२०८३ जेष्ठ २४, आईतबार | Sun, 07, Jun, 2026

अमित घिमिरेको कविता : हाम्रो प्रेम

  • २०७८ कार्तिक ६, शनिबार मा प्रकाशित ४ साल अघि
  • कात्तिक ६, २०७८

    करोडौं मान्छेहरुको हूलबाट
    खै कसोरी हामी एकअर्कामा ठोक्कियौं
    मोहित भयौं
    र हाम्रो मोह भंग भयो ।
    मद्वारा गरिएको अवैध प्रेम
    क्षणभंगुर भयो
    तर प्रेम थियो


    एक पृथक प्रेम
    जहाँ थोरै दिन हामी डुब्यौं
    नभेटिइकन -कयौं पटक भेट्यौ
    नदेखिइकन -आमनेसामने भयौ
    भावनाको सेतु थियो
    जस्तै सपना
    अनि हामी टाढियौं
    अचेल बोल्दैनौं

    खै कसोरी र किन
    हामी एक मोडमा भेटियौं
    मोहित भयौं
    र छिट्टै ओझल पनि भयौं ।
    मैले बुझिन वा उनले
    वा हामी दुवैले
    तर एक पीडामात्र दियौं
    एकअर्काले एकअर्कालाई
    मैले केही थोपा बढी आँसु झारिदिए उनको,
    अनाहाकैमा
    शान्त तलाउ झै शान्त
    उनको जीवनमा पनि र मेरोमा पनि

    एक तरङ्ग लहरायो
    खै त्यो दहमा कसले पत्थर फ्याक्यो ?

    को ? मन्दिरमा सजिन सक्यो ?
    अपितु
    धेरै मान्छेहरुको हूलबाट
    खै कसोरी हामी नजिकियौं
    सामिप्य महसुश गर्यौं
    र हाम्रो सामिप्यता लामो दूरी बन्यो ।
    मलाई लाग्छ
    यति बेला हामी
    हरपल ‘विर्से मैले भुले’ भन्दै
    क्रमशः पलपल सम्झिरहेका छौं
    आफै आफैमा दुईवटा स्वरुप बोकेर
    रेलका दुई लीकझै दगुरी रहेका छौं
    छायाँझै पछ्याईरहने यादहरु
    अध्याँरोमा साथ छोडेको अभिनय गरेर
    उज्यालोमा पछ्याइरहेछ

    भीड-भीडहरुबाट
    करोडौं मान्छेहरुको हूलबाट
    खै कसोरी हामी एकअर्कामा ठोक्कियौं
    मोहित भयौं
    र हाम्रो मोह भंग भयो ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस