
भदौ २४, २०७८
चौतारा : नेकपा एमालेका नेता कार्यकर्ताहरूले बन्धक बनाएका कारण जिल्लाका जनप्रतिनिधिले आफ्नो पक्षमा सनाखत गर्न नपाएको आरोप नेकपा (एकीकृत समाजवादी) ले लगाएको छ।
पार्टी फुटपछि पनि कम्तीमा १५ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा आउन लागेकोमा एमालेका नेताले उनीहरूलाई डर धम्की देखाएर सम्पर्कमा नै आउन नदिएको र पार्टी रोज्न पाउने अधिकारबाट समेत बञ्चित गराएको एकीकृत समाजवादीका जिल्ला नेता सोम सापकोटाले आरोप लगाएका छन्।
एकीकृत समाजवादीले आफ्नो दलसँग वैचारिक सहमति भएका जनप्रतिनिधिहरूको टेलिफोन स्विचअफ गराएर सम्पर्कविहीन बनाएको आरोप लगाएको हो। अहिले दल रोज्न नपाए पनि पछि पद नै त्याग गरेर भए पनि समाजवादीमा समाहित हुने उनीहरूको आकलन छ।
सिन्धुपाल्चोकबाट स्थानीय २ जना जनप्रतिनिधिले मात्रै एकीकृत समाजवादी पार्टी रोजेर सनाखत गरेका छन्।
३७ वटा वडा र ७ वटा स्थानीय तहमा एमालेका जनप्रतिनिधिमध्ये मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपाल र चौतारा साँगाचोकगढी नगरपालिका–१० का अध्यक्ष बेलबहादुर महतले मात्रै निर्वाचन कार्यालयमा गएर सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायण गौतमले बताए।
केपी शर्मा ओलीले गरेको प्रतिगमनका कारण नै पार्टी फुटको चरणमा पुगेको एकीकृत समाजवादीमा सनाखत गरेकी मेलम्ची नगरपालिकाकी उपप्रमुख भगवती नेपालले बताइन्। कम्युनिष्ट आन्दोलनले अझै पूर्णता नपाएको र त्यसको नेतृत्व गर्ने क्षमता एकीकृत समाजवादीसँग मात्र भएकोले आफूहरू यसमा लागेको उनीहरूको भनाइ छ।
एकीकृत समाजवादी दर्ता गर्दा नै राष्ट्रियसभामा सिन्धुपाल्चोकबाट प्रतिनिधित्व गरेका सिंहबहादुर विश्वकर्माले हस्ताक्षर गरिसकेका छन् भने प्रदेशसभा सदस्य इन्द्रमाया गुरुङले पनि एकीकृत समाजवादी रोजेर सनाखत गरिसकेकी छन्।
सिन्धुपाल्चोक जिल्लाका जनप्रतिनिधि एकढिक्का भएर एमाले मजबुत बनाउन केही व्यक्तिबाहेक सबैले संस्थापन दल नै रोजेको नेकपा एमालेका पुराना जिल्ला नेता एवं पूर्व सांसद कृष्णराज श्रेष्ठ बताउँछन्।
सिन्धुपाल्चोकमा एमाले औपचारिक रूपमा विभाजन हुनुअघि अधिकांश नेता तथा कार्यकर्ता माधव समूहमा थिए। ओलीको कदमविरुद्ध समेत सबैजसो जनप्रतिनिधि सडकमा उत्रिएका थिए। तर, अहिले दल विभाजन भएपछि भने सबैजनाले माधव समूहलाई धोका दिएका छन्।
पूर्व सांसद श्रेष्ठ भन्छन्, ‘सिन्धुपाल्चोकमा एमाले एकढिक्का बनाइराख्ने हाम्रो चाहना हो। आम कार्यकर्ताको मनोभाव बुझ्न नभ्याएको भए पनि सबैजना जता चुनाव चिह्न सूर्य हुन्छ, त्यसै मत हाल्छन् भन्ने हाम्रो ठम्याइ हो।’
सिन्धुपाल्चोकमा एमालेका जिल्ला अध्यक्षसहित अधिकांश जिल्ला नेता र जनप्रतिनिधि ओलीविरुद्ध आन्दोलनमा सहभागी भएका थिए। पार्टी फुटअघि माधव समूह एकदमै मजबुत र ओली समूह कमजोर देखिएको थियो।


प्रतिक्रिया दिनुहोस