मंसिर १४, २०७७
अमित घिमिरे
आतुरता हुन्छ प्रेममा
आफ्नो प्रेमिको छातीमा पल्टेर विश्रान्त हुने
खित्का खित्का हाँसो हाँस्ने
अनि
अन्तरकुन्तरका न्यास्रो रुने
संगै बस्ने…छुने….अंगालोबद्ध हुने
प्रकृति हो, यो अनुराग हो
तर प्रिय
त्यो आतुरता भावुकपन हो
अझ, त्यो आतुरता प्रेम सम्मोहन हो
तिमी प्रेमिबाट स्वास्नी हुन ललायीत छौं
तिमी भन्दा पनि
तिम्रा प्रेमका रसायनहरु व्यग्र भएका छन्
मलाई लाग्छ तिमीले नियन्त्रण गर्नुपर्छ
संयमता अपनाउनु पर्छ, बुझ्नु पर्छ
यहाँ फगत स्वास्नी हुन
पेटीकोटको कुम्लो च्यापेर पोइल जान
वा
वर्षेनी छाउरा जन्माउन मात्र तिमीले प्रेम गरेकी हैनौं
हिजो, आज र भोलि पनि यहाँ सन्तान जन्मन्छन्
स्वास्नी बन्छन् पोइल जान्छन्
तिमी छुटेर क्यै हुन्न
तर
तिमी पहिला तिमी बन्नुपर्छ
सवल, सक्षम आत्मनिर्भर हुनुपर्छ
पलभर चाटेर जीवन चल्दैन
मायाकै पछाडि तिमी दौडियौ भने
छायाँ समाए झै फुस्सा हुने छ
प्रारम्भको क्षणिक हाँसो र अनि अविराम आँसु
…किचलो, दमन र ग्लानी पिएर बाच्नु पर्छ
त्यसैले, प्रिय तिमी पहिले सक्षम बन्
सवल बन् अनि आत्मनिर्भर बन्
तिमी आतुरता विर्सन
सुकीहरुलाई पढ, टेरेसालाई पढ
नाइटिड्डगेल, दिलशोभा र कुमारीहरु पढ
झमकहरुलाई पढ अनि पारिजातहरुलाई पढ
एउटा उचाइको शिखर चढ्
तिमी अघि बढ् यो राज्यसत्तामा अस्तित्वसहित
तिमी प्रेमिका बन
तिमी स्वास्नी बन्
र तिमी आमा बन्
हो तत् पश्चात
बहुपासको त्यो आमोदप्रमोद जसले नव आयाम जन्माउने छ
नत्र
भयातुरता मात्रले त अभिशिप्त कालो आभा जन्माउने छ
र, त्यसले पश्चाताप र विस्मात्का पलहरु
स्याँउ…स्याँउ सल्वलाउने छन्
तिलस्मी प्रेमकथाको माकुरी जालो सक्छौ भने चुडाल
प्राज्ञिकतामा लाग्, प्राज्ञ बन्
र, अनि तिमी प्रेमिका बन
तिमी स्वास्नी बन्
र, तिमी आमा बन् ।
प्रतिक्रिया दिनुहोस