२०८३ बैशाख २३, बुधबार | Wed, 06, May, 2026

मुढेको एक युवा एक महिनादेखि मनाङमा बेपत्ता

  • २०७७ भाद्र २४, बुधबार मा प्रकाशित ५ साल अघि
  • भदौ २४, २०७७
    चौताराः सिन्धुपाल्चोक लिसंखुपाखर गाउँपालिका ३ का एक युवा बेपत्ता भएका छन्। करिब एक महिनादेखि मनाङबाट बेपत्ता ती युवा बेपत्ता भएको हुन्।

    कामको सिलसिलामा मनाङ पुगेका सिन्धुपाल्चोक मुढेका ३२ वर्षीय कुमार श्रेष्ठ साउन ३० गतेदेखि बेपत्ता भएको परिवारले जनाएको छ।

    मनाङको भार्खा भन्ने स्थानमा पूर्व सांसद पाल्देन गुरुङले बनाउँदै गरेको रिसोर्टमा सुपरभाइजर रहेका श्रेष्ठ साउन ३० गते रातिदेखि वेपत्ता भएको कुमारमा दाइ चित्र श्रेष्ठले बताए ।

    काठमाडौंबाट साउन २६ गते मनाङतर्फ गएका श्रेष्ठ साउन २८ गते मनाङ पुगेका थिए । चित्रबहादुर श्रेष्ठले ठेक्का पाएको उक्त रिसोर्टको निर्माणका लागि ४ जना मजदुरसहित श्रेष्ठ मनाङ पुगेको परिवारले बताएको छ ।

    साउन ३० गते साँझ खाना खाएर ४ जना मजदुरसँगै सुतेका श्रेष्ठ बिहान बेपत्ता भएका हुन् । श्रेष्ठले प्रयोग गरेको चप्पलमध्ये एउटा चप्पल रिसोर्ट निर्माणस्थल नजिकैको मस्र्याङदी नदी किनारमा साउन ३१ गते भेटिएको थियो । उनको अर्को चप्पल भने भदौ २ गते दुई किलोमिटर तल भेटिएको थियो ।

    कुमारसँगै रिसोर्ट निर्माणका लागि ४ जना मजदुरहरु मनाङ पुगेका थिए । मजदुरका अनुसार उनीहरु त्यसदिन साँझ करिब ९ बजे सँगै खाना खाएर सुतेका थिए । चिसो भएको कारण केही स्थानीय मदिरा पनि खाएर सुतेको उनीहरुले बताएका छन् । तर बिहान उठ्दा कुमारलाई नदेखेपछि ठेकेदार (कुमार श्रेष्ठका दाइ चित्र श्रेष्ठ) लाई खबर गरेको बताए ।

    कुमार हराएको खबर आएलगत्तै कुमारका चारजना दाजुहरु साउन ३१ गते बिहान १० बजे हेलिकोप्टर लिएर मनाङ पुगेका थिए । तर उनीहरुले कुमारलाई भेट्न सकेनन् । बरु पहिलो दिन रिसोर्ट निर्माणस्थल नजिकै एउटा चप्पल र २ दिनपछि दुई किलोमिटर तल अर्को चप्पल भेटेको चित्रले बताए ।

    यता, वेपत्ता भएका कुमार श्रेष्ठको ससुराली पक्षले भने कुमारको हत्या भएको आशंका गरेको छ । सँगै सुतेका व्यक्ति बाहिर निस्कँदा पनि कामदारलाई थाहा नहुनु र कुमारको मोबाइल तथा करिब ६० हजार रुपैयाँ पनि नभेटिनुले उनको हत्या नै भएको हुनसक्ने ससुराली पक्षको आशंका छ । तर मनाङ प्रहरीले आवश्यक खोजबिन र छानबिन नगरी घटनालाई सामान्य बनाउन खोजेको उनीहरुले आरोप लगाएका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस