२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

बेलिब्रिज निर्माणमा लापर्बाही

Thumbnail
  • २०७४ पौष ८, शनिबार मा प्रकाशित ८ साल अघि
  • खबरज्योति
    ८ पौष २०७४, सिन्धुपाल्चोक ।

    तातोपानी नाका जोड्ने लार्चास्थित बेलिब्रिज निर्माणमा लापर्बाही भएको पाइएको छ । भदौदेखि पुल निर्माण सुरु गरिएको हो । तर, आजसम्म आधा काम पनि पूरा भएको छैन ।

    पुलको दुबैतिरको फाउण्डेशनको काम आधा भयो । बेलिब्रिज राख्ने फाउण्डेशनको जगमा ढुंगाको कमजोर गारो लगाएकोले लार्चाका स्थानीयले निर्माण प्रक्रियाको बिरोध गरेका छन् । फाउण्डेशन वालमा मापदण्डअनुसार सीमेण्ट र ढुंगा मिलाइएको छैन ।
    बेलिब्रिज जोड्ने दुबैतिरको गारो ढुंगाको चाङ लगाएर निर्माण भएको भेटिएपछि स्थानीयले पुल निर्माणमा लापर्बाही भएको बताएका हुन् । सडक डिभिजन कार्यालयका इन्जिनियरले निर्माण कार्यमा राम्ररी ध्यान दिएका छैनन् । इन्जिनियर र निर्माण कम्पनीका ठेकेदार पुल निर्माणस्थलको अवस्था बुझ्न जाँदैनन् ।

    बेलिब्रिजको बिम राखिने वाल स्ट्रक्चर निकै कमजोर छ । प्लम कंक्रिट गारोमा मापदण्डविपरीत ठूल्ठूला ढुंगा एकापसमा जोडेर जग उठाएकोले पुलको बिम राख्ने भाग नै कमजोर बन्ने सम्भावना छ । गारोमा आवश्यक सीमेन्ट र गिट्टी मिलाएर ढुंगाको लेयर नछोपेकोले जगको गारो कमजोर हुने अवस्था आएको हो ।

    तत्काल नाका खुल्ने सम्भावना छैन । यद्यपि खुलिहाले पनि यस्तो कमजोर पुलले ठूला गाडीको भार थाम्न सक्दैन । बेलिब्रिज निर्माणमा ढिलाई भएपछि भोटेकोसी हाइड्रोपावर कम्पनीले हिमपाइप प्रयोग गरेर अस्थायीरुपमा गाडी वारपार गर्ने व्यवस्था गरेको छ । संरचना निर्माणका इन्जिनियर वीनोद पन्तले लापर्बाहीभन्दा पनि समयमै काम नसकिएको बताए । ‘ब्रिज एसेम्बल गर्ने जिम्मेवारी सडक डिभिजनको हो,’ उनले भने, ‘बन्दन भगवती निर्माण कम्पनीले ब्रिज राख्ने संरचनामात्रै बनाउने हो ।’

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस