२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

छोराछोरीको नागरिकता बन्यो, तर ८२ वर्षीया वृद्धा अझै बनेन

  • २०७९ भाद्र २, बिहिबार मा प्रकाशित १ साल अघि
  • भदौ २, २०७९

    चाैतारा । सिन्धुपाल्चोकको चौतारा–साँगाचोकगढी– १० खत्रीथोकमा बस्दै आएकी राम्रोसँग बोल्न नजान्ने लालकुमारी श्रेष्ठ ८२ वर्षकी भइन् । सहाराविहीन यी वृद्धाले आजसम्म नेपाली नागरिकता पाएकी छैनन् । देशमा गणतन्त्र आएको वर्षौँ बितिसक्यो, तर लालकुमारीले राज्यबाट आजसम्म कुनै सेवासुविधा पाउन सकिनन् ।

    नागरिकता नहुँदा सामाजिक सुरक्षाभत्ता, भूकम्पको राहत र गाउँमा आउने कुनै पनि सहायता यिनले पाइनन् । सकिनसकी मेलापात र ज्याला–मजदुरी गरेर ज्यान पालिरहेकी यी वृद्धा आमाको दिनचर्या खेतबारीको काममै बित्छ।

    एउटा सानो छाप्रोमा बस्दै आएकी यी वृद्धाको जीवनकहानी दुःखदायी छ । यिनको जन्म सुनकोसी गाउँपालिका– ७ बाल्का गाउँमा भएको हो । पाँच वर्षको बाल्यावस्थामा बुबा लालबहादुर र आमा (नाम थाहा नभएको) को मृत्यु भयो । यी वृद्धाआमाबाहेक माइतीतर्फ कुनै पनि सन्तान हाल जीवित छैनन् ।

    घरपरिवार सबैको मृत्यु भएकोले सानैमा श्रेष्ठलाई बाह्रबिसेमाथि सानोपलाती गाउँमा लगियो । सानोपलाती उनको मावली घर हो । अन्दाजी १५ वर्षको उमेरमा घर भत्केर मावलीका हजुरबुबा, हजुरआमा र मामामाइजूको पनि मृत्यु भयो । त्यसपछि श्रेष्ठ बिचल्लीमा परिन् ।

    प्राकृतिक विपत्तिले घर र मामाघरका सबै सदस्यको निधन भएकोले केही वर्ष उनले गाउँघरमा मेलापात गरेर जीविकोपार्जन गरिन् । केही वर्षपछि उनको विवाह भयो । विवाह कहिले भएको भन्ने मितिसमेत बताउन नसक्ने श्रेष्ठले चौतारा–साँगाचोकगढी नगरपालिका– १० खत्रीथोकमा कृष्णबहादुर श्रेष्ठसँग विवाह गरेको बताइन् ।

    कृष्णबहादुर तर्फको जेठो छोरा भक्तलाल श्रेष्ठ हाल ६० वर्ष भइसकेका छन् । छोरी पनि ५५ वर्षको भइसकेकी छिन् । जेठो छोराको नागरिकता छ । नागरिकतामा बुबाको मात्रै नाम उल्लेख छ । कृष्णबहादुरको मृत्युपछि लालकुमारीले गाउँमै कृष्णबहादुर खत्रीसँग दोस्रो विवाह गरिन् । खत्रीतर्फका दुई छोरा र एक छोरी छन् । उनका दुवैतर्फका छोराछोरीको नागरिकता बनेकाे छ ।

    श्रेष्ठको नागरिकता बनाउन पहल गर्दै आएका छिमेकी नाति नरेन्द्र केसीले विभिन्न समस्या झेल्नुपरेको गुनासो सुनाए । वृद्धा हजुरआमाको नागरिकता नबन्दा राज्यले दिने सुविधाबाट वञ्चित भएको केसीले बताए ।

    ‘नागरिकता बनाएको भए १२ वर्षदेखि वृद्धभत्ता लिन पाउँथिन्,’ उनले भने । वृद्ध उमेरमा पनि ज्याला–मजदुरी गरेर ज्यान पालिरहेकी श्रेष्ठलाई न्याय दिलाउन खत्रीथोकवासीले जनप्रतिनिधि र प्रशासनलाई अनुरोध गरेका छन्। नयाँपत्रिकाबाट

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस