२०८३ बैशाख २६, शनिबार | Sat, 09, May, 2026

कोरोनाबाट पहिलो मृत्यु भएकी महिलाको श्रीमान भन्छन् : कोरोनाले हर चिज गुमाए

  • २०७७ आश्विन २४, शनिबार मा प्रकाशित ५ साल अघि
  • असोज २४, २०७७
    चौताराः कोरोना संक्रमणको कारणले दिनप्रतिदिन मृत्युदर बढिरहेको छ। संसारभर कोरोनाको कारणले मृत्यु हुनेको संख्या १० लाखभन्दा बढी पुगिसकेको छ।

    नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघिसकेको छ। भने मृत्यु हुनेको संख्या पनि ६ सय कटिसकेको छ। नेपालमा पनि संक्रमितको मृत्युदर बढ्दो क्रममा छ। नेपालमा पहिलोपटक कोरोनाकै कारण सिन्धुपाल्चोककी २९ वर्षीय महिलाको मृत्यु भएको थियो।

    असोज महिनामा दैनिक सरदर ८ जनाको कोरोनाकै कारण मृत्यु भइरहेको छ। संक्रमणबाट मृत्यु हुनेहरूमा सामान्य परिवारदेखि उच्च घरानासम्मका छन्।

    पूर्व न्यायाधीश, वरिष्ठ चिकित्सक,व्यापारीदेखि गृहिणीसम्मले कोरोनाकै कारण अकालमा ज्यान गुमाएका छन्। केही संक्रमितले कोरोनासँग लड्दा लड्दै आफ्नो ज्यान गुमाए भने कसैले दीर्घ रोगी भएर घरमा आराम गर्दा गर्दै र कसैको अस्पताल लैजाँदै गर्दा बाटोमा पनि मृत्यु भएको छ।

    गत वैशाखको २५ गते सिन्धुपाल्चोककी २९ वर्षीय सावित्री तिमल्सिनाको नेपालमै पहिलोपटक कोरोनाबाट धुलिखेल अस्पतालमा मृत्यु भयो। उनी त्रिवि शिक्षण अस्पतालबाट सुत्केरी भई घर गएकी थिइन्।

    भर्खरै जन्म दिएको छोराको कोरोना संक्रमण परीक्षण गर्दा नेगेटिभ आएको थियो। मृतकका छोरा यतिखेर पाँच महिनाका भए। श्रीमान् नवीन चालिसे २ छोराको स्याहार सम्भार गरेर बसेका छन्। उनी ठूलो छोराको विद्यालय खुलेपछि काठमाडौं आउने योजनामा छन्।

    ‘कोरोनाका कारण आफूले श्रीमती, व्यवसाय, जागिर र छोराहरूको शिक्षा सबै गुमाउनु परेको दुखेसो उनका श्रीमान विमल चालीसेले सुनाए। लकडाउन र कोरोना नभएको भए यतिखेर काठमाडौंमा आफ्नो व्यवसाय तरकारी पसलमा बसिरहेको हुन्थें’, उनले भने, ‘जागिर र व्यवसाय छैन। दुवै सन्तानको सहारा बनेको छु।’

    नवीनले सात वर्षअगाडि नेपाली सेनाको जागिर छाडेका थिए। उनीहरू गोंगबु बस्दै आएका थिए। उनले भावविह्‍वल हुँदै भने, जागिर छोडेँ आफैँले कोरोनाले मेरो २ सन्तानको आमालाई चुँडेर लगेपछि यिनै सन्तानको सहारा बनेर बसेको छु।

    नोटः मृतकका परिवारका सदस्यसँग अनुमति लिएर नाम प्रकाशित गरिएको हो।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस