२०८३ बैशाख १४, सोमबार | Mon, 27, Apr, 2026

भोटेकोशी-५ जलविद्युत् आयोजनाकाे विरोधमा स्थानीय, भन्छन्- विकास होइन, विनाशको खाडल खनिँदैछ

  • २०८२ अषाढ १, आईतबार मा प्रकाशित १0 महिना अघि
  • सिन्धुपाल्चोक । बाह्रबिसेमा निर्माणको तयारीमा रहेको ४६ मेगावाट क्षमताको भोटेकोशी–५ जलविद्युत् आयोजना वातावरणीय र सामाजिक असरको चपेटामा परेका कारण स्थानीयवासी आन्दोलित भएका छन्। परियोजनाले दीर्घकालीन रूपमा भू–स्वरूप, नदीको अस्तित्व र नगरको सामाजिक–आर्थिक पहिचानमा गम्भीर प्रभाव पार्ने भन्दै स्थानीय बासिन्दा सडकमा उत्रिएका हुन्।

    आइतबार बाह्रबिसे नगर क्षेत्रका बासिन्दाले ‘गो ब्याक कालिका हाइड्रो’ नारासहित कालो झन्डा बोकेर बजार परिक्रमा गरे। विरोधमा बाह्रबिसे बजार, मानेश्वारा, राम्चेल लगायत क्षेत्रका बासिन्दाले र्‍याली निकाली आयोजना तुरुन्त स्थगनको माग गरे। आयोजना सन्दर्भमा नगरको कभर्ड हलमा आयोजना गरिएको सार्वजनिक सुनुवाइ कार्यक्रम स्थानीय आक्रोशले अवरुद्ध हुन पुगेको छ। प्रदर्शनकारी समूहले सुनुवाइ कक्षमा प्रवेश गरी नाराबाजी गर्दै कुर्सीसमेत तोडफोड गरेका थिए।

    भोटेकोशी–५ जलविद्युत् आयोजना, जसको पावर हाउस जुरे क्षेत्रमा पर्ने बताइएको छ, मध्यभोटेकोशी आयोजनाको पावर हाउसबाट निस्कने पानीलाई नै सुरुङमार्फत प्रयोग गरेर नयाँ आयोजना निर्माण गर्ने योजना रहेको छ। तर, यसरी नदीको पानी सुरुङमा हाल्दा स्थानीय भू–संरचना, जैविक प्रणाली र बाह्रबिसे बजारको पहिचान नै जोखिममा पर्ने स्थानीयको भनाइ छ।

    स्थानीय अगुवा राजु श्रेष्ठ भन्छन्, “यो आयोजना विकास होइन, विनाशको खाडल हो। यहाँको माटो, पानी र सम्पूर्ण परिवेशमाथि प्रयोग भइरहेछ। अब हाम्रो माग स्पष्ट छ—यहाँ जलविद्युत् होइन, दीगो वातावरण संरक्षण चाहिन्छ।”

    वर्तमानमा आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (EIA) को लागि सार्वजनिक सुनुवाइको प्रक्रिया अगाडि बढाइँदै गर्दा यस्तो विरोध झनै चर्किएको हो।

    विशेषज्ञहरूका अनुसार, जलविद्युत् आयोजना विकासको माध्यम भए तापनि पर्यावरणीय न्याय र स्थानीय सहभागिता बिना गरिएको योजनाले दीर्घकालमा सामाजिक द्वन्द्व र प्राकृतिक विनाश निम्त्याउन सक्छ। बाह्रबिसेको यो आन्दोलन त्यसको प्रत्यक्ष संकेतका रूपमा हेरिएको छ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस