएको COPOMIS (Cooperative and Poverty Alleviation Management Information System) सम्वन्धी तालीम प्रदान गरिनेछ साथै एक गाउँ एक सहकारीको अवधारणालाई अगाडी वढाईनेछ।

    ३५. एक घर एक धाराः हेलम्वुका सम्पुर्ण नागरिकहरुलाई सफा, स्वच्छ, सुलभ र सुरक्षित खानेपानि उपलव्ध गराउनु स्थानीय सरकारको दायित्व हो। यस गाउँपालिकामा एक घर एक धारा कार्यक्रम मार्फत विभिन्न वडाहरुमा कार्यक्रम संचालन भई सकेको र आगामी आर्थिक वर्षहरुमा वाँकी रहेको घरपरिवारलाई एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिई अगाडि वढाईनेछ।

    ३६. सु-शासनः हेलम्वु गाँउपालिकावाट प्रवाह गरिने सेवालाई चुस्त, दुरुस्त, छिटो छिरीतो, प्रभावकारी, गुणस्तरीय ,प्रविधिक मैत्री तथा सेवा-ग्राही मैत्री वनाउन गाउँपालिका र वडा कार्यालयमा आवश्यक पर्ने स्रोत साधनको व्यवस्था गरी जनप्रतिनिधि, कर्मचारी र सरोकारलाई समयानुकुल तालिम प्रदान गरिने व्यवस्था मिलाईनेछ।

    ३७. चिया रोपण कार्यक्रमः हेलम्वु गाउँपालिकाका ग्रामिण सडकहरुको दाँया वाँया तथा सरकारी भवन र सामुदायिक विद्यालयहरुमा रहेका खालि जग्गाहरुमा चिया रोपण गरी ग्रामिण सडकहरुलाई हरित सडक (Green Road) को रुपमा विकास गर्ने र उक्त चिया रोपणवाट ग्रामिण सडक एवंम सरकारी तथा सार्वजनिक विद्यालयको सुन्दरता वढ्नुको साथै भू-क्षय समेत न्युनिकण हुने भएकोले चिया रोपण कार्यक्रम आगामी आर्थिम वर्षवाट थालनी गर्ने व्यवस्था मिलाईनेछ।

    ३८. गाउँपालिकाको प्रशासनिक भवनः यस गाउँपालिकामा प्रशासनिक भवन निर्माण गर्नको लागि मेलम्ची खानेपानी मार्फत रु एक करोड वजेटको व्यवस्था भई सकेको छ । आगामी आर्थिक वर्षमा प्रशासकीय भवन निर्माण प्रक्रिया वोलपत्र मार्फत अगाडी वढाईनेछ । साथै निर्माण गर्न वाँकी रहेको वडा कार्यालयको भवनहरु निर्माण गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाईने छ।

    ३९. खेर गएको पानी खेतवारीमा लगानी: खेतियोग्य जमिनमा सिँचाईको अभावले गर्दा बेमौसमी तरकारीका उत्पादन गर्न नसकिरहेको वर्तामान अवस्थामा यस पालिका भित्र जिर्ण अवस्थामा रहेका सिँचाई कुलाहरु मर्मत गर्ने साना तथा मझौला कुला निर्माण गरी सिँचाई सुविधा उपलब्ध गराई वाह्रै महिना मौसमी तथा वेमौसमी तरकारी उत्पादन र उपभोग गर्ने व्यवस्था मिलाईनेछ।

    ४०. पुल पुलेसाः मिति २०७८/३/०१ साउन १६ र १७ गते मेलम्ची नदीमा आएको विनाशकारी वाढीवाट क्षतिग्रस्त भएको पक्की तथा झोलुङ्गे पुल मध्ये हेलम्वु गाउँपालिका वडा नं १ को नाकोते झोलुङ्गे पुल र तिम्वु झोलुङ्गे पुल गत आर्थिक वर्षमा समावेश भई टेण्डर प्रक्रिया अगाडी वढी रहेकोछ।यस आर्थिक वर्षमा सर्कथली खोलाको पुल समेत कार्यक्रममा समावेश गर्न सफल भएको हुँदा यि पुलहरु छिटो भन्दा छिटो निर्माण सम्पन्न गर्न तर्फ सम्वन्धित निकाय सँग समन्वय गरिनेछ।यसै आर्थिक वर्षमा हेलम्वु गाउँपालिका वडा नं १ मा मेलम्चीदेखी नेदिङ, तिम्वु हल्दे र वडा नं ४ को सेरा कुण्डेले, ग्याल्थुम तोरीस्वारा झोलङ्गे पुल र अन्य आवश्यक स्थानमा पनि झोलुङ्गेपुल निर्माण गर्न सम्वन्धित निकायमा माग गरिनेछ।

    ४१. सडकः मेलम्ची हेलम्वु सडक अन्तर्गत मेलम्ची पुल देखि मेलम्ची घ्याङ सम्म वहुवर्षीय ठेक्काका लागि सम्वन्धित निकाय संग छलफल गरी निर्माण प्रक्रिया शिघ्र रुपमा अगाडी वढाउने व्यवस्था मिलाईनेछ।

    ४२. बैकल्पिक सडकः हेलम्वु गाउँपालिका देखि काठमाडौ सम्म आवतजावत गर्न बैकल्पिक मार्गको रुपमा काठमाडौको सुन्दरीजल देखि हेलम्वुको घोप्टेघ्याङ सम्मको सडक गत आर्थिक वर्षमा ठेक्का प्रक्रियावाट निर्माण कार्य भइहेको छ र आगामी आर्थिक वर्षमा वाँकी रहेको खण्डको लागि निर्माण कार्य सम्पन्न गर्ने गरी व्यवस्था मिलाईने छ।

    ४३. विद्यालय स्तरमै विपद शिक्षाः विपदको दृष्टिकोणले जोखिम पूर्ण यस पालिकामा अध्ययनरत वालवालिकाहरुलाई विपदवाट जोगाउनको लागी विपद सम्वन्धी सही सुचना र यसवाट जोगिने उपायहरुको वारेमा कक्षा ६ देखि माथिका सवै वालवालिकाहरुलाई विपद सम्वन्धि जनचेतना कार्यक्रम संचालनको व्यवस्था मिलाईनेछ।

    ४४. आय आर्जनको लागी होम स्टेः पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना वोकेको यस हेलम्वु गाउँपालिकामा प्रसस्त गुम्वा तथा मन्दिर रहेका छन। ह्योल्मो जातीको धर्म, संस्कृति, हिम श्रृङखलाहरुको, प्रकृतिक सौन्दर्यता अवलोकन गर्नका लागि हजारौ पर्यटकहरु आउने गरेका छन। पर्यटकहरुलाई खाना तथा वसोवासको लागि उचित व्यवस्था गर्न समुदाय स्तरमा नै होम स्टेको तालिम संचालन गरि होम स्टे संचालनमा ल्याईनेछ।

    ४५. हेलम्बुमा स्वास्थ्य उपचार कोष स्थापना, नागरिकको उपचार, साथमा स्थानीय सरकार : हेलम्बुबासी नागरिकको स्वास्थ्य उपचारमा टेवा पुर्याउनु गाउँपालिकाको प्रमुख दायित्व हो।हेलम्वु सरकार आफ्ना नागरिकको स्वास्थ्य प्रति जिम्मेवार हुदै गत अर्थिक वर्ष देखि दिर्घरोगीलाई निःशुल्क औषधि वितरण, निःशुल्क एम्वुलेन्स सेवा, सुत्केरीलाई घर घरमै स्वास्थ्य उपचार तथा पोषण कार्यक्रम संचालन गर्दै आईरहेकोछ। हाल हेलम्बु गाउँपालिकामा कुनै जटिल रोग लागेमा आफ्नो सम्पूर्ण सम्पत्ती उपचारमा लगाउँदा समेत उपचार हुन नसक्ने अवस्थालाई मध्यनजर गरी प्रत्येक नागरिकको स्वास्थ्यको उपचार साथमा स्थानीय सरकार कार्यक्रम सञ्चालन गरी गाउँपालिका भित्र बस्ने सम्पूर्ण नागरिकको न्यूनतम लागत सहभागीतामा एक कोष खडा गरिनेछ। उक्त कोषवाट हेलम्वुवासीको सम्पुर्ण उपचार गाउँपालिकाले निशुल्क गर्ने ब्यबस्था मिलाउन आवश्यक संयन्त्र सहित नीतिगत ब्यबस्था गरी आगामी आर्थिक वर्षदेखि कार्यक्रम कार्यन्वयन गर्नको लागि २ करोड बजेट व्यवस्था गरिनेछ।

    ४६. पूर्ण अपाङ्ग व्यक्तिहरुको लागि पूर्नस्थापना सेवा केन्द्रः यस गाउँपालिका भित्र दिर्घरोग (प्यारालाईसिस) भई घरमै रहेका विरामीहरुको लागि विभिन्न संघ संस्थाहरु सँग समन्वय गरि यसै आर्थिक वर्षमा एक स्याहार केन्द्रको स्थापना गरिनेछ। उक्त स्याहार केन्द्र स्थापना नभएसम्मको लागि घरमै प्यारालाईसिस भई बसेको विरामीको रेखदेख गर्ने परिवारको एक सदस्यलाई मासिक रुपमा रु २००० उपलब्ध गराइने छ । स्याहार केन्द्रमा परिवारको कोहि सदस्य नभई एकल बसोवास गरिरहेको बृद्ध, अशक्त अवस्थाका नागरिकहरु रहनेछन् र सो स्याहार केन्द्रमा स्वास्थ्य र खानाको प्रवन्धको व्यवस्था गरिनेछ। गाउँपालिका भित्र पूर्ण रुपमा अपाङ्ग भएका विद्यार्थीहरुको लागि ह्वीलचियर र वैशाखी वितरण गरिनुका साथै प्रत्येक विद्यालय, सरकारी कार्यालय लगायतका कार्यालयहरु अपांग मैत्री बनाईने छ। यसको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ।

    ४७. नागरिकको स्वास्थ्य उपचार, घर घरमा डाक्टरः यस हेलम्बु गाउँपालिका भित्र वसोवास गर्ने महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै गत आर्थिक वर्षमा संचालन गरिएको पाठेघरको मुखको क्यान्सर जाँच तथा आङ खस्ने समस्या सम्वन्धी शिविरवाट ५८० जना महिलाहरुले लाभ प्राप्त गरेका छन ।उक्त कार्यक्रमको प्रभावकारीतालाई हेरी यस आर्थिक वर्षमा समेत उक्त शिविरलाई निरन्तरता दिईने छ। साथै एक जना डाक्टर तथा आवश्यक स्वास्थ्य कर्मीको व्यवस्था गरी गाउँपालिका भित्रका प्रत्येक वस्तीमा गएर दिर्घरोगी, बालबालिका, जेष्ठनागरिक अशक्त लगायत गाउँपालिका भित्रका सम्पुर्ण विद्यालयमा अध्ययनरत विद्यार्थिहरुको समेत निशुल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था मिलाईनेछ।

    ४८. मानवको सर्वपक्षिय विकासको लागि सुनौलो १००० दिनको सुत्केरी आमा विशेष कार्यक्रमः बालबालिकाको बौद्विक विकास गर्भमा रहँदा ३० प्रतिशत, जन्मेको १ वर्ष भित्र थप २५ प्रतिशत र २ वर्षमा थप २५ प्रतिशत गरि २ वर्ष भित्रमा ८० प्रतिशत बौद्विक विकास हुने र यसरी वालवालिका ५ वर्षको हुँदासम्म ९० प्रतिशत बौद्विक विकास भइसक्ने भएको हुनाले सो अवधिलाई गाउँपालिकाले गर्भमा हुँदा आमा र जन्मे पश्चात बच्चालाई कम्तीमा २ वर्ष सम्म आफ्नो निगरानीमा राखी बौद्धिक विकासको लागि आवश्यक व्यवस्था मिलाउने तर्फ विशेष पहल गरिने छ।यसको लागि गाउँपालिका भित्र रहेका प्रत्येक गर्भवती आमाहरुलाई गर्भवती भएको ३ महिनादेखि सुत्केरी भए पश्चात ४५ दिन सम्मको लागि आवश्यक पर्ने क्याल्सियम गाउँपालिकाले निशुल्क उपलब्ध गराउदै आएको र १००० दिनको आमाहरुको लागि दिनको एउटा अण्डा उपलब्ध गराउदै आएको कार्यक्रमलाई आगामी आर्थिक वर्षमा निरन्तरता दिईनेछ।

    ४९. एसिया वनस्पति तथा बन्यजन्तु अध्ययन केन्द्रः हेलम्बु गाउँपालिका जैविक विविधताको हिसाबले अत्याधिक धनि पालिका हो र यहाँ जैविक विविधताको क्षेत्रमा अनेकन सम्भावनाहरु रहेको छ। यहाँको जैविक विविधताको अध्ययन, संरक्षण र प्रर्वद्धनका लागि एसिया बनस्पति तथा बन्यजन्तु अध्ययन केन्द्रको स्थापनाको अध्ययन तथा स्थान छनौट लगायतका कार्यको सुरुवात गरिनेछ। देश विदेशबाट यहाँको वन, वनस्पति, वन्यजन्तु, खोला र हिमालको अध्ययन गर्नको लागि आउने शोधकर्ता तथा विद्यार्थीहरुलाई प्रोत्साहन गरिनेछ। यहाँ अध्ययन भएका खोज तथा अनुसन्धानहरुलाई गाउँपालिकाले सम्पत्तिको रुपमा हिफाजत गरी त्यसको विश्वबजारमा प्रर्वद्धन गरीनेछ। यसबाट हेलम्बुको पर्यटन प्रर्वद्धनका टेवा पुग्ने र यस भेगका आर्थिक स्थितीमा समेत सुधार हुने अपेक्षा गरिएको छ।गत आर्थिक वर्षमा विशेष कारणवस कार्यन्वयन हुन नसकेकोले आगामि आर्थिक वर्षवाट नै संघीय सरकार र प्रदेश सरकारलाई एसिया वनस्पति तथा बन्यजन्तु अध्ययन केन्द्र निर्माण गर्न अनुरोध गरिनेछ।

    ५०. अध्यात्मिक आनन्दको लागि अध्यात्म चिन्तन केन्द्र/ध्यान केन्द्र: यस हेलम्बु गाउँपालिका बौद्ध धर्माबलम्वी क्षेत्रको रुपमा निकै महत्वपूर्ण मानिन्छ। हेलम्बु गाउँपालिका भित्र रहेका विभिन्न स्थान पर्यटनको हिसावले पर्यटकीय गन्तव्यको रुपमा चिनिने भएको हुँदा यस ठाउँमा गाउँपालिका लगायत विभिन्न देशहरुबाट विभिन्न व्यक्तिहरु ध्यान गरी वस्नको लागि आउने भएकोले यहाँका शान्त र रमणिय स्थानहरुमा ध्यान केन्द्रहरु स्थापना गरी सो स्थानहरुमा सम्पूर्ण आवश्यक भौतिक पूर्वाधारको विकासका लागि आवश्यक बजेटको व्यवस्था गरिदैँ लगिनेछ।

    ५१. अध्यक्षसँग बालवालिका कार्यक्रमः यस हेलम्बु गाउँपालिका भित्र रहेको सम्पूर्ण विद्यालयहरुमा अध्ययनरत रहेका विद्यार्थिहरुसँग उनीहरुको समस्याहरुको बारेमा बुझ्ने छलफल गर्ने र शैक्षिक सुधारको लागि विशेष कार्यक्रम तर्जुमा गर्ने उद्देश्यले अध्यक्षसँग वालवालिका कार्यक्रम सन्चालनमा ल्याईनेछ।

    ५२. विद्यालय मर्ज कार्यक्रमः यस गाउँपालिकाभित्र रहेको सामुदायीक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको लागि पाएक पर्ने विद्यालयहरुलाई सुरक्षित स्थानको खोजी गरि आवश्यक पुर्वधारहरुको निर्माण गरेर नजिक नजिकका विद्यालयहरुलाई मर्ज गदै एकिकृत रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने व्यवस्था मिलाईनेछ।

    ५३. Helambu People Mover: हेलम्बु गाउँपालिकामा यातायात सहजता र पर्यटन प्रवर्द्धनको लागि Helambu People Mover को प्रस्ताव गरि सम्भाव्यातता अध्ययनको कार्य सुरु गरिनेछ। यस Helambu People Mover सानो र हलुका किसिमको विद्युतबाट संचालन हुने रेल जस्तै हुनेछ जसको लागि फलामको छुट्टै ट्रयाक निर्माण गरिनेछ । हेलम्बु गाउँपालिकाले निर्माण गरेको गाउँपालिका स्तरीय चक्रपथ आसपास क्षेत्रमा निर्माण हुने गरि यस Helambu People Mover को प्रस्ताव गरिएको हो। यस Helambu People Mover बाट यात्रा गर्दा हेलम्बु वरिपरीका हिमाल तथा अन्य सुन्दर दृश्य अवलोकन गर्न सकिनेछ। यस Helambu People Mover को निर्माण भएमा भविष्यमा हेलम्बु गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा ठूलो फड्को मार्ने अपेक्षा राखिएकोछ। यसको अध्ययनको लागि आवश्यक वजेटको व्यवस्था गरेको छु।

    ५४. घरमै सुत्केरी आमाहरुको जाँच: हेलम्बु गाउँपालिकाको भौगोलिक परिस्थिती र सुत्केरी आमाहरु स्वास्थ्य संस्था सम्म जाँचका लागि जान असहज परिस्थिती लाई मध्यनजर गर्दै सुत्केरी पश्चात गरिने ३ दिन र ७ दिनको सुत्केरी जाँचका लागि स्वास्थ्य संस्थासम्म जँचाउन आउनुपर्ने कार्यलाई वन्द गरी उक्त जाँचको लागि स्वास्थ्यकर्मी नै प्रत्येक सुत्केरीको घरमा पुगी सेवा दिने व्यवस्था मिलाईएकोमा उक्त कार्यले स्वास्थ्य सुधारमा उल्लेख्य उपलब्धी देखिएको हुँदा सो कार्यलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिईनेछ।

    ५५. दिर्घरोगीको साथमा हेलम्बु गाउँपालिकाः विगतका वर्षदेखि दिर्घरोगीहरुलाई निशुल्क रुपमा उनीहरुले सेवन गरिरहेको औषधी उपलब्ध गराईएकोमा यस कार्यबाट दिर्घरोगीहरुलाई ठुलो राहत भएको महशुस भएको छ। उक्त कार्यक्रमको प्रभावकारीतालाई महसुस गरी निरन्तरता दिईनेछ। यसको लागि आवश्यक बजेटको व्यवस्था गरिनेछ।

    ५६. निःशुल्क एम्बुलेन्स सेवा तथा थप प्रसुती पोषण खर्च: मातृ तथा नवजात शिशु स्वास्थ्य सुधारका लागि नेपाल सरकारले स्वास्थ्य संस्थामा सुत्केरी हुँदा महिलाहरुलाई दिँदै आएको यातायात खर्च रु.३०००।–मा गाउँपालिकाको तर्फबाट प्रोत्सहान स्वरुप रु.३०००।– थप गरी एक मुष्ठ रु. ६०००/- प्रसुती पोषण खर्च प्रदान गर्ने कार्यलाई यस आ.व.मा पनि निरन्तरता दिँदै लगिने छ साथै हेलम्बु गाउँपालिका भित्रका विरामीहरुलाई निशुल्क एम्वुलेन्स सेवा उपलब्ध गराउँदै आएकोमा आगामि वर्षमा समेत उक्त कार्यक्रमलाई निरन्तरता दिँदै लगिनेछ।

    ५७. हेलम्बु नमूना विद्यालय: गाउँपालिका क्षेत्रभित्रको शिक्षाको गुणस्तर सुधार गर्ने अभियानलाई सफल बनाउनको लागि उपयुक्त विश्वविद्यालय र यस हेलम्बु नमूना विद्यालय सँग साझेदारीमा विद्यालय सुधार कार्यक्रम सञ्चालन गर्नको लागि इच्छुक फाउण्डेशन र संघसंस्थाहरु सँग समन्वय गरी यसको शैक्षिक व्यवस्थापन (Academic Management) कार्यलाई व्यवस्थित बनाई आवासीय सुविधा सहितको गुणस्तरीय शिक्षा प्रदान गर्नको लागी गत वर्षवाट शिक्षक र विद्यार्थीहरुको लागि निःशुल्क आवासीय व्यवस्था मिलाईदै आईरहेको छ। साथै यसै शैक्षिक सत्र वाट प्राविधिक संकाय पनि अध्ययन हुदै आईरहेको छ।आगामी आर्थिक वर्षमा विद्यालयलाई आवश्यक पर्ने थप भौतिक पूर्वधार र विद्यालय वसको व्यवस्था गरी पठनपाठन कार्यलाई थप व्यवस्थित वनाईदै लगिने छ।

    ५८. सम्वोटालिपी र संस्कृतलीपी संरक्षण तथा प्रर्वद्धनः हेलम्बु गाउँपालिका भित्र रहेका विद्यालयहरुमा विगतका वर्षदेखि विद्यालयहरुमा पठनपाठन सुरुवात गरिएको सम्बोटालिपी र संस्कृतलीपी को अध्यापन कार्यक्रम सञ्चालन भइरहेकोमा यस आर्थिक वर्ष मा पनि उक्त कार्यलाई निरन्तरता दिँदै माध्यमिक तह सम्म संचालन भएको विद्यालयहरुमा समेत अध्यापनको व्यवस्था मिलाईनेछ।

    ५९. शिक्षक तथा कर्मचारी सुरक्षा कोष/ कल्याणकारी कोष/अस्थायी अवकाश कोषः गत आर्थिक वर्षमा सञ्चालनमा ल्याईएको शिक्षक तथा कर्मचारी सुरक्षा कोष/ कल्याणकारी कोष/अस्थायी अवकाश कोष शिक्षकहरुको लागि मात्र गरिदैँ आएकोमा यस आ.व देखि गाउँपालिका भित्र रहेको सम्पूर्ण अस्थायी तथा करारका कर्मचारीहरुको लागि समेत उक्त कार्यक्रम विस्तार गरिनेछ। साथै विद्यालय सहयोगीहरुको लागि थप भत्ता तथा पोशाक भत्ताको व्यवस्था, लेखापाल र प्रधानाध्यापकहरुलाई थप भत्ता वापतको रकम उपलब्ध गराउँदै आएकोमा आगामी वर्ष पनि उक्त कार्यक्रमलाई निरन्तरता दिईनेछ ।

    ६०. हेलम्बु ग्रेट ट्रेलः (षडाक्षरी धर्मचक्र पर्खाल) हेलम्बु गाउँपालिकामा निर्माणाधीन रहेको हेलम्बु ग्रेट ट्रेल (षडाक्षरी धर्मचक्र पर्खाल) हाल लगभग ५ किलोमिटर निर्माण भईसकेको र छिटो निर्माण कार्य सम्पन्न गर्नको लागि संघ, प्रदेश र हेलम्वु गाउँपालिकाको संयुक्त लगानीमा निर्माण कार्यलाई निरन्तरता दिँदै लगिने छ र यस ग्रेट ट्रेल सम्पन्न गर्न सकेमा हेलम्बु लगायत देशकै पर्यटन प्रवर्दन क्षेत्रमा समेत ठुलो टेवा पुग्ने अपेक्षा राखिएको छ।

    ६१. High Altitude Training Centre: विश्वमा High Altitude Training Centre करिव २७०० मिटरको हाराहारीमा अवस्थित रहेको पाईएको छ तर हेलम्वु गाउँपालिकामा ३००० देखि ३५०० मिटर सम्मको भूभागमा संचालन गर्न सक्ने सम्भावना रहेको हुँदा विश्वको उष्ण राष्ट्रहरुका खेलाडीहरुलाई नेपालको राजधानीवाट नजिक रहेको यस तालिम केन्द्रमा ल्याई यहाँको चिसो वातावरणमा प्रशिक्षण लिन प्रोत्सहान गर्न र सो कार्यवाट हेलम्बु गाउँपालिकाको पयर्टन प्रर्वद्धन तथा स्थानीय स्तरमा नै रोजगारी सृजना गरी स्थानीय वासिन्दाको आय आर्जनमा समेत उल्लेखिनीय वृद्धि ल्याउनको लागि यहाँको उच्च हिमीली क्षेत्रमा High Altitude Training Centre संचालनको लागि आवश्यक पहल गरिनेछ ।

    ६२. ङयाङ्ला आनि आस्याङ कृषि सडकः – हेलम्बु गाउँपालिकाको विभिन्न वस्तीहरु (पाल्चोक-ढोडेनी-चित्रे-चिउरिखर्क-नुर्वुगाउँ-तिम्बु-आम्राङ-रिवर्मा-तार्तुङ-ठूलोढुंगा-ढुङडिङ-इचोक-ढापचुङ-सुरसिङ-पातिङ-थलडाँडा-बोल्दे-खरवुजे-छाँजो-मानेडाँडा-उर्लेनी-डिकल्लेरी) गाउँपालिका को खेतियोग्य भूभाग र वस्तीहरुलाई जोडिने कार्य सम्पन्न भएको छ। साथै उक्त सडकलाई वार्षै भरी यातायत संचालनको लागि आगामी आर्थिक वर्षवाट सडक स्तरोन्नती गर्न आवश्यक वजेट व्यवस्था गरिनेछ।

    ६३. हेलम्बु पकेट क्षेत्रः हेलम्बु गाउँपालिका भित्रका कृषियोग्य जमिनहरु मध्ये उपयुक्त स्थान छनौट गरी विभिन्न स्थानहरुमा चिया, आलु जस्ता बालीहरुको पकेट क्षेत्र घोषणा गरी त्यस भेगमा आगामी आ.व भित्र १२ लाख बराबरको विरुवा रोप्ने कार्यक्रमको सुरुवात गरिनेछ।आगामी वर्ष विभिन्न विरुवा उत्पादन गर्नको लागि उपयुक्त स्थान छनौट गरी नर्सरी स्थापना गरिनेछ। यसको लागि विभिन्न सरकारी तथा गैर सरकारी संघसंस्थाहरु सँग आवश्यक समन्वय गरिनेछ ।

    ६४. रासायनिक मल ढुवानीमा अनुदानः यस गाउँपालिकाले कृषकहरुको लागि रासायनिक मलमा अनुदान दिई कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ्ग कै मूल्यमा रासायनिक मल उपलब्ध गराउदैँ आएकोमा यसबाट किसानहरुलाई मल नपाउने समस्याको अन्त्य र प्रत्येक घरमा मलको अनुदान पुग्ने वातावरण भएको र यसबाट किसानहरुलाई कृषि उत्पादन तर्फ लाभान्वित भएको हुनाले उक्त कार्यक्रमलाई निरन्तरता दिईनेछ।

    ६५. संचार मैत्री कार्यक्रमः यस हेलम्बु गाउँपालिकालाई पूर्ण रुपमा संचार मैत्री बनाउँदै यस गाउँपालिकाले संचालन गरेको हरेक गतिविधि जस्तै भौतिक विकास, शैक्षिक विकास, बातावरणीय प्रभाव धार्मिक तथा सांस्कृतिक सम्पदा संरक्षण लगायतका विभिन्न क्रियाकलापहरुको संस्थागत प्रचार प्रसार तथा अभिलेखिकरणको लागि पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाईन संचार केन्द्र सामाजिक सञ्जालहरुसँगको समन्वयमा गरी पर्यटन प्रवर्दनको लागि व्यापक प्रचार प्रसार गरिनेछ।

    ६६. क्रिश्चियन समुदायः यस हेलम्बु गाउँपालिका भित्र रहेको क्रिश्चियन समुदायहरुको लागि दाह संस्कार गर्न वडा कार्यालयको समन्वयमा हरेक वडाको कुनै एक निश्चित स्थानमा दाह संस्कार गर्ने स्थानको व्यवस्था मिलाउनको लागि विशेष पहल गरिनेछ।
    अन्तमा,
    हेलम्बु गाउँपालिकाको कार्यालय, वडा कार्यालय तथा अन्तर्गतका सम्पूर्ण अन्य कार्यालयबाट हुने सम्पूर्ण सेवा तथा सुविधालाई छिटो–छरितो रुपमा सम्पन्न गर्नका लागि हामी सदैव तत्पर रहेको प्रतिबद्धताका साथ माथि उल्लेखित केही ठुला विकासको योजनाहरु तथा उल्लेख गर्न छुटेका विकासको शिर्षकहरुलाई सम्बन्धित क्षेत्रगत निकायहरुमा समावेश गरि हेलम्बु गाउँपालिकालाई मुलुककै नमुना गाउँपालिका विकास गर्ने लक्ष्य अनुरुप हालसम्म प्राप्त भएका उपलब्धीहरुको संरक्षण तथा विकास गर्दै प्रस्तावित नयाँ आयोजना तथा कार्यक्रमहरुलाई सफलतापूर्वक सम्पन्न गर्न सम्बन्धित सबैलाई सहयोगका लागि हार्दिक अनुरोध गर्दछौँ ।

    धन्यवाद ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस