
खबरज्योति २०७६ जेठ २३ बिहिबार
मेलम्चीः बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना ६ महिनादेखि ठप्प छ । सरकारले २०७६।०७७ को बजेट पेस गर्ने क्रममा अर्थमन्त्री युवराज खतिवडाले मेलम्ची खानेपानी आयोजनाका लागि ७ अर्ब बजेट छुट्याएको जनाए । आगामि आर्थिक बर्षभित्र मेलम्ची खानेपानी आयोजना पुरा गर्ने सरकारले लक्ष्य राखेको छ ।
तर, मेलम्ची खानेपानी आयोजनाको इटालियन ठेकेदार कंम्पनी सिएमसिले काम छाडेको लामो सयम बितिसक्यको छ । सरकारले बाँकी काम सम्पन्न गर्नको लागि नयाँ ठेक्का प्रक्रियाबाट काम सम्पन्न गर्ने योजना बनाएको छ । नयाँ टेन्डर आह्वान गर्ने र स्थानीय तथा स्वदेशी निर्माण कम्पनीले मात्रै निमौणको जिम्मा लिन पाउँने मन्त्रीपरिषदले निर्णय गरेको छ ।
सिएमसीले काम गर्दा स्थानीय मजदुर, ठेकेदार तथा भेन्डर्सहरुले पाउनु पर्ने रकम अझै पाउँन सकेका छैनन । सीएमसीले तिर्न बाँकी रकमको सुनिश्चितता नभएपछि मेलम्ची खानेपानी आयोजना काम अगाडि बढ्न नदिने स्थानीय संघर्ष समितिले जनाएको छ ।
आयोजनाका पीडित संर्घष समितिका संयोजक उत्तमकुमार श्रेष्ठले प्रेस विज्ञप्ती जारी गर्दै स्थानीय ठेकेदार र मजदुरको रकम भुक्तानी आयोजना स्थलमा कसैलाई पनि काम गर्न नदिने बताएका छन् । ‘सरकारले नयाँ ठेक्का प्रक्रियाबाट काम गर्ने कुरा गरेको छ । त्यसो गर्दा स्थानीय ठेकेदार र मजदुरको पैसा आउँने छाटकाट नभएपछि आफुहरुआन्दोलित भएको हौँ’ उनले भने ।
स्थानीय कामदार र स्थानीय ठेकेदारको रकम नपाएसम्म नयाँ ठेक्का प्रक्रियाबाट काम गर्न आएमा जुनसुकै अप्रिय परिणाम निस्कनसक्ने चेतावनी समेत दिएका छन् । सिएमसिले आयोजनाको काम छाडेर गएपछि गत फागुनमा पनि आयोजनाका मजदुर, कर्मचारी र आपूर्तिकर्ताहरु आन्दोलनमा उत्रिएका थिए ।
आयोजनाका कर्मचारीहरुले दुई देखि सात महिना सम्मको काम गरेको तलब पाएका छैनन् भने स्थानीय आपूर्तिकर्ताहरुले पनि झण्डै १७ करोड रकम लिन बाँकी संघर्ष समितिका संयोजक श्रेष्ठले जनाए । सिएमसीमार्फतबाट काम गरेका करिब ७ सय स्थानीय कामदारले आफ्नो कामको रकम लिन पाएका छैनन् । कामदारले दुईदेखि आठ महिनासम्म पैसा लिन बाँकी छ । भने ठेकेदार कम्पनीले स्थानीय ‘सप्लायर्स’ र ‘भेण्डर्स’ लाई १६ करोड ५० लाख ३८ हजार ५ सय भुक्तानी लिन बाँकी रहको छ ।
सीएमसीले सुरुङ फिनिसिङको काम अन्तिम चरणमा पुगेपछि गत पुष २ गतेबाट काम छाडेर गएको हो । सीएमसीले काम छाडेपछि सरकारले नयाँ ठेक्काप्रक्रियाबाट काम गर्ने जनाएको छ । तर, अझै नयाँ ठेक्का प्रक्रियानै अगाडि बढ्न नसकेको मेलम्ची खानेपानी आयोजनाका सुचना अधिकारी राजेन्द्र पन्तले जनाए ।

प्रतिक्रिया दिनुहोस