२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी दुवैले पाए दलको मान्यता

  • २०७८ भाद्र १०, बिहिबार मा प्रकाशित २ साल अघि
  • भदौ १०, २०७८

    काठमाडौं : निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) लाई राजनीतिक पार्टीको मान्यता दिएको छ। 

    नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी र ठाकुर नेतृत्वको लोसपाले राजनीतिक पार्टीको मान्यता पाएको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन्।

    नेकपा एमालेबाट विभाजित नेता नेपाल पक्षले केन्द्रीय सदस्यको संख्या २० प्रतिशत साथमा लिएर एकीकृत समाजवादी पार्टी गठन गरेर दर्ताका लागि आयोगसमक्ष आवेदन गरेको हो। एमालेको केन्द्रीय कमिटीका २ सय ३ सदस्यमध्ये एकीकृत समाजवादी गठनका लागि २७ प्रतिशत अर्थात ५५ जना सदस्यले सनाखत गरेका थिए।

    यसैगरी जनता समाजवादी पार्टी (जसपा) को ठाकुर पक्षले केन्द्रीय कार्यकारिणी र संसदीय दलका २० प्रतिशतभन्दा बढी सदस्यसहित लोसपा गठन गरेको हो। लोसपा दर्ता गर्न ठाकुर पक्षले दिएको निवेदनमा आयोगले बुधबार नै सांसद र केन्द्रीय सदस्यलाई सनाखत गर्न बोलाएको थियो।  

    जसपाको ५१ सदस्यीय कार्यकारिणी समितिका ३३ प्रतिशतले अर्थात १७ जनाले लोसपा दर्ताका लागि सनाखत गरेका छन्। जसपाका राष्ट्रियसभामा रहेका ३ र प्रतिनिधिसभामा रहेका ३४ गरी ३७ सांसदमध्ये १५ जनाले नयाँ दल लोसपा गठनमा साथ दिँदै सनाखत गरेका छन्।

    राजनीतिक दलसम्बन्धी सरकारले जारी गरेको नयाँ अध्यादेशको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्‍याउन सके पार्टी टुक्र्याउन पाइने प्रावधान अनुसार एकीकृत समाजवादी र लोसपा दुवै पार्टी आयोगमा दर्ता भएका हुन्। 

    नेपाल पक्षले केन्द्रीय कमिटीमा आवश्यक संख्या जुटाए पनि एक सांसद कम हुँदा संघीय संसदमा भने अध्यादेशको प्रावधानअनुसार २० प्रतिशत पुर्‍याउन असफल भयो। एमालेका १ सय ५४ सांसदमध्ये ३० जनाले मात्र सनाखत गरेपछि संसदमा एकीकृत समाजवादीले २० प्रतिशत पुर्‍याउन सकेको हो। 

    आयोगले दुवै नयाँ दलका सांसद र केन्द्रीय सदस्यलाई सनाखतका लागि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म समय दिएको थियो। तोकिएको समयमा दुवै दलका केन्द्रीय सदस्य र संघीय सांसदले आयोगमा सनाखत गरेका थिए। त्यसपछि आयोगको बैठक बसेको थियो। बैठकले एकीकृत समाजवादी र लोसपालाई दलको मान्यता दिने निर्णय गरेको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस