२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

हेलम्बुमा झाडावान्ताबाट एक बालकको मृत्यु, कसरी बिरामी भए एकसाथ १९ जना ?

  • २०८० आश्विन २०, शनिबार मा प्रकाशित ६ महिना अघि
  • चाैतारा । हेलम्बु गाउँपालिकामा झाडावान्ताबाट एक बालकको मृत्यु भएको छ। गत असोज १६ गते साँझपख एकैपटक १९ जनालाई वान्ता हुने‚ ज्वरो आउने र पखाला लाग्नेजस्ता लक्षण देखिएका थिए।

    तीमध्ये झाडावान्ता र ज्वरोले गालेका पाँच वर्षीय एक बालककाे काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक विदुर जोतीले बताए।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै उपचारका लागि काठमाडौं ल्याइएका १४ जनामध्ये २ जनाको आइसियुमा उपचार भइरहेको  जनाएको छ। बाँकी ८ जनाको हाइकेयरमा उपचार भइरहेको छ भने ३ जनालाई डिस्चार्ज गरिएको मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले बताए।

    गाउँपालिकाका स्वास्थ्य संयोजक जोतीले फुड प्वाइजन भएको हुनसक्ने बताए।

    ‘असोज १६ गतेको घटना रहेछ। हामीले भोलिपल्ट विरामीहरू मेलम्ची अस्पताल पुगेपछि मात्र थाहा पयौं’‚ स्वास्थ्य संयोजक जोतीले भने‚‘त्यहाँ नियमित कामदारहरूले खाना खाने रहेछन्। खाना पकाउने र खाने स्थल वरपर अत्यधिक फोहोर देखियो। पानीका स्रोतमा भन्दा पनि फुड प्वाइजन नै भएको हुनसक्ने देखियो।’

    उनका अनुसार खानाका केही नमुना पनि संकलन गरी परीक्षणका लागि पठाइएको छ।

    ‘उनीहरूले खाना र भैँसीको मासु खाएकाे पाइयो। एकैठाउँमा खाएका जति सबै विरामी परेका छन्।’ जोतीले भने‚ ‘त्यहीँबाट मासु लगेर घरमा पकाएर खाएका अरूलाई केही भएको छैन।’

    किन एकै गाउँका धेरैमा यस्तो खालको समस्या देखियो भनेर बिरामीहरूको रगत र पिसाबको नमुना परीक्षण गरिएको समेत मन्त्रालयले जनाएको छ।

    चावहिलस्थित एक निजी अस्पतालमा उपचाररत विरामीहरूलाई स्वास्थ्य मन्त्री मोहन बस्नेतले भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएको मन्त्रालयले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस