२०८३ कार्तिक १२, बुधबार | Wed, 28, Oct, 2026

बाढीग्रस्त क्षेत्रको निरिक्षण गर्न मेलम्चीमा प्रधानमन्त्री

  • २०७८ अषाढ २६, शनिबार मा प्रकाशित ५ साल अघि
  • असार २६, २०७८

    मेलम्ची : प्रधानमन्त्री केपी शर्मा ओली बाढीबाट क्षतिग्रस्त सिन्धुपाल्चोकका विभिन्न ठाउँको निरीक्षण गर्न शनिबार मेलम्ची गएको छन्। नेपाली सेनाको हेलिकोप्टरबाट प्रधानमन्धी सिन्धुपल्चोक प्रस्थान गरिसकेको प्रधानमन्त्रीका सञ्‍चार विज्ञ रामशरण बजगाईंले जानकारी दिए।

    प्रधानमन्त्री ओलीले बाढीबाट क्षति पुर्‍याएको मेलम्ची खानेपानी आयोजनालगायत सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्ने कार्यक्रम छ। ओलीले मेलम्ची खानेपानी आयोजनाको मुहानमा बाढीले पुर्‍याएको क्षतिको साथै हेलम्बु गाउँपालिकाको बाढीपहिरो प्रभावित विभिन्न ठाउँको हवाइ निरीक्षण गर्नेछन्।

    प्रधानमन्त्रीबाट पीडितलाई राहत वितरण तथा घोषणाको कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले प्रधानमन्त्रीबाट सिन्धुपाल्चोकको विभिन्न स्थानमा हुने निरीक्षणको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए।

    मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिने कार्यक्रममा प्रधानमन्त्री ओलीको सहभागिता रहने उनले बताए। पोखरेलका अनुसार कार्यक्रममा प्रधानमन्त्रीसँग बाढीपहिरो पीडित, जनप्रतिनिधि, राजनीतिक दलका नेता कार्यकतासँग अन्तरक्रिया कार्यक्रमसमेत तय गरिएको छ।

    प्रधानमन्त्रीले सोही अवसरमा राहत र पुनर्निर्माण प्याकेजको घोषणा गर्ने कार्यक्रम तय भएको हो। त्यसैगरी जिल्ला विपत् व्यवस्थापन समितिले बाढीपहिरोबाट जिल्लामा भएको क्षतिबारे प्रधानमन्त्रीलाई जानकारी गराउनेछ।

    यही असार १ गते आएको बाढीपहिरोले मेलम्ची खानेपानी आयोजनाका साथै सिन्धुपाल्चोकका मेलम्ची, हेलम्बुलगायत विभिन्न ठाउँमा क्षति पुर्‍याएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    ↑