२०८३ श्रावण २२, शुक्रबार | Fri, 07, Aug, 2026

पुनम बस्यालको मौलिक तीज गीत ‘बाबाको पियारी छोरी’ सार्वजनिक

  • २०८३ श्रावण २२, शुक्रबार मा प्रकाशित ५१ सेकेण्ड अघि
  • काठमाडौं । नेपाली मौलिक तीज संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यसहित गायिका पुनम बस्यालको नयाँ तीज गीत ‘बाबाको पियारी छोरी’ सार्वजनिक भएको छ। गीत पुनम बस्यालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

     

    आधुनिकताको प्रभावसँगै मौलिक तीज गीत तथा परम्परागत संस्कृति ओझेलमा पर्दै गएको अवस्थामा सार्वजनिक गरिएको यस गीतले तीजको वास्तविक भावना, माइतीको माया, संगी–साथीको सम्झना तथा बाल्यकालका मिठा यादहरूलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ।

     

    गीतमा पुनम बस्यालकै स्वर, शब्द तथा संगीत रहेको छ। सुन्दर लामाले एरेन्ज गरेका छन् भने खेम थापाले मिक्स तथा मास्टरिङ गरेका हुन्। गीतको रेकर्डिङ के.टी. स्टुडियो, खरिबोट–बनस्थलीमा गरिएको हो।

     

    गीतको भिडियो निर्देशन कमान सिंह दोङ तामाङले गरेका छन्। हरिश महराको छायांकन रहेको भिडियोमा नविन घर्ती मगरले सम्पादन तथा कलर गरेका छन्। भिडियोमा लोकप्रिय हास्य कलाकार सुरबीर पण्डित ‘दारी बा’ सहित यशु भट्टराई, सृजना तामाङ, आराध्या, हुमा भण्डारी र देवी हमालको अभिनय रहेको छ। भिडियोको पोस्ट–प्रोडक्सन सलिना म्युजिकले गरेको हो।

     

    निर्माण पक्षका अनुसार ‘बाबाको पियारी छोरी’ मा नेपाली समाजको मौलिक संस्कृति, तीज पर्वको महत्व तथा बाबु–छोरीबीचको आत्मीय सम्बन्धलाई ठेट नेपाली शब्द र भावनाका माध्यमबाट प्रस्तुत गरिएको छ। विशेषगरी माइतीघर, बालापन र तीजसँग जोडिएका पुराना सम्झनालाई गीतले भावनात्मक रूपमा समेटेको छ।

     

    गीत सार्वजनिक भएपछि श्रोता–दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको निर्माण पक्षले जनाएको छ। धेरैले गीतलाई ‘साँच्चिकै तीज झल्काउने गीत’, ‘बालापनको सम्झना दिलाउने सिर्जना’ तथा ‘माइतीघरको माया फेरि महसुस गराउने गीतका रूपमा प्रतिक्रिया दिएका छन्।

     

    गायिका पुनम बस्यालले मौलिकताको संरक्षण र नेपाली लोकसंस्कृतिको प्रवर्द्धन नै आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै मौलिक सिर्जनालाई श्रोता तथा दर्शकले साथ दिन आग्रह गरेकी छन्।

     

    तीज पर्व नजिकिँदै गर्दा सार्वजनिक भएको ‘बाबाको पियारी छोरी’ ले नेपाली मौलिक लोकसंस्कृति, पारिवारिक सम्बन्ध र तीजको वास्तविक महत्वलाई नयाँ पुस्तासम्म पुर्‍याउन योगदान गर्ने अपेक्षा गरिएको छ। मौलिक तीज गीतको स्वाद खोजिरहेका संगीतप्रेमीका लागि समेत यो गीत विशेष बन्ने विश्वास गरिएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस