२०८३ श्रावण ४, सोमबार | Mon, 20, Jul, 2026

एमाले छाडेका सुवास कर्माचार्यको सिन्धुपाल्चोकमा कति छ पकड ?

  • २०७८ पौष १७, शनिबार मा प्रकाशित ४ साल अघि
  • पुस १७, २०७८

    चौतारा । नेकपा विभाजनपछि फुटेको एमालेमा फुट्ने क्रम रोकिएको छैन । संगठनभित्र ५० प्रतिशत पकड रहेको नेता सुवास कर्माचार्यले आइतबार पार्टी परित्याग गरेको घोषणा गरेपछि सिन्धुपाल्चोक एमालेमा हलचल पैदा भइरहेको छ।

    पूर्वसांसदसमेत रहेका कर्माचार्यले गतहप्ता एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसँग भेटेका थिए । नेपालसँग भेटेको साताभित्रै फेसबुकमा उनले ४० वर्ष लामो एमालेसँगको राजनीतिक यात्रा समाप्त भएको घोषणा गरेका थिए। उनको घोषणासँगै जिल्लाभर नेता–कार्यकर्तामा अझै तरंग पैदा भइरहेको छ।

    १२ स्थानीय तहमा चौतारा साँगाचोकगढी, जुगल, इन्द्रावती, हेलम्बु, बलेफी, मेलम्ची र पाँचपोखरी थाङपाल गाउँपालिकामा कर्माचार्यको पकड छ । एमाले विभाजन नहुँदा सिन्धुपाल्चोकमा ७० प्रतिशत नेता–कार्यकर्ता माधव नेपाल पक्षधर मानिन्थे ।

    तर, विभाजनपछि थोरै संख्या मात्रै एकीकृत समाजवादीमा समाहित भए । केन्द्रीय कमिटीको बैठकपछि कर्माचार्यको व्यवस्थापनबारे निर्णय हुने एकीकृत समाजवादीका केन्द्रीय सदस्य सोम सापकोटाले बताए।

    नेता सापाकोटाले भने, ‘उहाँले एमाले परित्याग गर्नुभयो । तर, कुन राजनीतिक दलमा समाहित हुने भन्ने निर्णय भएको छैन। उहाँलगायत एमालेका धेरै नेतालाई स्वागत गर्न हामी प्रतीक्षारत छौँ ।’

    एमाले विभाजनलगत्तै नेता नेपालसँग एकीकृत समाजवादीमा खुल्ने आकलन गरिएको थियो । तर, स्थानीय सरकारका जनप्रतिनिधिले उनलाई रोकेका थिए । स्थानीय सरकारमा रहेका सात प्रमुख र ४५ वडाध्यक्षमा ५० प्रतिशत कर्माचार्यनिकट मानिन्छन् । एमाले परित्यागको घोषणापछि पनि जनप्रतिनिधिहरू कर्माचार्यतिर खुलेका छैनन् ।

    चुनाव घोषणा भएपछि कित्ताकाट गरेर जाने तयारीमा अधिकांश जनप्रतिनिधि रहेको बुझिएको छ । उनको कदमपछि सदरमुकामआसपासका धेरै नेता–कार्यकर्ताले एमाले छोडेको घोषणा गरेका छन् ।

    जिल्ला पार्टीको प्रमुख, सांसद हुँदै बागमती प्रदेशको वरिष्ठ नेताको रूपमा रहेका कर्माचार्यलाई एमालेले नेता नेपालसँग नजिक रहेको भन्दै महाधिवेशनमा बेवास्ता गरेको थियो । राजनीतिक जीवनमा उनीभन्दा जुनियर धेरैजना एमाले केन्द्रीय सदस्य भइसकेका छन् ।

    याे पनि :

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस