२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ ओझेलमा

  • २०८२ अषाढ २९, आईतबार मा प्रकाशित ७ महिना अघि
  • सिन्धुपाल्चोक । प्रदेश र सङ्घीय सरकारले मेलम्ची नगरपालिका वडा ९ स्थित प्रथम जलवायु सम्मेलन स्थल ‘गुफाडाँडा’ मा पूर्वाधारका लागि उचित बजेट विनियोजन नगर्दा ओझेलमा परेको छ ।

    पर्यटकीय गन्तव्यका रुपमा विकसित हुँदै गएको सो स्थानमा जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि जनचेतना जगाउने ध्येयले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ भन्ने नाराका साथ पत्रकार पदयात्रा–२ आयोजना गरिएको छ ।

    सम्पादक समाज नेपालद्वारा मेलम्ची नगरपालिकाको आतिथ्यमा मेलम्ची –९ स्थित गुफाडाँडामा शनिबार आयोजित सो कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा आवद्ध सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

    कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले गुफाडाँडाको पर्यटकीय सम्भावनालाई प्रदेश र सङ्घ सरकारले उचित ध्यान दिन नसकेको गुनासो गरे ।

    “मुख्यमन्त्रीदेखि मन्त्रीहरूसम्म यहाँ आएर जनताको माझमा गरेका प्रतिबद्धताहरू अझै पूरा भएका छैनन् । यसले देखाउँछ कि प्रदेश सरकारले जनतालाई झुटा आश्वासनमात्र दिएको हो”, उनले भने ।

    उनले गुफाडाँडालाई प्राकृतिक सुन्दरता, धार्मिक तथा सांस्कृतिक महत्त्वले भरिपूर्ण पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावनालाई औँल्याउँदै राज्यको चासो र लगानीको खाँचो रहेको बताए ।

    मेलम्ची –९ वडाध्यक्ष किरणदीप खड्काले गुफाडाँडाको महत्त्व र हालसम्म भए गरेका कामका बारेमा जानकारी गराए । उनले तीन तहका सरकारमध्ये स्थानीय तहले मात्र चासो दिँदा पर्यटकीय सङ्ख्यामा उल्लेख्य वृद्धि नभएको र अझै थुप्रै संरचना बनाउन आवश्यक रहेको बताए।

    सम्पादक समाज नेपालका सस्थापक अध्यक्ष किरण वैद्य र महासचिव श्याम डोटेलले ‘वातावरण संरक्षणमा सञ्चारकर्मीको योगदान’ विषयक अन्तरक्रियाले यस भेगको समस्या र चिन्तालाई बाहिर ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए ।

    पत्रकार महासङ्घ सिन्धुपाल्चोकका अध्यक्ष ध्रुव दङ्गालले तीन तहका सरकारबीच सहकार्य र समन्वय नहुँदा कतिपय काम ओझेलमा पर्ने गरेको बताउँदै त्यसको उदाहरणका रूपमा गुफाडाँडालाई लिन सकिने बताए ।

    कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले वातावरणीय सङ्कट र जलवायु परिवर्तनका असरबारे जनचेतना फैलाउने कार्यमा सञ्चारको भूमिकालाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए । साथै, जलवायु परिवर्तनविरुद्ध जुध्न स्थानीय, प्रदेश र सङ्घ सरकारबीच समन्वयात्मक नीति र दीर्घकालीन योजना आवश्यक रहेको धारणा व्यक्त गरिएको थियो ।

    कार्यक्रम क्यौलेठाना आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्णबहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको थियो । गुफाडाँडा क्षेत्रलाई राष्ट्रिय जलवायु सम्मेलनस्थलका रूपमा विकास गर्न सकिने सम्भावना रहेको जनाउँदै सहभागीहरूले आवश्यक पूर्वाधार र बजेट सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

    कार्यान्वयनमा आएन घोषणापत्र

    विसं २०७७ मा तत्कालीन जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको आयोजनामा देशभरका ७७ वटै जिल्लाको सहभागितामा प्रथम जलवायु सम्मेलन कार्यक्रम आयोजना गरिएको थियो ।

    यसका लागि तत्कालीन जिल्ला समन्वय प्रमुख कृष्णगोपाल तामाङले समन्वय गर्नुभएको थियो । जलवायु सम्मेलनदेखि नै गुफाडाँडाको चर्चा परिचर्चा हुन थालेको हो । जलवायुसम्बन्धी १० बुँदे घोषणापत्रसमेत जारी गरिएको थियो ।

    काठमाडौँबाट ५४ किलोमिटरमा रहेको गुफाडाँडामा सोही बखत वातावरण र पृथ्वीलाई जोखाउनुपर्छ भन्ने सन्देश दिने खालको मानिसले पृथ्वी बोकेको प्रतिमा राखिएको छ ।

    प्रतिमासम्म पुग्नका लागि सिँढी र सिँढी दायाबायामा ७७ जिल्लाको नाम र नेपालको झण्डा निर्माण गरिएको छ । सोपश्चात भ्यूटावर र अन्य पूर्वाधारको कामको थालनी भएको छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस