२०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

बमजनको घरमा प्रहरीले टाँस्यो अदालतमा जाने म्याद

  • २०७७ कार्तिक २६, बुधबार मा प्रकाशित ५ साल अघि
  • कात्तिक २६, २०७७
    काठमाडौँः तपस्वीको भेषमा बसेर बलात्कार हत्या र हिंसाको दुष्चक्र चलाएको आरोप लागेका रामबहादुर बमजनलाई अदालतमा उपस्थित हुन आउन भन्दै प्रहरीले उनको स्थायी घर  र वडाकार्यालयमा सूचना टाँस गरेको छ।

    रौतहटकी गंगामाया तामाङलाई बलात्कार गरेको अभियोगमा मुद्दा परेपछि बमजनविरूद्ध सर्लाही जिल्ला अदालतले वारेन्ट जारी गरेको थियो।

    अदालतको त्यही आदेश कार्यान्वयनका लागि निजगढ नगरपालिका-१२ मा पर्ने रतनपुरीस्थित बमजनको जन्मघर र वडा कार्यालयमा ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउने म्याद सूचना टाँसिएको इलाका प्रहरी कार्यालय जितपुरका इन्स्पेक्टर विकास थपलियाले बताए।

    ‘हामीले पक्राउ गर्न खोज्दा उनी भेटिएनन् त्यसैले ३५ दिनभित्र अदालतमा उपस्थित हुन आउनु भन्दै जन्मघर र वडा कार्यालयमा म्याद टाँस्यौं,’ उनले भने,’वडाध्यक्ष ज्ञानबहादुर गोलेको रोहबरमा म्याद सूचना टाँसेर मुचुल्का उठाएर सर्लाही प्रहरीलाई पठाएका छौं।’

    प्रहरीले बमजनको घरका मानिसलाई सूचना टाँसको साक्षी बस्न भनेको थियो। उनीहरू नबसेपछि जबरजस्ती नगरी वडाअध्यक्षको रोहबरमा कानूनबमोजिम सूचना टाँस गरीएको  इन्स्पेक्टर थपलियाले बताए।

    ३७ दिनअघि जिल्ला प्रहरी कार्यालय सर्लाहीले बमजनको वारेन्ट पठाएको, पक्राउको लागि खोजी गरे पनि नभेटिएपछि घरमा लगेर सूचना टाँसिएको निजगढ प्रहरीले जनाएको छ।

    बमजनको घरमा म्याद सूचना टाँसेको ३५ दिनभित्र उनी अदालतमा उपस्थित हुनु पर्नेछ। नभए कानुनअनुसार उनी नआए पनि उनीविरूद्धको बलात्कार मुद्दामा सुनुवाइ अघि बढ्ने जिल्ला अदालत सर्लाहीका श्रेस्तेदार शिवहरि पौडेलले बताएका छन्।

    ‘अदालतमा बमजन आफैं उपस्थित हुन आए वा प्रहरीले उनलाई पक्राउ गरे मुद्दा अघि बढ्छ। नभए  प्रहरीले उनलाई अदालतमा आउन भन्दै स्थायी ठेगानामा म्याद तामेल गरेको मुचुल्का पेश गर्‍यो भने पनि कानुनअनुसार यो मुद्दा पेशी र सुनुवाइ प्रक्रियामा जान्छ,’ सर्लाही अदालतका श्रेष्तेदार पौडेलले भने।

    गंगामायाले गएको असारमा बमजनविरूद्ध बलात्कारको जाहेरी दिएपछि सर्लाही प्रहरीले आवश्यक अनुसन्धान गरी सरकारी वकिललाई प्रतिवेदन पेश गरेको थियो। बमजनलाई खोजेर नभेटेपछि प्रहरीले प्रतिवेदनमात्र पेश गरेको थियो।
    प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो।

    मुद्दा दायर भएपछि प्रतिवादीहरूलाई अदालतले नै पक्राउ वारेन्ट वा उपस्थित हुने म्याद जारी गर्नुपर्ने कानुन छ। म्याद तामेल भएपछि बाटोको म्यादबाहेक ३५ दिनभित्र बमजन अदालतमा उपस्थित नभए पनि सुनुवाइ अघि बढेर फैसला हुन सक्छ।  फैसला नहुन्जेल बमजन र मुद्दाका अरू प्रतिवादी अदालतमा उपस्थित हुन सक्छन्।

    रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्।बालबालिकासम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ। उनले बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

    जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको छ। १४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ। आफूमाथि २०७३ साल साउन २० गते बमजनले बलात्कार गरे आरोप गंगामायाले लगाएकी छन्।

    गंगामायाले दुई वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्।अहिले गंगामाया काठमाडौंस्थित बालबालिकाको हितमा काम गर्ने एउटा संस्थाको संरक्षणमा छिन्। बमजन भने बेपत्ता छन्। प्रहरीले पटक-पटक उनको आश्रममा छापा मार्दा पनि पक्राउ गर्न सकेको छैन।

    बमजनमाथि एक अनुयायीको हत्या गरेको, तीन आनी, एक अनुयायीलाई बेपत्ता पारेको र कम्तीमा एक आनीलाई बलात्कार गरेको आरोप छ। बमजनका आश्रमबाट आनीहरू सर्लाहीकी रिता बोट, नुवोकोटकी कर्मा तामाङ र मकवानपुरकी फूलमाया रूम्बा बेपत्ता पारिएका छन्।

    बमजनका दुई अनुयायी बाराका सुरेश आलेमगर र मकवानपुरका सञ्चमान वाइबा पनि उनको सिन्धुलीस्थित आश्रमबाट बेपत्ता छन्।बमजनको आदेशमा वाइबालाई उनको सिन्धुपाल्चोकस्थित आश्रममा कुट्दा कुट्दै मारिएको प्रत्यक्षदर्शीले बताएका छन्।

    आलेमगरलाई रक्ताम्मे अवस्थामा आश्रममा देखेको पनि प्रत्यक्षदर्शीको भनाइ छ। सेतोपाटीले तीन महिना लामो अनुसन्धानपछि २०७५ साल पुस ११ गते बमजनका कर्तुतको फेहरिस्त तयार पारेर एकैसाथ चार स्टोरी प्रकाशित गरेको थियो।

    ती स्टोरी प्रकाशित भएपछि बमजनका विभिन्न आश्रमबाट बेपत्ता पारिएका र हत्या गरिएका पाँचै जना आनी र अनुयायीका परिवारले प्रहरीमा जाहेरी दिएका थिए। सेतोपाटीबाट

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस