२०८२ फागुन २१, बिहिबार | Thu, 05, Mar, 2026

चाडपर्व र जाडोका लागि ल्याइएकाे सामग्री अझै चिनियाँ क्षेत्रमै अड्किए

  • २०८२ कार्तिक २, आईतबार मा प्रकाशित ४ महिना अघि
  • चाैतारा । दसैँ, तिहार र जाडो मौसमका लागि चीनबाट ल्याइँदै गरेका उपभोग्य सामग्रीहरूको करिब ७५ प्रतिशत अहिले पनि चिनियाँ क्षेत्रमा रोकिएका छन्। नेपाल–चीन सीमाक्षेत्रमा भौगोलिक जटिलता र प्राकृतिक विपतका कारण सामग्री ढुवानी अवरुद्ध भएको हो।

    नेपाल हिमालय सीमापार वाणिज्य संघका कार्यकारिणी सदस्य तथा स्याउ व्यापारी शारदाप्रसाद पराजुलीका अनुसार तीन सय कन्टेनर फलफूलमध्ये जम्मा ३० कन्टेनर मात्रै नेपाल भित्रिएका छन्। बाँकी फलफूल चिनियाँ क्षेत्रमै कुहिँदा करिब १० प्रतिशत नष्ट गरिएको छ। खासाबाट गाडी कम छुटेका कारण विशेषगरी आँपजस्ता नाशवान वस्तुहरू बिग्रिएको उनले बताए।

    दसैँका लागि ल्याइएका कपडा, जुत्ता–चप्पल, तिहारमा प्रयोग हुने इलेक्ट्रोनिक्स र जाडोका लागि खरिद गरिएका जाकेट, कम्बल, ब्ल्याङ्केटलगायत सामान बोकेका करिब एक हजार कन्टेनर अहिले पनि चीनतर्फ अड्किएका छन्। रसुवा र तातोपानी नाकाको भौगोलिक कठिनाइ र भन्सार प्रक्रियामा ढिलाइ प्रमुख अवरोध बनेको छ।

    रसुवा नाका २४ असारदेखि बन्द छ भने तातोपानी नाका पनि साउनको पहिलो सातादेखि पहिरोका कारण करिब दुई महिना अवरुद्ध रह्यो। अहिले केही कन्टेनर मात्र पहिरो पन्छाउँदै राजधानी आइपुगेका छन्। कोदारी सडक सञ्चालनमा रहे पनि जीर्ण अवस्थाका कारण सवारीसाधनको नियमित आवागमन हुन सकेको छैन। हालै फेरि डाक्लाङ क्षेत्रमा पहिरो गएपछि यातायात अस्थायी रूपमा रोकिएको तातोपानी भन्सारका सूचना अधिकारी रमेशबहादुर शाहले जानकारी दिए।

    उनका अनुसार चाडबाड लक्षित सामग्री छिटो भित्र्याउन चिनियाँ पक्षसँग सहमति भएपछि दैनिक करिब २० कन्टेनर नेपाल आउन थालेका छन्। खासा, न्यालम, मिम्बु, सिँगात्से र ल्हासा क्षेत्रमा रहेका ट्रान्सपोर्ट गोदामहरू सामानले भरिएपछि नयाँ कन्टेनर राख्ने ठाउँ पनि अभावमा परेको छ।

    यता, अक्टोबर १ देखि चीनले नेपाल निर्यात हुने सामग्रीमा दुई प्रतिशत कर थपेपछि ढुवानी कम्पनीहरू दुविधामा परेका छन्। व्यापारी र ट्रान्सपोर्ट कम्पनीबीच करको भार कोले बेहोर्ने भन्नेबारे सहमति नबनेको आडो ट्रान्सपोर्ट कम्पनीले जनाएको छ। कम्पनीका अनुसार चिनियाँ कस्टमले मौखिक रूपमा दुई प्रतिशत भने पनि कागजी दस्तावेजमा २५ प्रतिशत कर उल्लेख गरेकाले समस्या झन् जटिल बनेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस