२०८२ फागुन २३, शनिबार | Sat, 07, Mar, 2026

फानीकाे प्रभाव: सतर्क अाग्रह

  • २०७६ बैशाख २०, शुक्रबार मा प्रकाशित ६ साल अघि
  • खबरज्याेति २०७६ बैशाख २०
    काठमाडौं : बंगालको खाडीबाट विकसित सामुद्रिक आँधी फानीको प्रभाव शुक्रबारदेखि नेपालमा देखिन थालेको छ।

    काठमाडौं उपत्यकासहित मध्य भागमा अहिले तीब्रगतिको हावाहुरी चलिरहेको छ। केही ठाउँमा मेघगर्जनसहित पानी परिरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    फानीको प्रभावले काठमाडौं उपत्यकासहित देशका विभिन्‍न भागमा मौसममा बद्ली भएर पानी पर्न थालेको महाशाखाकी मौसमविद विभूति पोखरेलले जानकारी दिइन्। ‘फानी को प्रभाव विस्तारै पश्चिम नेपालका केही भागमा देखिन थालेको छ, यो भोलीसम्म रहने छ‘, उनले भनिन् ।

    यस्तै  देशका तराई भेगका केही ठाउँमा पनि हावाहुरीसहित पानी परेको हाम्रा सहकर्मीहरुले जनाएका छन्। बिहानैदेखि देशको पूर्वी क्षेत्रका केही ठाउँमा मौसम बद्ली भएर मेघगर्जनसहित पानी पर्न सुरु भएको महाशाखाले जनाएको छ।

    फानीको प्रभावका कारण दिउँसो मध्य र पश्चिमी क्षेत्रका केही ठाउँमा हावाहुरी र चट्याङसहित पानी पर्ने मौसमविद् पोखरेलले बताइन्। पूर्वी क्षेत्रमा यसको प्रभाव तुलनात्मक रुपमा बढी हुने भएकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ। फानीकै प्रभावले उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ।

    यस्तै माहाशाखाले हिमाली भेगमा रहेका र हिमाल आरोहणमा गएकाहरु सर्तक रहनुपर्ने महाशाखाले जनाएको छ। फानीको प्रभाव शनिबारसम्म रहने छ । आइतबारदेखि मौसम खुल्ने महाशाखाले जनाएको छ।

    यसैबीच राष्ट्रिय आपतकालिन उद्दार केन्द्रले पूर्वीनेपालका हिमाली क्षेत्रमा हेलिकोप्टर नउडाउन सचेत गराएको छ। आपतकालिन उद्दार केन्द्रले शुक्रबार सामाजिक सञ्जाजल ट्विटरमार्फत् सन्देश जारी गर्दै फानी चक्रावतको प्रभावले नेपालका पूर्वी हिमाली क्षेत्रमा हिमपात र हावाहुरी चल्ने भएकाले सचेत रहन भनेको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस