२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

लयमा फर्किदै तातोपानी नाका, राजस्व संकलनमा वृद्धि

  • २०७८ बैशाख ३१, शुक्रबार मा प्रकाशित ४ साल अघि
  • बैशाख ३१, २०७८

    चाैतारा : कोरोना संक्रमण फैलिन नदिन ‘आइसोलेट एरिया’ सहित सञ्चालन भइरहेको उत्तरी तातोपानी नाकाबाट नौ महिनामा ७७ करोड राजस्व संकलन भएको छ ।

    चीन र नेपाल सीमाको तातोपानी नाकाबाट नयाँ मोडालिटीअनुरूप स्वास्थ्य प्रोटोकल अपनाएर टेलर कन्टेनर प्रयोगमा ल्याइएको छ ।

    दिनहुँ आठवटा कन्टेनरबाट युरिया मल, स्याउ र हाइड्रोपावरका उपकरणलगायत सामग्री भित्रिइरहेको तातोपानी सुक्खा बन्दरगाह तथा भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।

    ‘गत साउनदेखि वैशाखसम्म ७७ करोड राजस्व संकलन गरिएको छ, कोभिडबीच कडा सतर्कता अपनाएर कन्टेनर भित्र्याइँदै छ,’ उनले भने ।

    भोटेकोसी गाउँपालिका–२ तातोपानी लिपिङ क्षेत्रको पुरानो भन्सार कार्यालयदेखि मितेरी पुलसम्म आइसोलेट क्षेत्रमा ‘टेलर’ कन्टेनर प्रयोगमा ल्याइएको छ ।

    यसअघि ७ जना कामदारमा कोरोना पोजिटिभ देखिएपछि तातोपानी नाका तीन महिना बन्द भएको थियो । त्यसलगत्तै सावधानी अपनाउन नयाँ प्रयोग गर्दै सिल्क ट्रान्सपोर्ट कम्पनीका ५ वटा ‘ट्रेलर’ कन्टेनरबाट सामग्री भित्र्याउन सुरु गरिएको हो ।

    आर्थिक वर्ष २०७६/७७ मा एक अर्ब ५९ करोड राजस्व संकलन भएको थियो । त्यसबेला दिनहुँ ५० कन्टेनर भित्रिने गरेका थिए । २०७६ पुसमा चीन क्षेत्रमा कार्यरत केही कामदारमा कोरोना देखियो । २०७७ असारमै तातोपानीमै लोडरको काम गर्नेमा संक्रमण पुष्टि भएपछि नाका पूरै ठप्प बनेकाे थियोे।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस