२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

विश्वमा फेरि बढ्यो कोरोनाको ग्राफ : एकसातमै ५२ लाख बढीमा संक्रमण

  • २०७८ बैशाख ८, बुधबार मा प्रकाशित ३ साल अघि
  • बैशाख ८, २०७८

    एजेन्सी : विश्वभर कोरोना संक्रमितहरुको संख्या पछिल्ला दिन ह्वात्तै बढेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार सात दिनको अवधिमा संसारभर ५२ लाखभन्दा बढी नयाँ कोरोना संक्रमित भेटिएका छन् ।

    नयाँ कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढिरहेको बेला मृतकहरुको संख्या पनि बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार मंगलबार बिहानसम्म विश्वमा कोरोना संक्रमितहरुको संख्या १४ करोड १८ लाख १३ हजार २५७ पुगेको छ । जबकि संक्रमणबाट मर्नेहरुको संख्या ३० लाख २७ हजार ३५३ पुगेको छ ।

    महामारीको प्रभाव अमेरिकामा बढी 

    संसारमा सबैभन्दा बढी कोरोना संक्रमणको प्रभाव अमेरिकामा परेको छ । यो देशमा ५ लाख ८० हजारभन्दा बढी व्यक्तिहरुको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ भने ३ करोड २० लाखभन्दा बढी संक्रमितहरु देखिएका छन् । अमेरिकापछि भारत र ब्राजिल सबैभन्दा बढी प्रभावित मुलुक भएका छन् ।

    विश्व स्वास्थ्य संगठनका अनुसार कोरोनाबाट मृत्यु हुनेहरुको संख्या दिनप्रतिदिन बढिरहेको छ । संगठनका अनुसार अहिलेसम्म विश्वभर संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या ३० लाख नाघेको छ । जसमध्ये २५ देखि ५९ वर्ष उमेरका व्यक्ति संक्रमित हुने क्रम तिव्र रुपमा बढेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार यो खतराको घण्टी हो र अब विश्वभर खोप अभियान तिव्र पार्नु एकमात्र विकल्प हो ।

    अमेरिकामा १६ वर्षभन्दा माथिकालाई भ्याक्सिन 

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अब १६ वर्षभन्दा माथिका हरेक अमेरिकी नागरिक कोरोना खोपका लागि योग्य हुने घोषणा गरेका छन् ।

    बाइडेनले सोमबार ट्वीट गर्दै भनेका छन्, ‘आजदेखि १६ वर्षभन्दा बढी उमेरका हरेक अमेरिकी नागरिक खोपका लागि योग्य हुनेछन् । यो निःशुल्क र सुरक्षित छ । यही तरिकाले हामी महामारीको अन्त्य गर्नेछौं ।’ उनले सम्पूर्ण अमेरिकी नागरिकलाई कोरोना खोप लगाउन आह्वान समेत गरेका छन् ।

    बंगलादेशमा राष्ट्रव्यापी लकडाउन 

    बंगलादेशमा अप्रिल २८ सम्म राष्ट्रव्यापी रुपमा लकडाउन घोषणा गरिएको छ । त्यहाँ पछिल्लो समय ४ हजार ५५९ जना नयाँ संक्रमित भेटिएका छन् भने ९१ जनाको मृत्यु भएको छ । स्वीडेनमा पछिल्लो २४ घण्टामा १६ हजार ६९२ नयाँ संक्रमितहरु फेला परेका छन् भने त्यहाँ संक्रमितहरुको संख्या ९ लाख पार भएको छ । अहिलेसम्म स्वीडेनमा १३ हजारभन्दा बढीको संक्रमणका कारण मृत्यु भैसकेको छ ।

    यता, नेपालमा पनि कोरोना संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । मंगलबार मात्र नेपालमा १७३६ जना कोरोना संक्रमित भेटिएका छन् भने ११ जनाको मृत्यु भएको छ । नेपालमा अहिलेसम्म मृत्यु हुनेको कूल संख्या ३१ सय २ जना रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस