मेलम्ची । समाजवादी मोडेलअनुसार नीति तथा कार्यक्रम ल्याउनुपर्ने माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेलम्ची नगर समितिले मेलम्ची नगरपालिकालाई १० बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।
आर्थिक वर्ष २०८२/८३ का लागि मेलम्ची नगरपालिकाले ल्याउने बजेटमा समाजवादी योजना तथा कार्यक्रम समेटिनुपर्ने माग राख्दै माओवादी केन्द्र मेलम्ची नगर अध्यक्ष सी.पी. दुलालको नेतृत्वमा आइतबार नगर प्रमुख आइतमान तामाङलाई उक्त ज्ञापनपत्र बुझाइएको हो।
ज्ञापनपत्रमा नगरभित्रका खेतियोग्य जमिनमा सिंचाइको लागि पर्याप्त बजेट विनियोजन गर्नुपर्ने, “एक वडा एक खेलमैदान” कार्यक्रम सञ्चालन गर्नुपर्ने, तरकारी बीउ-बिजन भण्डारणका लागि कोल्ड स्टोरेज निर्माण गर्नुपर्ने मागहरू उल्लेख छन्।
त्यसैगरी, नगरभित्रका विद्यालयमा ३ देखि ५ वर्षे अवधिका लागि प्रतिस्पर्धात्मक प्रक्रियाबाट प्रधानाध्यापक नियुक्त गर्नुपर्ने, काठेपोलमुक्त नगरपालिका घोषणा गर्नुपर्ने, नगर सडक गुरुयोजना निर्माण गर्नुपर्ने, स्वास्थ्य चौकीहरूमा आवश्यक औषधि तथा उपकरणको व्यवस्था गर्नुपर्ने, र पर्यटन सूचना केन्द्र स्थापना गर्नुपर्ने लगायतका मागहरू पनि ज्ञापनपत्रमा समावेश छन्।
ज्ञापनपत्र ग्रहण गर्दै नगरप्रमुख आइतमान तामाङले सार्वजनिक सरोकारका विषय उठाइएकाले तिनीहरूलाई गम्भीर रूपमा लिएर बजेट तथा योजनामा समेटिने जानकारी दिए। उनले नगरको समग्र विकासका लागि सबै राजनीतिक दल र सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए।
सिन्धुपाल्चोकका १२ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ५, माओवादी केन्द्रले ४ र एमालेले ३ स्थानमा नेतृत्व गरिरहेका छन्। तर, माओवादीले नेतृत्व गरेका स्थानीय तहहरूमा पनि समाजवादी मोडेलबारे स्पष्ट र प्रभावकारी कार्यक्रमहरू अझै देखिएको छैन।





प्रतिक्रिया दिनुहोस