२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

माओवादी केन्द्रकाे जिल्ला कमिटी भंग, सचिवमा ५ काे भिडन्त 

  • २०८२ श्रावण १७, शनिबार मा प्रकाशित ७ महिना अघि
  • चौतारा । नेकपा (माओवादी केन्द्र) सिन्धुपाल्चोक जिल्ला कमिटी भंग गरिएको छ। पार्टीको संशोधित विधानअनुसार देशभरका ७७ वटै जिल्ला कमिटीहरू भंग गर्दै नयाँ संरचनामा जाने प्रक्रिया सुरु भएको हो।

    सिन्धुपाल्चोक माओवादीले साउन २६ गते चौतारामा जिल्ला भेला गर्ने तयारी गरेको छ। उक्त भेला सम्पन्न गर्न गाेविन्द पराजुलीकाे संयोजकत्वमा १०७ सदस्यीय भेला आयोजक समिति गठन गरिएको छ।

    संयोजक पराजुलीका अनुसार समितिमा पार्टीका चार सांसद, माओवादीले जितेका चार स्थानीय तहका प्रमुखहरू, बागमती प्रदेश कमिटीमा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गर्ने ३९ जना सदस्यहरू, साथै जिल्लाका प्रत्येक स्थानीय तहबाट ५ जना (अध्यक्ष १, उपाध्यक्ष ३, सचिव १) गरि प्रतिनिधित्व हुनेछन्।

    नयाँ विधानले जनवर्गीय संगठनका प्रमुखहरू तथा केन्द्रीय सदस्यहरूलाई भेलामा सहभागी गराउने विषयमा भने स्पष्ट निर्देश नदिएको संयोजक पराजुलीले बताए।

    साउन २६ गते हुने भेलाबाट एक जना जिल्ला संयोजक, एक जना सचिव तथा बाँकी सदस्यहरू चयन गरी नयाँ सक्रिय कमिटी निर्माण गरिनेछ।

    बागमती प्रदेश कमिटीले हालका संयोजक गाेविन्द पराजुलीलाई नै निरन्तरता दिने निर्णय गरिसकेको छ। अब सचिव पदका लागि भने पाँच जना आकांक्षीबीच प्रतिस्पर्धा देखिएको छ।

    सचिव पदका दावेदारहरूमा प्रदेश कमिटी सदस्य टिएन सापकोटा, उजीरसिं तामाङ, लिसंखुपाखर गाउँपालिकाका अध्यक्ष राजु लामा, बलेफी गाउँपालिकाका अध्यक्ष गंगाबहादुर तामाङ र अम्बिका नेपाल रहेका छन्।

    पार्टीको जिल्ला कार्यालय टिमले भेला हुनुअघि नै सचिव चयन गर्ने प्रयास गरे पनि इच्छुक व्यक्तिहरूबीच सहमति नजुट्दा यो प्रयास सफल हुन सकेको छैन।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १३%१७%३%२%२%३%

    प्रतिक्रिया दिनुहोस