२०८२ फागुन २२, शुक्रबार | Fri, 06, Mar, 2026

तातोपानी नाकाबाट १६७ जनाको उद्दार

  • २०८२ श्रावण २८, बुधबार मा प्रकाशित ६ महिना अघि
  • चाैतारा । रसुवास्थित भोटेकोशीमा आएको बाढीका कारण चीनको केरुङमा अलपत्र परेका १६७ नेपाली नागरिकलाई तातोपानी नाका हुँदै नेपाल फर्काइएको छ।

    गत असार २५ गतेको बाढीले केरुङस्थित मितेरी पुल बगाएपछि स्थानीय होटल तथा पर्यटन क्षेत्रमा कार्यरत नेपालीहरू आवतजावत गर्न नसकी केरुङमै अलपत्र परेका थिए। उनीहरूको उद्दार नेपाल र चीन सरकार, स्थानीय प्रशासन तथा सरोकारवाला निकायको समन्वयमा गरिएको हो।

    नेपाल फर्काइएका अधिकांश नेपाली रसुवा जिल्लाका हुन्। उनीहरूलाई तिब्बतको केरुङबाट नेलाम हुँदै सिन्धुपाल्चोकको तातोपानी नाकामा ल्याइएको हो।

    सिन्धुपाल्चोक हिमालय सिमापार वाणिज्य संघको सहयोगमा उद्दार गरिएका सबैलाई पाँचवटा सवारी साधनमार्फत काठमाडौं पठाइएको प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले जानकारी दिए।

    केरुङमा विभिन्न पेशा व्यवसायमा संलग्न रहेका नेपालीहरू बिरामी पर्न थालेपछि र कतिपयले अब घर फर्कन पाइँदैन कि भन्ने चिन्ता व्यक्त गरेपछि तत्काल उद्दारको पहल गरिएको बास्तोलाले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस