२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

किन चाहियो सिडियो साब यस्तो लबस्तरो लकडाउन ?

  • २०७७ भाद्र ८, सोमबार मा प्रकाशित ३ साल अघि
  • जीवन श्रेष्ठ

    भदौ ८, २०७७

    (१)जिल्ला छिर्ने नाकाहरु निर्बाध खुला छ । आउने जानेको लेखाजोखा छैन । १४ दिने क्वारेन्टाइनलाई कार्यान्वयन गर्ने कुरा त कथा नै बनिसक्यो । संक्रमण बाहिरबाट सल्किने रहेछ भनेर जान्दा जान्दै फेरि यस्तो लबस्तरो लकडाउन फेरि पनि थप्नुको औचित्य के नै होला र सिडिओ साब ?

    (२)सभा, गोष्ठी तपाईं आफैले गरिरहनु भएको छ, अरुलाई तपाईले कसरी अंकुस लगाउनु हुन्छ? अझ दलले गर्ने भेला रोक्ने कुरा त तपाईको काबुको भित्र नै पर्दैन क्यारे !आफैआदेश दिने आफै उलंघन गर्ने हो भने यो लकडाउनको नाटक किन सिडिओ साप ?

    (३)हरेक बजार बस्तीहरुमा चहलपहल उस्तै छ । मान्छेको आवतजावत, भिडभाड त्यतिक्कै छ । के यस्तो ललौरीबिलौरी लकडाउनमा भाइरस आफै चार भञ्ज्याङ् काटेर हिड्छ हो सिडिओ साप ?

    (४)सिल गरिएको भनिएको होटेलमा सूचना त टाँसिएको छ, सटर पनि बन्दै छ । तर होटेलधनी भने बाहिर लठलठक हिडिरहन्छ। सिलको नाउँमा सटरडाउन मात्र हुन्छ भने यस्तो नाथे लकडाउन किन चाहियो र सिडिओ साप ?

    (५)तरकारीको र खाद्यान्नको गाडी बाहिरी जिल्लाबाट बिना सतर्कता र असुरक्षितरुपमा जिल्ला भित्रेकै छ । के उनीहरुबाट संक्रमणको संभावना छैन हो सिडिओ साप ? तरकारी, मासु पसल पलपल खुलेकै छ, पहुँच हुनेले अन्य पसल पनि खुलाएकै छ । मासु पसल खुलेसी भट्टी पसल नखुल्ने कुरै भएन । भट्टी खुलेसी साँझमा भूनभूनाउनेहरुको लर्को लाग्ने नै भो । यस्तै प्रकृतिको लकडाउनले के लछार्छ र सिडिओ साप ?

    (६) फेरि कोही एकजना मात्र संक्रमित देखापर्‍यो भने पुलिस खटाएर सो संक्रमितलाई घरभित्र थुनेर सिंगो बस्ती नै आतंकित पार्ने हो कि ? लकडाउनसँगै पूर्ब तयारीको टण्टामाथी बेवास्ताको घण्टा मात्र बजाउने हो भने यो लकडाउन सात दिन फेरि थपिएकोमा तपाईलाई सातमूरी बधाई छ सिडियो साब 😁

    (७)खासमा एक हफ्ते लकडाउनको प्रभाबकारिता र कमजोरीलाई विश्लेषण गरेर थप निर्णय लिनुपर्ने हो तर तपाईले आदेश गरेको लकडाउन तपाईकै लहडको उपज मात्र देखिन्छ । यो तालको लकडाउनले गरिखानेलाई होइन, केही सीमित मान्छेलाई मात्र लाभ पुर्‍याइ रहेको जस्तो लाग्दैन सिडिओ साप ?

    (८)देखासिकी र लहैलहैमा गरिएको यो लकडाउन कुनै पनि कोण र दृष्टिकोणबाट सही छ जस्तो लाग्दैन । संक्रमणको बढोत्तरी संसर्ग नै भएको प्रमाणित भैसकेको छ । यो महामारीसँग पौठेजोरी खेल्ने हो भने पूर्ण लकडाउन वा नागरिकलाई घरभित्र राख्नुको बिकल्प सायदै होला । त्यसैले नागरिकको अधारभूत आवश्यकताको उचित सम्बोधन गर्दै कि त घरभित्र थुन्न सक्नु पर्‍यो । कि त लकडाउनको मोडालिटी चेन्ज गर्दै नयाँ मोडालिटी प्रयोग गर्न सक्नु पर्‍यो । यसको माने यो होइन कि लकडाउनको नाउँमा लूजडाउन गर्ने । होइन भने कथित लकडाउनको हाउगुजि किन देखाउनु पर्‍यो सिडिओ साप ? फेशबुकबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस