२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

स्वास्थ्य क्षेत्रमा ९० करोड खर्च गरिदै, एक विद्यालय एक नर्स बनाईने

  • २०७५ श्रावण १७, बिहिबार मा प्रकाशित ५ साल अघि
  • खबरज्योति,
    १७ साउन २०७५, सिन्धुपाल्चोक ।

    ३ नं. प्रदेश सरकारले गुणस्तरीय स्वास्थ्य सेवालाई सुद्रिढ बनाउन यो आर्थिक वर्षमा ९० करोड खर्च गर्ने भएको छ ।

    सामाजिक विकास मन्त्रालयले आ.व.२०७५/०७६ को विनियोजन विधेयकले यो रकम स्वास्थ्य क्षेत्रमा खर्च गर्ने जनाएको हो । मन्त्रालयले विद्यालयमा स्वास्थ्य सेवाको पहुँच वृद्धी गरी बालबालिकाको स्वास्थ्य प्रवर्धन र सुधार गर्न एक विद्यालय एक नर्सको कार्यक्रम अघि सारेको छ । कार्यक्रम सञ्चालन कार्यविधिमा तोकिए बमोजिम २० नमुना सरकारी विद्यालयमा यो कार्यक्रम सञ्चलानका लागि एक करोड व्यबस्था गरेको सामाजिक विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले जानकारी दिए ।

    ‘गुणस्तरीय स्वास्थ्य सेवामा समान पहुँचको लक्ष्य हाँसिल गर्न विभिन्न कार्यक्रमहरु ल्याएका छौं’, मन्त्री दुलाले भने– ‘कार्यक्रम र बजेटले प्रदेशका नागरिकमा निःशुल्क आधारभूत स्वास्थ्य सेवाको प्रत्याभुति गर्ने कुराको सुनिश्चितता गर्दछ ।’ प्रदेश भित्रका सबै नागरिकले स्वास्थ्य सेवा सरल रुपमा प्रयोग गर्न सक्ने नीति लिईएको उनले दावी गरे ।

    मन्त्रालयले ग्रामीण तथा शहरी क्षेत्रमा काम गर्ने महिला स्वास्थ्य स्वयम्सेविकाहरूलाई प्रोत्साहन गर्ने जनाएको छ । मन्त्रालयले स्वास्थ्य स्वयम्सेविकाहरूलाई सञ्चार खर्च सहयोग कार्यक्रमका लागि दुई करोड चालिस लाख विनियोजन गरेको छ । त्यस्तै राजमार्ग क्षेत्रमा हुने दुर्घटनाका घाईतेको शिघ्र उपचारका लागि दुर्घटना रेस्पोन्स सेन्टर स्थापना गर्न सम्भाव्यता अध्ययनका लागि दश लाख र स्वास्थ्यकर्मीहरूको ट्रमा केयर तालिमका लागि पच्चीस लाख विनियोजन गरेको जनाएको छ ।

    मन्त्रालयले अस्पताल सुदृढीकरणका लागि अनुदान दिन ६ करोड बजेट छुट्याएको छ । स्वास्थ्य चौकीको पूवार्धार निर्माणको लागि १८ करोड, स्थानीय तहमा १५ सैयासम्मको अस्पताल सञ्चालन ९ करोड, शहरी स्वास्थ्य केन्द्र तथा गाँउपालिकाका वडाहरूमा सामुदायिक स्वास्थ्य केन्द्र निर्माणको लागि ८ करोड, निःशुल्क औषधी तथा औजार उपकरण खरिदको लागि ७ करोड २७ लाख रुपैंया बजेट विनियोजन गरेको छ ।

    त्यस्तै मूख्यमन्त्री जनता स्वास्थ्य परिक्षण कार्यक्रमका लागि ३ करोड, प्रसुती केन्द्र नभएका पालिकाहरुमा केन्द्र स्थापना गर्नको लागि १ करोड, सरल र सहजरूपमा सेवा प्रदान गर्न स्थानीय तहका सवै स्वास्थ्य संस्थाहरूलाई एक लाखका दरले ७ करोड बत्तिस लाख र उद्योग, कल कारखानामा काम गर्ने मजदुर तथा कर्मचारीको स्वास्थ्य प्रवद्र्धन गर्ने एक करोड रुपैंया मन्त्रालयले विनियोजन गरेको छ । पोषण अवस्थामा सुधार ल्याउन १ करोड, बालबालिकाको पोषण स्थिती सुधार गर्न आमा समूहलाई साना अनुदान कार्यक्रमका लागि २ करोड, सीप र दक्षतामूलक तालिम कार्यक्रमका लागि १ करोड ५५ लाख रुपैंया विनियोजन गरिएको छ ।

    आयूर्वेद र बैकल्पिक चिकित्सा सेवाको विस्तारमा समेत प्रदेश सरकारले जोड दिएको छ । यसको लागि अध्ययन अनुसन्धान गर्न ७ करोड, घुम्ती स्वास्थ्य बस सेवाको लागि १ करोड १३ लाख र विमा सुदृढीकरणको लागि पचास लाख रुपैंया बजेट विनियोजन गरिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस