२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

जुगल हिमाल आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीकाे बिदाइ

  • २०८० चैत्र २४, शनिबार मा प्रकाशित १ महिना अघि
  • काठमाडौं । जुगल हिमालको आरोहण गर्न लागेको नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राष्ट्रिय झन्डा हस्तान्तरण गरी बिदाइ गरेका छन् ।

    तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टिम आजै जुगल हिमालतर्फ जाने नेपाल पर्वतारोहण सङ्घले जानकारी दियो । सिन्धुपाल्चोक जिल्लास्थित जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबिच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमालसमेत हो ।

    सङ्घका महासचिव मोहन लम्सालले जुगल हिमाल आरोहणको माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा योगदान गर्ने विश्वास व्यक्त गरे । उनले पर्यटन कूटनीतिसँग पनि जोडिएकाले यो आरोहणलाई निकै महत्वका साथ हेरिएको उल्लेख गरे ।

    विसं २०७९ चैत २८ गतेको नेपाल सरकार (मन्त्रिपरिषद्को बैठक) ले सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो । जुगल हिमाल क्षेत्रका पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । ‘यो आरोहण नेपाल र दक्षिण कोरियाबिच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको उपलक्ष्यमा समेत गर्न लागिएको छ’ जारी विज्ञप्तिमा भनिएको छ ।

    आरोहण टोलीमा कोरियाली विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्नेछन् भने नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा सङ्घका प्रथम उपाध्यक्ष दावा याङ्जुम शेर्पाले नेतृत्व गर्ने जनाइएको छ ।

    यो टोलीले १३ वैशाख २०८१ मा चुचुरो चढी काठमाडौँ फर्कने योजना बनाएको छ । यो आरोहणलाई नेपाल सरकार, पर्यटन बोर्डले समेत सहयोग गर्ने जनाइएको छ । यसअघि सरकारले उक्त हिमाल आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा गरेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस