२०८१ जेष्ठ ४, शुक्रबार | Fri, 17, May, 2024

किन बढिरहेको छ कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ?

  • २०७७ मंसिर २०, शनिबार मा प्रकाशित ३ साल अघि
  • मंसिर २०, २०७७

    बीबीसी । नेपालमा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित हुने मानिसको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि मृत्यु हुने सङ्क्रमतिको सङ्ख्यामा देखिएको वृद्धिले सङ्क्रमण फैलिने क्रम आधिकारिक रूपमा गरिएको आकलनभन्दा बढी हुनसक्ने विज्ञहरूले ‌औँल्याएका छन्।

    नेपालको पछिल्लो अवस्थाबारे तथ्याङ्क हेर्दा सङ्क्रमितहरूको सङ्ख्या बढ्दै अस्पतालहरू समेत खचाखच हुँदाको अवस्थाभन्दा हाल मृत्यु हुनेहरूको अनुपात बढिरहेको देखिन्छ।

    अधिकांश मानिसमा लक्षण देखिँदा घरमै आइसोलेशनमा बस्ने र सिकिस्त भएपछि मात्रै अस्पताल पुग्ने हुँदा पनि मृत्यु धेरै भएको हुन सक्ने जानकारहरू बताउँछन्।

    “सङ्क्रमित भइसकेकाहरू परीक्षण नगरीकनै घर बस्ने र निश्चित अवधि पछि परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने हुँदा समग्रमा सङ्क्रमितहरूको सङ्ख्या कम देखिएको हुन सक्छ,” सङ्क्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीले बीबीसीसँग भने।

    त्यस्तै विदेश जानका लागि कुनै पनि किसिमका लक्षण नभएकाहरूले परीक्षण गर्ने गरेको र त्यसकै आधारमा सङ्ख्या घटे जस्तो देखिएको हुन सक्ने उनी बताउँछन्।

    सरकारले कनट्याक्ट ट्रेसिङ अर्थात् सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाहरूको पहिचान गरी परीक्षण समेत गर्न छाडेको अवस्थामा नयाँ सङ्क्रमितहरूको सङ्ख्याका तुलनामा मृत्यु हुनेहरूको सङ्ख्या बढेका रूपमा व्याख्या गर्न नमिल्ने चिकित्सकहरू बताउँछन्।

    अझ अस्पताल पुर्‍याउँदा पुर्‍याउँदै वा अस्पतालमा मृत्यु भएकाहरूको समेत कोभिड परीक्षण नगर्ने सरकारी निर्देशनका कारण हाल उपलब्ध तथ्याङ्कमा भर परिहाल्न मिल्ने अवस्था समेत नरहेको जानकारहरूको मत छ।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल क्लिनिकल अनुसन्धान एकाइ प्रमुख डा. शेरबहादुर पुन पछिल्ला केही महिनाका तुलनामा हाल कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको उनी कार्यरत अस्पतालमा देखिएको बताउँछन्।

    “मूलतः ६० वर्ष भन्दा बढी उमेर भएकाहरूको मृत्यु हुने क्रम बढेको मेरो बुझाइ छ,” उनले भने।

    तथ्याङ्क

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पछिल्लो तथ्याङ्कका अनुसार नेपालमा शुक्रवार अपराह्णसम्म २,३८,८०० भन्दा केही बढी मानिसमा कोभिड-१९ पुष्टि भएको छ। तीमध्ये झन्डै ९३ प्रतिशत सङ्क्रमित निको भइसकेका छन्।

    सङ्क्रमितमध्ये ०.७ प्रतिशत मानिसको मृत्यु भएको सरकारी तथ्याङ्क छ। अहिले सक्रिय सङ्क्रमितहरूको सङ्ख्या १५,४४७ को हाराहारीमा छ। तीमध्ये सर्वाधिक काठमाण्डू उपत्यकामा छन्। कुल सङ्क्रमितमध्ये एकतिहाइ महिला छन्।

    उमेर समूह हेर्दा सबैभन्दा बढी २१ देखि ३० वर्ष सम्मका मानिसहरूमा सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि सबैभन्दा बढी सङ्क्रमित ३१ देखि ४० वर्षभित्रका छन्।

    पाको उमेरका मानिसमा तुलनात्मक रूपमा कम सङ्क्रमण भएको देखिएको भए पनि उनीहरूले ज्यान गुमाउन सक्ने सम्भावना भने बढी हुने चिकित्सकहरू बताउँछन्। “कोभिड-१९ लाग्दा एक्लै बस्नुपर्ने हुँदा वृद्ध मानिसहरूमा बढी समस्या देखिने र उनीहरूलाई तुलनात्मक रूपमा आफ्नो अवस्थाबारे जानकारी गराउन कठिन हुनेहुँदा समेत मृत्यु बढी भएको हो भन्ने मेरो बुझाइ छ,” डा. पुनले भने।

    ‘घरमा बस्दा समस्या’

    केही समयअघि सङ्घीय राजधानी काठमाण्डूका अस्पताल कोरोनाभाइरस सङ्क्रमितहरूबाट भरिएको अवस्थामा सरकारले सर्वसाधारणहरूलाई सकेसम्म अस्पताल नजान अनुरोध गरेको थियो।

    तर हाल अस्पतालहरूमा चाप घटेको र त्यो पनि बढ्दो मृत्युदरसँग सम्बन्धित रहेको चिकित्सकहरू बताउँछन्। “अक्सिजन थोरै घट्दा अस्पताल आइपुग्ने अधिकांश मानिसहरूलाई हामी बचाउन सफल भएका छौँ,” डा. सुवेदीले भने।

    डा. पुन पनि त्यो कुरा स्वीकार्छन् र अवस्था जटिल भएपछि अस्पताल आउँदा ज्यान जाने सम्भावना बढी हुने बताउँछन्। “भेन्टिलेटरमै राख्नुपर्ने अवस्थामा जे पनि हुन सक्छ। त्यो कुनै जादुको छडी होइन,” उनले थपे।

    “एघार दिनसम्म ज्वरो आउँदा समेत घरमै बसेको अनि लगातार दुई तिन दिनसम्म श्वासप्रश्वासमा समस्या हुँदा समेत घरमै बसेका बिरामी मैले भेटेको छु।” धेरै मानिसमा घरमै बस्दा आफ्नो अवस्था कस्तो रहँदा के गर्ने भन्ने विषयमा पर्याप्त जानकारी नहुँदा समस्या बढ्दै गएको उनी बताउँछन्।

    नेपालमा हाल जाडो मौसम चलिरहेको अवस्थामा प्रतिबन्ध लगाइएका विभिन्न क्षेत्रहरू क्रमिक रूपमा खुला हुँदै गर्दा आगामी दिनहरूमा सङ्क्रमित थपिने वा सङ्क्रमितहरूको अवस्था गम्भीर हुन सक्ने सम्भावना रहेको चिकित्सकहरू औँल्याउँछन्।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस