२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

एमाले उम्मेदवार तामाङको गाउँमा नेकपा उम्मेदवार दुलालको भव्य स्वागत, मतदाता भन्छन्- अब काम गर्नेलाई जिताइन्छ

  • २०८२ फागुन १५, शुक्रबार मा प्रकाशित ६ दिन अघि
  • चाैतारा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार युवराज दुलाललाई एमालेका तर्फबाट उम्मेदवारी दिएका शेरबहादुर तामाङको गाउँमा मतदाताले भव्य स्वागत गरेका छन्।
    घरदैलो कार्यक्रमका क्रममा मेलम्ची नगरपालिका–११ कटुन्चे (एमाले उम्मेदवार तामाङको गाउँ) पुगेका दुलाललाई स्थानीयले उत्साहका साथ स्वागत गरेका हुन्।

    मतदाताहरूले भने, “हाम्रो गाउँका मान्छेलाई पटक–पटक जितायौँ, तर उहाँले गफ मात्रै गरेर धेरै कार्यकाल बिताउनुभयो, काम गर्नुभएन। अब हामी गफ गर्नेलाई होइन, काम गर्नेलाई जिताउँछौँ।”

    नेकपा उम्मेदवार दुलाल बागमती प्रदेश सरकारका मन्त्री हुँदा विनियोजन गरेको बजेटबाट निर्माण भएको कटुन्चे बहुसांस्कृतिक भवन देखाउँदै स्थानीय चन्द्रसिं तामाङले भने, “यस ठाउँको जनप्रतिनिधि नहुँदा पनि यत्रो भवन बनाइदिनुभयो। अब उहाँलाई जिताएर थप विकास गराउनुछ र अधुरा योजनाहरू पूरा गर्न लगाउनुछ।”

    देशभर चुनावी माहोल तातिँदै जाँदा सिन्धुपाल्चोक प्रतिनिधिसभा–२ मा बलियो सांगठनिक आधार रहेको एमाले पटक–पटक निर्वाचित भए पनि जनभावनाअनुसार काम गर्न नसक्ने उम्मेदवारका कारण रक्षात्मक बन्दै गएको मतदाताको भनाइ छ।

    २०६४ सालको संविधानसभा निर्वाचनका क्रममा मेलम्ची–कटुन्चे मोटरबाटो पिच गर्ने प्रतिबद्धता जनाएका तामाङले त्यसपछि दुई पटक निर्वाचन जितेर मन्त्री हुँदा समेत आफ्नै गाउँ जाने सडक स्तरोन्नति गर्न पहल नगरेको आरोप लागेको छ।

    एकातिर आफ्नै गाउँको सडक पिच गर्न नसकेको आरोप लागिरहँदा नेकपा उम्मेदवार दुलाल भने आफूले विगतमा सम्पन्न तथा सुरु गरेका दर्जनौँ योजनाको विवरणसहित घरदैलो अभियानमा सक्रिय देखिएका छन्।

    कांग्रेसको तुलनामा सांगठनिक आधार कमजोर मानिए पनि नेकपा विगतका कामका आधारमा बलियो उम्मेदवार मैदानमा उतारेर जित निकाल्ने रणनीतिमा रहेको बताइन्छ। दुलालको विकासवादी दृष्टिकोण र अघिल्लो कार्यकालका कामका कारण निर्वाचनमा उनी अन्य दलका उम्मेदवारभन्दा सहज अवस्थामा रहेको आकलन गरिएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस