२०८१ बैशाख २९, शनिबार | Sat, 11, May, 2024

लुटिएको स्वतन्त्रता !

  • २०७७ आश्विन २५, आईतबार मा प्रकाशित ३ साल अघि
  • आभा निरु
    असोज २५, २०७७

    म भित्र के देख्यौ तिमीले
    कलिलो जोवन देख्यौ
    वा फक्रदो यौवन
    यो प्रकृतिले दिएको हो कि
    तिम्रो चाहनाको उपज !
    के सम्झेर लुट्यौ मेरो जीवन ?

    के खास जिन्दगी यहि हो ?
    अरुको प्यास मेटाउँदै
    मेरो नै गला रेटिनु पर्ने,
    अनि अङ्ग भङ्ग हुनुपर्ने,
    ए आमा ! भनन के दोष मेरो ?
    फरक रङ्ग फरक अङ्ग हुँदा
    म लुटिनु पर्ने,
    अकालमा मारिनु पर्ने,
    कहिले सम्म आमा ?

    देउताले किन देखेन मेरो चित्कार ?
    अनि किन सुनेन मेरो हार गुहार ?
    मन्दिर भित्रै अस्मिता लुटियो,
    भगवानकै सामु जीवन मेटियो,
    कोपिलामै समाप्त पारियो !

    सहन बाध्य पारियो घातहरु,
    सल्बलाई रहे निर्मम हातहरु ।
    जसरी मेटियो मेरो अस्मिता
    सँगसँगै जीवन लीला !

    किन रेटिन्न आमा नरपशुका गलाहरु ?
    किन अन्धा भए कानूनका ती धाराहरु ?
    किन सधैं मौन छ मेरो सरकार ?
    कहिले हुन्छ स्वतन्त्र जिउँने अधिकार ?

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस