२०८३ अषाढ २१, आईतबार | Sun, 05, Jul, 2026

दुई सय घरधुरीमा ‘एक घर, एक धारा’ विस्तार

Thumbnail
  • २०८३ अषाढ २१, आईतबार मा प्रकाशित ६ घण्टा अघि
  •  

      

     विदुर गिरी / चाैतारा चौतारा साँगाचाेकगढी नगरपालिकाले करिब दुई सय घरधुरीमा ‘एक घर, एक धारा’ अभियानमार्फत घरघरमा धारा विस्तार गरेको जनाएको छ। यसले वर्षौंदेखि सार्वजनिक धारा वा टाढाको स्रोतमा निर्भर स्थानीयलाई प्रत्यक्ष राहत पुगेको विश्वास गरिएको छ।

    नगरपालिकाले सुरक्षित खानेपानीमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले नगरभर साना तथा ठूला गरी करिब १७५ वटा खानेपानी योजना सञ्चालन गरेको छ। नयाँ संरचना निर्माणसँगै पुराना आयोजना मर्मत र स्तरोन्नति गरिएकाले खानेपानी सेवा थप प्रभावकारी बन्दै गएको नगरपालिकाले जनाएको छ।

     

    नगरपालिकाका अनुसार विभिन्न वडामा आवश्यकता र मागका आधारमा खानेपानी योजनाहरू सञ्चालन गरिएका हुन्। ती योजनाअन्तर्गत नयाँ खानेपानी प्रणाली निर्माण, जीर्ण संरचनाको मर्मत, पाइपलाइन विस्तार तथा वितरण प्रणाली सुधारका काम भइरहेका छन्।

     

    खानेपानी योजना सञ्चालन भएपछि दैनिक उपभोगका लागि सुरक्षित पानीको उपलब्धता बढ्नुका साथै सरसफाइ र जनस्वास्थ्यमा समेत सकारात्मक प्रभाव परेको स्थानीयवासी बताउँछन्। विशेषगरी महिला, ज्येष्ठ नागरिक र बालबालिकाले पानी बोक्नुपर्ने समय र श्रम उल्लेख्य रूपमा घट्ने अपेक्षा गरिएको छ।

     

    नगरपालिकाले खानेपानीलाई आधारभूत सेवाका रूपमा प्राथमिकता दिँदै हरेक बस्तीमा सुरक्षित र नियमित खानेपानी पुर्‍याउने नीति अवलम्बन गरेको जनाएको छ। सोही नीतिअनुसार नयाँ आयोजना निर्माणसँगै पुराना योजनाको संरक्षण र मर्मतलाई पनि निरन्तरता दिइएको छ।

     

    नगरपालिकाले आगामी वर्षहरूमा बाँकी बस्तीमा समेत खानेपानी सेवा विस्तार गर्दै सबै नगरबासीलाई सुरक्षित खानेपानीको पहुँचमा पुर्‍याउने लक्ष्य लिएको जनाएको छ। यसबाट नगरवासीको जीवनस्तरमा सुधार हुनुका साथै स्वास्थ्यसम्बन्धी जोखिम पनि कम हुने अपेक्षा गरिएकाे चाैतारा साँचाेकगढी नगरपालिकाले गरेकाे जनाएकाे छ ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस