२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

साढे ३ अर्ब लगानीमा सञ्चालनमा आएको म्याग्नेसाइट १९ वर्षदेखि बन्द

  • २०७८ कार्तिक १०, बुधबार मा प्रकाशित २ साल अघि
  • कार्तिक १०, २०७८

    चौतारा : बलेफी गाउँपालिकाको लामोसाँघु बजारस्थित नेपाल ओरियन्ट म्याग्नेसाइट उद्योग अझै सञ्चालनमा आउन सकेको छैन ।

    १९ वर्षदेखि बन्द रहेको मुलुककै ठूलोमध्येको यो उद्योग पुनः सञ्चालनका स्थानीय तह र अन्य निकायले पहकदमी लिए पनि तीव्रता नपाउँदा खण्डहर बन्दै छ ।

    ओरियन्ट म्याग्नेसाइट २०५८ सालदेखि बन्द छ । उद्योगमा सन्तोषजनक उत्पादन नभएपछि लामो समय परीक्षण गर्ने काम भएको तत्कालीन कार्यकारी निर्देशक दिनेशराज भट्टराई बताउँछन् । धेरै पटकको परीक्षण गर्दा पनि योग्य डीबीएम उत्पादन हुन नसकेपछि कम्पनी बन्द भएको उनको दाबी छ ।

    भारत र बंगलादेशमा म्याग्नेसाइटको माग भएपछि नेपालमा रहेको म्याग्नेसाइटको उपयोग गर्दै राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याउने उद्देश्यले भारतीय उडिसा इन्ड्रस्टिज, खेतान समूह र निजी क्षेत्र नेपालसँग सरकारको संयुक्त पहलमा २०३६ सालमा ३ अर्ब ५९ करोड रुपैयाँ लगानीमा उद्योग सञ्चालनमा आएको थियो ।

    वार्षिक ५० हजार टन डीबीएम म्याग्नेसाइट उत्पादन गर्ने गरी उद्योग सञ्चालनमा ल्याइएको थियो । तर सञ्चालनदेखि नै वार्षिक २० हजार टन मात्र डीबीएम उत्पादन गरेको उद्योग स्रोतले बताएको छ ।

    लामोसाँघुस्थित कारखानालाई आवश्यक कच्चा पदार्थ रोपवेका माध्यमबाट दोलखाको लाँकुरीडाँडा खरीढुंगाबाट ल्याउने गरिएको थियो । बिक्रीयोग्य डीडीएम उत्पादन भए पनि उच्चपदस्थ कर्मचारी कमिसनको चलखेलमा लागेपछि उद्योग बन्द भएको म्याग्नेसाइटका पुराना कामदार बताउँछन् ।

    ‘परीक्षणका बेला नै केही विदेशीले सर्तसहित बिक्रीयोग्य डीबीएम उत्पादन गरेर देखाएका थिए,’ एक कामदारले भने, ‘तर भित्र के प्रपञ्च रचियो, ती विदेशी रुँदै बाहिरिएर गए । अनि कम्पनी बन्द भयो ।’

    वर्षौंदेखि बेकामे बनेका म्याग्नेसाइटका सबै संरचना बिग्रिँदै छन् । डीबीएम भट्टी कारखाना रहेको स्थान भासिँदै छ । तल्लो स्थानको पदार्थ संकलन केन्द्र र ल्याब भत्किसकेका छन् । कम्पनीको रोपवे खरिढुंगादेखि लामोसाँघुसम्मको करिब १०.५० किमि क्षतविक्षत छ ।

    उद्योग सञ्चालन गर्न वर्षैपिच्छे निर्णय गरिए पनि अदालती मुद्दा देखाएर प्रक्रिया अगाडि नबढाइएको स्थानीय रेशम कार्कीले बताए । ‘म्याग्नेसाइट सञ्चालन हुन सकेन,’ उनले भने, ‘म्याग्नेसाइड बन्द हुनाले सयौं बेरोजगार छन् । कम्पनीका जिम्मेवार व्यक्तिले नै यहाँका रूख, ढुंगा सबै बेचिसके ।’ कान्तिपूरबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस