२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

म भन्छु, संघीय लोकतान्त्रिक गणतन्त्र– मुर्दावाद

Thumbnail
  • २०७४ आश्विन ८, आईतबार मा प्रकाशित ८ साल अघि
  • मलाई कि नेलकडी लगा, कि देश निकाला गर्

    • अमित घिमिरे

    १२ अक्षरको लामो व्यवस्थाको नामाकरण गरेर, शब्दजालको फुर्कै फुर्का जोडेर मात्र देश–देश भएको हुन्न । यदी यस देशको कुनै नागरिक र गल्लीको भुसिया कुकुरको जीवन परिभाषा एकै हुन्छ भने म भन्छु– संघीय लोकतान्त्रिक गणतन्त्र– मुर्दावाद । जतिसुकै लामा, ठूला कुरा गरेर के नाप्छ जब कुकुर र मान्छे दुवै एउटै चिज खानकालागि लडाई पर्छ भने फेरि पनि म भन्छु–संघीय लोकतान्त्रिक गणतन्त्र– मुर्दावाद ! मलाई कि नेलकडी लगा कि देश निकाला गर् । हो म व्यवस्था विरोधी हूँ, म प्रतिगामी हूँ, म पश्चगमनकारी हूँ ।

    देश भनेको राजनीतिदलहरुले भागबण्डा गरेर सत्ता समीकरणमा आलोपालो राज गर्नु मात्र हो ? ठाउँका, चोकका नाम फेरेर देश नयाँ हुन्छ हो ? कुकुरसंगै सिंघौरी गरेर एकाविहानै मानिसहरुले नखाने–फोहर मलभनेर फ्याकेको खान पनि पाउँदैन भने म फेरि भन्छु– संघीय लोकतान्त्रिक गणतन्त्र–मुर्दावाद, मलाई कि नेलकडी लगा कि देश निकाला गर् । हो म प्रतिगमनको बान्ता गरिरहेछु । म अनागरिक हूँ ।

    यसोरी नागरिकले मलमुत्र खानु पर्छ भने यो व्यस्था कसका लागि । यो जीवन शैलीले के ६०१ डाम्नालाई घाँस हाल भनेको हो हैन ? लुटेराहरु काँचुली फेरेर गढ्यौलाहरु बनेका हुन् । बिसौं हजार नेपालीको कुर्वानी र प्राप्त अधिकारलाई स्वाहः पार्न, श्रीपेच एवम् कल्कीमोहका लालचीहरु नागरिकहरुको उपहास गरिरहेका छन् । हर गल्ली चोकचौराहमा यस्ता नागरिक । जबसम्म यिनीहरुले नागरिकको दर्जा पाउने छैनन् तबसम्म म भनि रहन्छु– संघीय लोकतान्त्रिक गणतन्त्र– मुर्दावाद !, मलाई कि नेलकडी लगा कि देश निकाला गर् । म हर हप्ता यस्ता प्रतिनिधि अनुहारहरु खोज्ने छु र भनिरहने छु ।

    ए ! संघीय लोकतान्त्रिक गणतन्त्रका कथित मसिहाहरु हो तिमीहरुको जय भएर तिमीहरुले अकूत कमाएर वैभवको जीवन बाँचेर तिम्रा छोरा नाति सपारेर स्वाधीनता वन्धक राखेर देशमा विस्तारवादी एनजीओ आएनजीओ हुलेर नागरिकको चेतनामा नशबन्दी गरेर माग्ने बनाएर, दया र कृपाको पात्र बनाएर, दाश बनाएर, अरुप्रति आसे बनाएर संघीय लोकतान्त्रिक गणतन्त्र सफल भएको ठहर्छ हो ? खान नपाउने, पढ्न नपाउने, उपचार गर्न नपाउने, सामान्य नागरिकले, हुँदामात्र खान पनि नपाएकाहरुको, मजदुर, विपन्न, चर्चर्ती पैतला फुटेका, पसिना गन्हाउनेहरुको, बोलिदिने कोही नभएकाहरुले यदि यो देशको शासन सत्ताप्रति अपनत्व गर्दैनन् भने म फेरि पनि भन्छु– ‘संघीय लोकतान्त्रिक गणतन्त्र– मुर्दावाद !, मलाई कि नेलकडी लगा कि देश निकाला गर् !’

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस