२०८१ जेष्ठ १०, बिहिबार | Thu, 23, May, 2024

ह्यापी टिचर डे गुरुदेव !

  • २०७७ अषाढ २१, आईतबार मा प्रकाशित ३ साल अघि
  • असार २१, २०७७
    जीवन श्रेष्ठ
    गुरुदेव
    सम्झनाहरु किन सास्ति भएर दुख्छ ?
    जब ती भूराभूरीहरु
    सम्मानमा तिमीलाई
    एक थुँगा खुशी फर्काँउँदै
    ह्यापी टिचर डे भनेर विस गर्छन्
    हो गुरुदेव
    म त यतिखेर ती ठेलाहरु सम्झिरहेको छु हातभरिका
    म त यतिखेर ती नीलडामहरु छामिरहेछु ढाडभरिका
    नसम्झिउ भन्दाभन्दै पनि उकुसमुकुस भएर यादहरुको उल्कापात खस्छ गुरुदेव
    मस्तिष्कको भूँइभरि भरि
    त्यो राताम्मे मेरो कान
    उठ्बस गर्दागर्दै
    लत्रक्क थाकेका गोडा
    खै कसरी भूल्न सक्छु र गुरुदेव
    अतीतको त्यो कहालि लाग्दो गौडा ?
    लाग्नु त लाग्यो गुरुदेव
    धेरै ट्याग लाग्यो
    मेरो सग्लो नामको सपाट पानामा
    कहिले गोरुको ट्याग
    कहिले गधाको ट्याग
    कहिले ठग, अल्छी ब्रजस्वाँठको ट्याग
    गुरुदेब
    आज पनि म त्यही ट्यागको व्याग बोकेर
    हिडिरहेछु हिडिरहेछु ।
    मेरो सानो मगजमा अट्न सकेन गुरुदेव
    तिमीले घोक्न दिएका सुत्रहरु
    सम्झनाको सतिसाल भएर उठ्न सकेन
    तिमीले पढाएका पाठका चित्रहरु
    त्यसैले त मैले विर्से गुरुदेव
    सदाका लागि
    त्यो देवालय
    त्यो शिक्षालय
    त्यो गुरुकूल
    त्यो विद्यालय ।
    मेरो मगजलाई कहिले पढेनौ गुरुदेव
    मेरो मनको पानालाई कहिल्यै पल्टाएनौ
    फगत तरबार जस्तो लाग्ने लौरोले पढाइरह्यौं
    मेरो मनभरि
    मेरो तनभरि
    हो गुरुदेव
    जब मैले विर्सेथे
    प्रश्नका उत्तरहरु
    त्यसपछि सम्झेथे
    तरबार जस्तो लाग्ने त्यो लौरो
    र त मैले विर्सेथे
    सदा, सदाका लागि
    त्यो देवालय
    त्यो शिक्षालय
    त्यो गुरुकूल
    त्यो विद्यालय
    त्यो विर्साइको विरासत
    विदीर्ण, विकलाङ बर्तमान
    बर्बराहट भएर बाँच्ने गर्छ सँगैसँगै यतिखेर
    सिष्टमको साङलोभित्र बसेर मेरै भविष्यका लागि दिएको
    सिप्किनो शिक्षा
    र यखिेर चेतको चंगा भएर उडेको पनि देख्छु
    हो, गुरुदेव अचेल
    मेरो मनको आकाशभरि ।
    गुरुर्ब्रम्हा, गुरुर्विष्णु, गुरुदेवो महेश्वर
    गुरुः साक्षात् परब्रम्हः तस्मै श्रीगुरवे नमः
    आह । आज गुरुपूर्णिमा
    ह्यापी टिचर डे गुरुदेव !
    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस