२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

निषेधाज्ञा खुलेपछि सुरक्षित भएर काम गरौँ : डा. रवीन्द्र पाण्डे

  • २०७७ भाद्र २५, बिहिबार मा प्रकाशित ३ साल अघि
  • भदौ २५, २०७७
    सरकारले काठमाडौं उपत्याकामा आजदेखि लागु हुने गरि निषेधाज्ञा खुकुलो बनाएको छ। यो निर्णय आम जनताको पक्षमा छ । हामीले बुझ्नुपर्छ कि निषेधाज्ञा खुकुलो बनाएको कोरोना संक्रमण घटेर होइन । आम जनतालाई आर्थिक, सामाजिक तथा मनोबैज्ञानिक भार परेको कारण निषेधाज्ञा खुकुलो भएको हो । सरकारले बल हाम्रो हातमा दिएको छ ।

    अब हामी सबैले निम्न कार्यहरु अबलम्बन गरौँ :
    – बालबालिका, जेष्ठ नागरिक तथा दीर्घरोग भएका व्यक्तिहरु घरभित्र बस्ने । सकभर घरभित्र पनि छुट्टै कोठामा बस्ने । काम गर्न बाहिर जाने व्यक्तिसंग दुरी कायम गर्ने । कुरा गर्दा मास्क लगाउने ।
    – मर्निंग वाक वा इभिनिंग वाक घरमै गर्ने ।
    – खुल्यो भनेर बिनाकाम घरबाहिर नजाने । घरबाहिर जति छोंटो समय बितायो त्यति धेरै सुरक्षित हुने सम्भावना धेरै हुन्छ ।
    – घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउने । सम्भव भएसम्म २ मिटरको दुरी कायम गर्ने । भीडभाडमा नजाने, भीडभाड नगर्ने ।
    – सार्वजनिक यातायात प्रयोग गर्दा मास्क तथा पंजा लगाउने । स्यानिटाइजरले हात सफा गरिरहने । बिशेष सतर्क हुने ।
    – हरेक पसलले व्यक्तिगत दुरी कायम हुनेगरि काउन्टरको ब्यबस्थापन गर्ने । मास्क नलगाएका ग्राहकलाई मास्क दिने । सबैको लागि ठूलो स्यानिटाइजर राख्ने । झ्यालढोका खोलेर भेन्टिलेसनको प्रत्याभूति गर्ने ।
    – सकभर हरेक पसलमा परल मुल्यमा सस्तो मास्क तथा स्यानिटाइजर बिक्रीवितरण गर्न राख्ने ।
    – ग्राहक ब्यबस्थापन कुशल ढंगले गर्ने । भीडभाड नगराउने ।
    – पसल र हरेक सामान संक्रमणरहित बनाउने ।
    – चियापसल, कफीसप तथा पसलमा साथीहरु संगै बस्ने, गफ गर्ने, चुरोट खाने, सुर्ती मोलेर बाँड्ने, थुक्ने जस्ता काम नगर्ने ।

    – कुन व्यक्ति संक्रमित छ, कुन व्यक्ति छैन भन्ने अनुहार, सम्बन्ध, शिक्षा, पद आदि हेरेर थाहा हुँदैन । हरेक व्यक्तिसंग सुरक्षित ब्यबहार गर्ने ।
    – सामान किन्दा धेरै छान्ने काम नगर्ने । किनमेलको लिस्ट घरमै बनाएर जाने । पसलहरुमा एकदम छोंटो समय बिताउने । जति लामो समय पसलभित्र वा बसभित्र बस्यौं, त्यति नै जोखिम हुन्छ ।
    – सकभर तरकारी बजारबाट तरकारी नकिन्ने । घर नजिकको पसलबाट किन्ने । बसेर छान्ने, छाम्ने काम नगर्ने ।

    – डिपार्टमेन्टल स्टोर तथा सपिंग मलमा पर्याप्त भेन्टिलेसन हुँदैन । तसर्थ आफुले बनाएको लिस्ट अनुसार फटाफट किनेर बाहिरिने । लामो समय नबिताउने ।
    – भोको, मास्क किन्न नसकेको तथा समस्यामा परेका व्यक्तिलाई सक्दो सहयोग गरेर पुन्य कमाउने । कमाउने कुरा पैसासंग मात्र जोडिएको हुँदैन । पुण्यभन्दा ठूलो कमाइ अरु केहि हुँदैन ।
    – बैंक, कर कार्यालय, वडा कार्यालय, यातायात कार्यालय, मालपोत, बिद्युत आदि जनसम्पर्कका कार्यालयले हरेक बैंकका हरेक शाखाबाट भुक्तानी गर्न मिल्ने ब्यबस्था मिलाउने । क्यासलेस लेनदेनलाई प्रेरित गर्ने । टाइम कार्ड लागु गरेर भीड नियन्त्रण गर्ने । फाइललाई डिजिटल बनाउने ।

    – रुघाखोकी, ज्वरो वा अन्य स्वास्थ्य समस्या भए घरमै आराम गर्ने । बिरामी हुँदा आफुले अरुलाई सार्ने मात्र होइन अरुको संक्रमण आफुलाई छिटो सर्ने खतरा पनि हुन्छ ।
    – सकभर पानी, खाजा घरबाट लिएर जाने वा सफा र झ्यालहरु धेरै भएको रेस्टुरेन्टमा सुरक्षित रुपमा खाने ।
    – आफ्नो पसल जति धेरै सफा गरिन्छ, जति धेरै मापदण्ड पुर्याएर संचालन गरिन्छ तथा जति धेरै आफ्ना कामदारलाई सफा बनाइन्छ, त्यति धेरै चल्छ । यो सुत्र सबैले अपनाउने ।
    – कामबाट घरमा आएपछि मास्क, चस्मा, झोला, बाहिरी कपडा आदिलाई छुट्टै ठाउँमा राख्ने, नुहाउने अनि मात्र परिवारसंग घुलमिल हुने ।
    – ग्राहकलाई सुरक्षित बनाउनु हरेक व्यवसायीको दायित्व हो ।

    – हामी सबैले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने संक्रमण घट्दै जान्छ । संक्रमण घटेपछि लकडाउन वा निषेधाज्ञा हुँदैन । हामी पनि सुरक्षित हुन्छौं ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस