२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

सिन्धुपाल्चोकमा एसियास्तरीय र्‍याफ्टिङ स्कुल

  • २०७९ बैशाख ४, आईतबार मा प्रकाशित २ साल अघि
  • बैशाख ४, २०७९

    चाैतारा । सिन्धुपाल्चोकमा पहिलोपटक र्‍याफ्टिङ स्कुल (ह्वाइट वाटर सेन्टर) सञ्चालनमा आउने भएको छ । साहसिक र मनोरञ्जनात्मक खेल र्‍याफ्टिङका लागि विश्वको सातौँ स्थानमा पर्ने प्रख्यात भोटेकोसी र सुनकोसी क्षेत्रमा एसियाकै पहिलो र्‍याफ्टिङ स्कुल सञ्चालन हुन लागेको हो ।

    पर्यटन मन्त्रालयबाट प्राप्त १३ करोडमा र्‍याफ्टिङ स्कुलका भौतिक संरचना धमाधम बनिरहेको छ । बलेफी गाउँपालिकाको ब्रह्मायणी नदी किनारमा निर्माणाधीन ह्वाइट वाटर सेन्टरको भौतिक संरचना सम्पन्न भएलगत्तै स्कुल सञ्चालनमा आउने सिन्धु पर्यटन व्यवसायी संघका अध्यक्ष नारायण श्रेष्ठले जानकारी दिए ।

    नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट (नारा) का बागमती प्रदेश अध्यक्षसमेत रहेका श्रेष्ठले ह्वाइट वाटर सेन्टर सञ्चालनमा आएपछि भोटेकोसीको कञ्चन पानीमा विश्वभरको र्‍याफ्टिङ टुर्नामेन्ट गरिने बताए ।

    स्विमिङ पुल, लाइब्रेरी, स्टेडियम, अतिथिगृहलगायत संरचना बनिरहेको छ । यहाँ र्‍याफ्टिङको सैद्धान्तिक विषयको स्कुलिङ हुन्छ । त्यसपछि प्राक्टिकल र्‍याफ्टिङका लागि भोटेकोसीमा लगिन्छ । यहाँबाट रिभर गाइड तयार पारेर जापान, आइसल्यान्डलगायत युरोपियन मुलुकमा जनशक्ति निर्यात गरिने लक्ष्य छ । यसअघि नाथम कलेजले थ्यौरी र नाराले प्राक्टिकल गराइरहेको थियो ।

    र्‍याफ्टिङमा लेभल ६ सम्मको जलक्रिडा गर्न सक्ने बनाउने लक्ष्य राखिएको छ । अहिले भोटेकोसीमा चार लेभलको मात्रै साहसिक जलक्रिडा हुन्छ । र्‍याफ्टिङ एक्सपर्ट दीपककुमार राई, महेन्द्र श्रेष्ठ र ललित गिरीले आफ्नै रिसोर्ट सञ्चालन गरेर र्‍याफ्टिङ व्यवसाय पनि चलाइरहेका छन् । उनीहरूका अनुसार भोटेकोसी नदीमा पारंगत नेपाली रिभर गाइडले जापान, दुबईलगायत देशमा र्‍याफ्टिङ गाइड गरेर मासिक पाँच लाखसम्म आम्दानी गर्ने गरेका छन् ।

    भोटेकोसी, सुनकोसी नदीको कञ्चन पानी र प्राकृतिक मनमोहक दृश्यले र्‍याफ्टिङ गर्ने पर्यटक लोभिएका छन् । ‘यहाँ र्‍याफ्टिङको विशेषता भनेको बोटिङ र कायाकिङमा ढुंगा अड्केर र्‍याफ कम हुने भएकाले साहसिक गेममा कम जोखिम छ,’ नारा अध्यक्ष श्रेष्ठले भने ।

    हाल देशभर ८७ र्‍याफ्टिङ कम्पनी छन् । भोटेकोसी र सुनकोसी करिडोरमा मात्रै दर्ता भएका १३ र्‍याफ्टिङ कम्पनी छन् । केही कम्पनीले र्‍याफ्टिङ सञ्चालनको अनुमति मागेका छन् । सिजनमा सिन्धुपाल्चोकमा दैनिक ६ हजारले र्‍याफ्टिङ गर्छन् ।

    भूकम्पअघिको रेकर्डअनुसार भोटेकोसीमा वार्षिक ५० हजारले र्‍याफ्टिङ गर्थे । कोभिड महामारी नियन्त्रणमा आएसँगै र्‍याफ्टिङ गर्न आउने बढेका छन् । र्‍याफ्टिङमा आन्तरिकभन्दा बाह्य पर्यटक बढी आउँछन् । पूर्वप्रधानमन्त्री प्रचण्डले पटक–पटक भोटेकोसीमा र्‍याफ्टिङ गरेकाले जलक्रिडाका लागि आउने आन्तरिक पर्यटक बढेका छन् । नयाँपत्रिकाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस