काठमाडौं । नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले तेस्रोपटक पनि एमालेको अध्यक्ष केपी ओली नै हुने दाबी गरेका छन्।
‘विधानमा ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने निर्णय पार्टीले नै गरेको हो,’ उनले एक अन्तर्वार्तामा भनेका छन्, ‘अब हुने ११औँ महाधिवेशनमा पनि केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउने पार्टीको धारणा छ। अहिलेको लागि नेकपा एमालेमा केपी ओलीको विकल्प छैन।’
तामाङले पूर्वराष्ट्रपतिजस्तो सम्मानित व्यक्तित्वलाई पार्टीको आन्तरिक बहस र विवादमा ल्याउनु दुर्भाग्यपूर्ण भएको बताए।
‘पूर्वराष्ट्रपति राष्ट्रको साझा प्रतीक भएकाले उहाँलाई कुनै गुट वा कित्तामा बाँध्न खोज्नु गलत हो,’ उनले भने, ‘पूर्वराष्ट्रपति व्यक्तिगत इच्छा र आकांक्षाबाट चल्ने व्यक्ति होइन, उहाँलाई विभाजित गर्ने र कित्तामा बाँड्ने काम गर्नु हुँदैन। उहाँ देशको अभिभावक हो। उहाँलाई हामीले शिरमा सजाउने हो, फेरि पार्टीमा राजनीतिमा फर्काउने होइन।’
जवाफमा उनले राष्ट्रपति अन्य पदभन्दा विशिष्ट र सम्मानित भएको तर्क गरे।
‘राष्ट्रपति देशको अभिभावक, सेनाको परमाधिपति र राष्ट्रिय एकताको प्रतीक भएकाले उहाँ कुनै दलको सदस्य नभएको व्यक्ति हुनुपर्छ,’ उनको तर्क थियो।

प्रतिक्रिया दिनुहोस