२०८३ जेष्ठ २६, मंगलबार | Tue, 09, Jun, 2026

आयआर्जनमा सहयोग गर्न मेलम्ची बाढीपीडितको माग

  • २०७८ फागुन १९, बिहिबार मा प्रकाशित ४ साल अघि
  • फागुन १८, २०७८

    चाैतारा । मेलम्ची बाढी प्रभावित हेलम्बुवासीले यथाशीघ्र सुरक्षित स्थानमा बास र आयआर्जनको कार्यक्रमको माग गरेका छन् ।

    हेलम्बु बाढीपीडित संरक्षण तथा समन्वय समितिद्वारा चिलाउनेघारीमा आयोजित सरोकारवालाबीचको अन्तक्र्रियामा उनीहरुले यस्तो माग गरेका हुन्। बाढी प्रभावितमध्ये केहीको घर बनाउन जग्गासमेत नभएकाले जग्गा र स्थायी वा अस्थायी घर र आयआर्जनको कार्यक्रमको समेत माग गरेका छन्।   
    हेलम्बु चनौटेका बुद्धराम तामाङले पाँच लाखमा घर बनाउन नसकिने जनाउँदै रकम थप गर्न सरकारसँग आग्रह गरे । त्यस्तै इचोक घर भई गणेशबगरमा बस्नुभएकी रामप्रित लामाले आफ्नो भएजति सबै सम्पत्ती बाढीले बगाएको भन्दै स्थानीय सरकारले चासो दिए पनि प्रदेश र केन्द्र सरकारले चासो कम दिएको गुनासो गरिन्।    

    उनले आफूहरु मेलम्चीको पानी काठमाडाँै पठाउन सदैव तयार रहेको र मेलम्ची खानेपानीले पनि सरकारसँग समन्वय गरी बाढीपीडितको चित्त बुझाउनुपर्ने बताए। त्यस्तै स्थानीय शिक्षक भीम कार्की, मेलम्ची भ्याली क्यामपसका अध्यक्ष दीपक लामिछाने, समाजसेवी शिवप्रसाद लामिछाने लगायतले बाढीपीडित राजनीतिक रुपमा विभाजित नभइ एकजुट भएर विद्यालय, बाकीँ रहेका घरखेत संरक्षण गर्न र स्थायी आवास पुनःनिमाणमा जुट्नुपर्नेमा जोड दिएका थिए।    

    कार्यक्रममा मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ प्रशासन सहायक धर्मराज देवकोटाले खोला नियन्त्रणका लागि अल्पकालीन रुपमा रु ३० करोड र सडकको लागि २५ करोड बजेट विनियोजन भइसकेको भन्दै यथाशीघ्र सम्झौता गरी बाकीँ बस्ती संरक्षण र बाटोको काम सुरु गर्न हेलम्बु गाउँपालिकालाई अनुरोध गरे।    

    उनले वैकल्पिक बाटोको लागि पनि थप बजेट विनियोजन भएको जनाउँदै मेलम्ची अम्बाथान सडकको लागि रु ७५ करोड प्रस्ताव पेश गरिएको पनि जानकारी दिए। हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्यालजेन शेर्पाले बाढी प्रभावितले रु पाँच लाखले घर निर्माण गर्न सम्भव नभएको जनाउँदै रकम थप गर्न आग्रह गरे।    

    मेलम्ची बाढीबाट हेलम्बु गाउँपालिकाको मात्रै ३०८ घरधुरी लाभग्राही कायम भएको ,चाँडैँ सम्झौता गरी पुनःनिर्माण सुरु गरिने र बाढी प्रभावित १२५ घरधुरीको अस्थायी आवास निर्माण भएको उहाँले बताए।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस