
२०७६ जेठ २३ बिहीबार ०९:१३:००
बोझ बढ्नुका पछाडि पाठ्यक्रमको हात छ । आज चार वर्षको बच्चा पढ्ने एलकेजीमा ५–६ वटा किताब छ । विज्ञान, गणितजस्ता विषय छन् । यो अत्याचार होइन ? पाँच कक्षाको बच्चाको दिनमा आठ पिरियड अनि १० वटा किताब कतै हुन्छ ? हाम्रो पाठ्यक्रम अनावश्यक रूपमा धेरै, तर कम उपयोगी बनाइदिएर विद्यार्थीलाई बोझ थुपार्ने मात्र काम भएको छ । हामी विद्यार्थीलाई साध्य घोकाउँछौँ, तर ती साध्य प्रयोग गरेर कसरी दैनिकीलाई सहज बनाउन सकिन्छ भन्ने कुरा सिकाउँदैनाैँ। आज हाम्रा विद्यार्थीलाई न्युटनका नियम कण्ठ छ, तर ती नियम उपयोग गरेर के–कस्ता अप्ठ्यारा सहजै पार लगाउन सकिन्छ भन्ने थाहा छैन ।
समस्या समाधान गर्ने विधिलाई इन्कार गरेर सिद्धान्त घोकाउने विधि अपनाउनु हाम्रो समग्र शिक्षा प्रणालीकै सबैभन्दा ठूलो कमजोरी हो । हामीले बच्चालाई सिक्ने बाटो खोज्न सहजीकरण गर्ने, वातावरण बनाइदिने, जिज्ञासा जगाइदिने हो । यहाँ त हामीलाई पढाउनु छ । पाठ सकाउनु छ । विद्यार्थीले सिकून् वा नसिकून् । जाँच पास गर्नु छ । यो सिकाइको विधिले हाम्रा विद्यार्थी झन्–झन् कमजोर बन्दै छन् । हाम्रा पाठ्यक्रम आवश्यकअनुरूप मात्र हुन जरुरी छ । हाम्रा पाठ्यक्रमको भारी यति बढेको छ कि त्यो तपाईं जति पढ्नुहोस् एक वर्षमा सकिँदैन । थोरै पढाऔँ, तर पढाएको कुरा अभ्याससहित बुझाउन जरुरी छ । मैले स्कुलमा दुईवटा अंग्रेजी पढ्नुपर्थ्यो । नेपाली बोले जरिवाना तिराइन्थ्यो । त्यति गर्दा पनि मेरो अधिकांश सहपाठीको अंग्रेजी लेखाइ अनि बोलाइ राम्रो हुन सकेन । निष्कर्ष के हो भने, अनावश्यक धेरै होइन, विद्यार्थीलाई प्रभावकारी शिक्षा चाहिएको छ ।
विद्यार्थीलाई धेरै नपढाऔँ
आज एउटा विद्यार्थी बिहान उठ्छ, अनि गृहकार्य गर्छ, छिटो–छिटो तयार हुन्छ अनि खाना खाएर स्कुल जान्छ । दिनभरि स्कुलमा पढ्छ, अनि फेरि घर फर्केर ट्युसन जान्छ अनि फर्केर गृहकार्य गर्छ । यसरी हप्ताको ६ दिन बित्छ । शनिबार एक दिन पनि गृहकार्य गरेरै वा पढेरै वा पढ्नुपर्छ भन्ने तनावमै बित्छ । बिदाका दिन पनि परीक्षाको तयारीमै बित्ने गरेको छ । आठ कक्षा महत्वपूर्ण भनिन्छ, एसएलसी त फलामे ढोका झन् महत्वपूर्ण भइहाल्यो । फेरि १२ पनि कम महत्वपूर्ण हुँदैन, १२ पछिको इन्ट्रान्स महत्वपूर्ण भनिन्छ, स्नातक महत्वपूर्ण, स्नातकोत्तर गर्दासम्म २५–२६ वर्ष बित्छ । आधा जिन्दगी खालि हालको शिक्षा पढेरै मात्र हामीले के हाम्रै जीवनलाई न्याय गरेका छौँ ? यही पढाइको दौडमा जीवनमा सिकेका साँच्चिकै महत्वपूर्ण सिकाइले समेत स्थान पाउन सकेका छैनन् ।
जीवन जिउन त परिवेश र परिस्थितिले सिकाएका सिकाइले पो मद्दत गर्छ त, तर पढाइको बोझले यति थिचेको छ कि हामीले स्कुलभन्दा बाहिर अनि कक्षाकोठाका छतभन्दा माथि हेर्न पाएका छैनौँ । अन्तर्राष्ट्रिय अभ्यासमा पढाइ भनेको रटान होइन । ब्ल्याकबोर्डमा लेखाउनु मात्र पढाइ होइन । हिजो अमेरिकाको एकजना साथीसँग कुरा गर्दै थिएँ, एक कक्षा पढ्ने उनको बच्चालाई त्यहाँ स्कुलले सिकाउँदै गर्दा पुलिस, दमकल, अनि एम्बुलेन्स नै देखाएर सिकाउने रहेछन् । पुलिसले नै ‘केही परे यति नम्बरमा सम्पर्क गर्नुहोस् है’ भनेर बालबालिकालाई सिकाउने रहेछन् । त्यहाँ पाँच कक्षाको बच्चा राम्रो लेखकको पुरस्कारले सम्मानित हुन्छ । दुई कक्षाको बच्चा पुस्तकालय गएर मन पर्ने किताब ल्याएर पढ्ने बानी बसाल्छ । स्कुलको ५–६ पिरियडमध्ये अनिवार्य एक–दुई पिरियड संगीत, नृत्य, खेल वा ड्रामाको कक्षा हुन्छ । ‘वाटर डे’ अनि ‘फन डे’जस्ता दिन मनाइन्छन् । विद्यार्थीलाई संसार देखाइन्छ ।
दिनको एकै ठाउँमा ७ घन्टा बसेर कति प्रभावकारी रूपमा सिक्दै छन् विद्यार्थी ? योबारे कसले चासो दिने ? फिनल्यान्डमा विद्यालय समय छोटो हुन्छ, दिनको ४ घन्टा पढाइन्छ । वेलावेलामा ब्रेक हुन्छ । कक्षाकोठामा पनि २०–२५ जनालाई मात्र राखिन्छ । हरेक नीति बनाउँदा विद्यार्थीलाई केन्द्रमा राखेर निर्णय गरिन्छ । हामीकहाँ हामी हाम्रो स्वार्थ हेर्छौं । यही नै हो हाम्रो अनि उनीहरूबीचको आधारभूत फरक । हाम्रा विद्यार्थीमात्र होइन, शिक्षक पनि पेलानमा छन् । एउटा शिक्षक दिनको आठ पिरियड पढाउन बाध्य छन् । यसरी पढाउँदा शिक्षक कति प्रभावकारी रहन सक्छन् ? शिक्षकको मनस्थितिमा कस्तो प्रभाव पर्ला ? शिक्षाको रिस अनि झन्झटले कस्तो असर गर्ला ? विकसित मुलुकमा शिक्षकले दिनको ४ पिरियडभन्दा बढी पढाउन पर्दैन मात्र होइन, पाउँदैनन् । हाम्रो देशमा शिक्षकको अभाव छ, थाहा छ । तर, अब हामीले विद्यालय शिक्षकको यो पाटोबारे पनि ध्यान दिन जरुरी छ ।
गृहकार्य आतंक
हाम्रा विद्यार्थी शिक्षा प्रणालीको मारमा छन् । विद्यालयमा मात्र होइन, घरमा पनि पढाइको भूतले लखेट्दै छ । अहिले भारतमै पनि गृहकार्य नदिने नीति लागू भएको छ । फिनल्यान्डलगायत मुलुकमा १५ वर्षको उमेरसम्म ३० मिनेटभन्दा बढीको गृहकार्य दिन पाइँदैन । अमेरिका अनि बेलायतमा पनि एक पानाभन्दा बढी गृहकार्य दिन पाइँदैन । हाम्रोमा गृहकार्यमा पनि मनलाग्दी छ । यही गृहकार्य गराउन अनि परीक्षाको भूतले अधिकांश ट्युसन सेन्टर चलेका छन् । गृहकार्य गर्न हाम्रा विद्यार्थी गृहकार्य दिने शिक्षकको घरमा ट्युसन जानुपर्नेसम्मको अवस्था छ । गृहकार्य धन्दा बनेको छ ।
गृहकार्य आतंकको के कुरा गर्नु, आज एलकेजीको बच्चाको गृहकार्य दुई–तीन घन्टाको हुन्छ । तीनवर्षे बच्चालाई कराई–कराई पूरै परिवारले थर्काएर रुवाउँदै घिसार्दै गृहकार्य गराउँदै छौँ । यही गृहकार्यकै कारण हाम्रा बच्चाको निद्रा नपुग्ने अनि दिनभरि पूर्ण सक्रिय हुन नसक्ने समस्यासमेत हुने गरेको छ । मलाई प्रायः परीक्षाको तयारी गर्दै गरेका विद्यार्थीले सोध्ने प्रश्न हो, ‘सर, नाम निकाल्न कति घन्टा पढ्नुपर्छ ?’ आज पढाइ अनि सिकाइ घन्टामा मापन गर्न थालिएको छ । हाम्रो पढाइ कर्मकाण्डी बन्दै छ । यति प्रतिशत हाजिरी पु-याउन कलेज जाने । ३२ नम्बर ल्याउन पढ्ने, प्रमाणपत्र बटुल्ने । यो सिकाइको मापन कत्ति पनि जीवनोपयोगी छँदै छैन । घन्टा नापेर पढेको शिक्षाले कति ज्ञान देला ?
अव्यवस्थित बिदा
वैशाखको पहिलो हप्ताबाट हाम्रो स्कुलको कक्षा सुरु हुन्छ, अनि वर्षैभरि कक्षा वा परीक्षा हुन्छ । विश्वको अधिकांश मुलुकमा वर्षलाई दुई भागमा बाँडिएको हुन्छ । बीचमा करिब तीन महिना बिदा हुन्छ । हाम्रोमा पनि केही वर्षअघिसम्म गर्मी बिदा, मीनपचास, दसैँ बिदा गरेर अलि बढी बिदा हुन्थ्यो । त्यो समयमा विद्यार्थी मामाघर, आफन्तको घर जाने, घुम्ने, समाजमा घुलमिल हुने अवस्था थियो । मीनपचासको छुट्टीमा काठमाडौंका विद्यार्थी जाडो कम हुने ठाउँका आफन्तको घरमा जान्थे । अहिले त्यो अवस्था घट्दो छ ।
लगातार नर्सरीदेखि १० सम्म १३ वर्ष पढ्यो । ११ पढ्नुअघिको तीन महिनासमेत कोचिङ पढ्यो । एकोहोरो पढ्नुपर्छ भन्ने मान्यता नै हाम्रो शिक्षाको बाधक बन्दै छ । हाम्रो बुझाइमा ज्ञान किताबमा मात्र छ अनि स्कुल गएपछि धेरै शिक्षित होइन्छ । होइन नि, समाजमा घुलमिल नहुने हो भने, नघुम्ने, खोज अनुसन्धान नगर्ने हो भने, आफन्तकहाँ गएर नबस्ने हो भने हामी साँचो रूपमा शिक्षित हुँदैनौँ । डेनमार्क, नेदरल्यान्डलगायत मुलुकमा १० कक्षापछि एक वर्ष बिदा लिन प्रोत्साहन गरिने रहेछ । ‘नर्डिक’ मुलुकमा १० कक्षापछि एक वर्ष क्लास नै नहुने रहेछ । उक्त समयमा विद्यार्थीलाई घुम्न, सोच्न, समय दिन जरुरी छ । त्यो वेलामा प्रायः विद्यार्थी घुम्न जाने रहेछन् । नयाँ कुरा सिक्दा रहेछन् । हाम्रोमा खाली पढाइ, परीक्षा, पढाइ मात्र छ । विद्यार्थीको जीवन निरस छ । हामीले यो कुरा ध्यान राख्नुपर्छ ।
महिनामा एक दिन स्कुल नगएर भए पनि परिवार, साथीभाइसँग घुम्न जाने, फिल्म हेर्न जाने, अवलोकनका निम्ति निस्कने गर्न जरुरी छ । यो कुरामा स्कुल मात्र होइन अभिभावक पनि सचेत हुन जरुरी छ । म त बच्चाबच्चीलाई आफन्तकोमा लैजान, नयाँ–नयाँ ठाउँ घुमाउनका लागि अभिभावकले वर्षको १५ दिन छुट्टी नै लिनुपर्छ भन्छु । यसले हाम्रो सामाजिक, सांस्कृतिक पाटोलाई पनि बलियो बनाउँछ । साथै, अन्य मुलुकमा ११ कक्षा अनि १२ कक्षा पढ्दादेखि नै विद्यार्थीलाई ‘इन्टर्नसिप’ गरेर पार्टटाइम कमाउनसमेत प्रोत्साहन गरिने गरिन्छ । कामको सम्मान भएकाले ठूलो सानो काम भन्ने कुरा नै भएन । बाराक ओबामाकी छोरी वेटर बन्न तयार रहन्छिन् । हामीले पनि अब यो अभियान चलाउन जरुरी छ । यो संस्कार सुरु गर्न जरुरी छ । यसले हाम्रा विद्यार्थीलाई वास्तविक जीवन अनि संघर्षसँग जोड्नेछ ।
त्यो ४५ मिनेट
तपाईं कक्षामा कहिल्यैे निदाउनुभयो ? पढ्दापढ्दै झुप्प त पक्कै भएको होला । आज एउटा १० वर्षे बच्चा लगातार आठ पिरियड एउटै ठाउँमा बस्न बाध्य छ । प्रत्येक पिरियडमा लगातार ४५ मिनेट शिक्षकको रटान सुन्न बाध्य छन् । तपार्इंलाई के लाग्छ, एकजना विद्यार्थी कति समयसम्म एउटा विषयमा ध्यान दिन सक्छ ? विभिन्न अध्ययनले हाम्रो एकाग्र अवधि १० देखि १५ मिनेट हुने देखिएको छ । तर, हाम्रा कक्षा ४५ मिनेटदेखि ९० मिनेटसम्म हुने गर्छन् । एकाग्रता विद्यार्थीको मुड, शिक्षक, विषय, मौसम, विद्यार्थीको स्वास्थ्य यावत् कुरामा भर पर्छ । प्रायः विद्यार्थी कक्षाको सुरुमा ध्यान दिने गर्छन् अनि कक्षाको अन्तिमको केही समय ध्यान दिने गर्छन् । के हाम्रा शिक्षक यो सबै बुझेर कक्षालाई ह्यान्डल गरिरहेका छन् ? यो महत्वपूर्ण मुद्दा हो । शिक्षकले विद्यार्थीका निम्ति पढाउने हो ।
उनीहरूले कत्तिको चासो दिएका छन्, त्यो शिक्षकले बुझ्न जरुरी छ । म पढाउँदा कक्षाको सुरुमा आज के–के पढ्ने भनेर विद्यार्थीसँग मिलेर योजना बनाउँछु । सकेसम्म चित्रमार्फत बुझाउने प्रयास गर्छु । कक्षाको आधातिर पुगेपछि पाठकै प्रसंगसँग मिल्ने कथा वा जोक भन्ने गर्छु । प्रत्येकचोटि सकेसम्म विद्यार्थीसँग आँखा, शारीरिक चाल, प्रसंगमार्फत संवाद गर्छु । ‘कोइस्चन अफ द डे’ भन्दै प्रश्न सोध्दै चकलेट दिने वा कुनै रमाइलो प्रश्न सोधेर विद्यार्थीलाई पाठमा संलग्न गराउ“छु । कक्षाको त्यो ४५ मिनेटमा विद्यार्थीको मुड बुझ्ने प्रयास गर्छु । कक्षामा विद्यार्थीलाई सहभागी गराई राख्न प्रश्न, निरन्तर संवाद अनि प्रदर्शन आवश्यक रहन्छ । नत्र तपाईं जति चिच्याउनुहोस, उफ्रनुहोस् विद्यार्थीका निम्ति त्यो बोझ नै हुनेछ ।
निष्कर्ष
केही दिनअघि फिलिपिन्सले हाईस्कुल अनि स्नातक पास गर्न १० वटा बिरुवा अनिवार्य रोप्नुपर्ने कानुन ल्यायो । यसले सिकाइलाई समाजसँग जोड्छ । हाम्रो शिक्षा हाम्रो देशका लागि, समाजका लागि, परिवारका लागि अनि सबैभन्दा महत्वपूर्ण आफ्नै लागि कति उपयोगी बन्दै छ ? अब त्यसको पनि विश्लेषण आवश्यक छ । हामीले शिक्षालाई विद्यार्थीको नजरबाट हेर्न जरुरी छ । विद्यार्थीलाई मेसिनजस्तो घोटाएर मात्र तिनले सिक्ने होइन भन्ने कुरा शिक्षक अनि अभिभावकले नै बुझ्न जरुरी छ । हामीले विद्यार्थीको जीवनको अन्य पक्षलाई पनि समृद्ध बनाउनैपर्छ । महिनामा एक दिन स्कुल नपठाई अभिभावकले बच्चालाई घुम्न लैजाँदैमा केही बिग्रिँदैन । स्कुलले प्रत्येक पिरियडपछि १० मिनेट खाली राखेर विद्यार्थीलाई फ्रेस हुन दिने हो भने, नोक्सान केही हुँदैन ।
हाम्रा केही ठूला राम्रा कहलिएका कलेजले भर्नाका लागि नै ८०–८५ प्रतिशत नम्बर माग्छन् । त्यति प्रतिशत ल्याउने विद्यार्थी ५– १० प्रतिशत भन्दा धेरै हुँदैनन् । आज ९० प्रतिशत विद्यार्थी फेल हुने शिक्षा प्रणालीमा विद्यार्थी असफल हुँदैछन् वा शिक्षा प्रणाली नै असफल हुँदै छ ? मेरो चारवर्षे छोरा विद्यालय जानै मान्दैन । रुन्छ । मुख निन्याउरो पार्छ । मलाई डर छ, उसले विद्यालयलाई जेल अनि शिक्षकलाई दुस्मन नठानोस् । विद्यालय अब जीवन्त हुन जरुरी छ । विद्यार्थीका निम्ति उजाड मरुभूमिजस्तो नबनोस् । अभिभावकले पनि बच्चाबच्चीलाई विद्यालयमा हालेपछि आफ्नो कर्तव्य पूरा भएको ठान्न बन्द गर्नुपर्छ । शिक्षा दिने ठेक्का विद्यालयको मात्र होइन, जिम्मेवार अभिभावक पनि हुन जरुरी छ । आज हामीले किन पढ्दै छौँ भन्ने प्रश्नको उत्तर आफैँ किन भेटिरहेका छैनौँ ? छिमेकीले पढ्यो, अरूले पढे त्यही भएर पढे कि तपाईंको आफ्नो लक्ष्य पनि छ ? सपना पनि छ ? के त्यो सपनालाई तपाईंले पढ्दै गरेको शिक्षाले मद्दत गरेको छ ? सबै मिलेर एकचोटि फेरि सोचौँ ।
शिक्षाविद् सर केन रबिन्सनले दिने गरेकै उदाहरणसहित बिट मार्छु । एक दिन गोधुली साँझमा, एकजना मान्छे दुई वर्षको बच्चा बोकेर कुकुर डो-याउँदै बगैँचामा गएछ । पूर्णिमाको दिन चन्द्रमा उदाइसकेकी थिइन् । ती मान्छेले औँलाले चन्द्रमा देखाएर हेर्न भनेछन् । बच्चाले माथि चन्द्रमा हेरेछ, कुकुरले त्यो मान्छेको हात । हरेक बच्चा जन्मँदै त्यो कल्पनाशीलता लिएर जन्मिन्छन् । आज किन हाम्रा विद्यार्थी चन्द्रमा छाडेर शिक्षकको हात हेर्दै छन् ? त्यो सिर्जनशीलता अनि कल्पनशीलता किन गुम्दै छ ? नया पत्रिकाबाट

प्रतिक्रिया दिनुहोस