२०८१ बैशाख ३१, सोमबार | Mon, 13, May, 2024

नेपाल र दक्षिण कोरियाका दश पर्वतारोही जुगल हिमाल चढ्ने

  • २०८० चैत्र २०, मंगलबार मा प्रकाशित १ महिना अघि
  • चाैतारा । नेपाल र दक्षिण कोरियाका दश पर्वतारोहीले २४ चैतदेखि १५ वैशाखसम्म जुगल हिमाल आरोहण गर्ने भएका छन् । नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले नेपाल सरकारले गत वर्ष मात्रै आरोहण खुला गरेको ६,५९१ मिटर उचाइको जुगल– १ र ६,५१८ मिटर अग्लो जुगल– २ चढ्न लागेका हुन् ।

    नेपाल र दक्षिण कोरियाबीच स्थापना भएको कूटनीतिक सम्बन्धको ५० वर्ष पूरा भएको अवसरमा जुगल गाउँपालिका, नेपाल पर्वतारोहण संघ, नेपाल पर्यटन बोर्ड, कोरियन राजदूतावास र ओम वोंगिल फाउन्डेसनको संयुक्त आयोजनामा जुगल हिमाल आरोहण तय गरिएको छ । आरोहणको नाम नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४ राखिएको छ ।

    प्रधानमन्त्री प्रचण्डले २४ चैतमा पर्वतारोहीलाई नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरेर जुगलतर्फ बिदाइ गर्ने कार्यक्रम छ । टोली २५ गते तेम्बाथाङ पुग्नेछ । विश्वका १२ वटा पर्वत चढेर इतिहास रचेका कोरियन नागरिक ओम वोंगिलको नेतृत्वमा टोली स्थलमार्गबाट जुगल प्रस्थान गर्नेछ । टोलीलाई पछ्याउँदै नेपालस्थित कोरियाली राजदूत पार्क थेयाङ र कार्यालय टिम हेलिकाेप्टरबाट बेसक्याम्प पुग्ने योजना रहेको छ ।

    स्थलमार्गबाट गएका १० पर्वतारोही, तीन कोरियाली टेलिभिजन पत्रकार र ५० कोरियाली पर्यटकलाई सिन्धुपाल्चोक पुगेपछि जलवीरेमा नेवारी, जुगलमा तामाङ र तेम्बाथाङमा शेर्पाको सिल्बा सांस्कृतिक कला र झाँकीबाट स्वागत गरिने तयारी छ । ढाँडे, कात्तिके, मान्जे र गोन्डेगाउँमा पर्यटकलाई स्वागत गर्न स्थानीय सडकमा निस्कनेछन् । हिमाल चढ्न बागमती प्रदेशका सांसद सरल सहयात्री पौडेल, नेपाल पर्वतारोहण संघकी उपाध्यक्ष तथा नेपालको पहिलो अन्तर्राष्ट्रिय महिला माउन्टेन गाइड दावा याङ्जुङ शेर्पा र जुगल गाउँपालिका पर्यटन समितिका अध्यक्ष मीनबहादुर लामा (मिलन) तयारी अवस्थामा छन् ।

    जुगल हिमाल आरोहण खुला भएपछि ग्याल्जेन पिकको सफल आरोहण गरेका मीनबहादुर लामा (मिलन)ले जुगल हिमाललाई पर्वतारोहण संघले महत्वपूर्ण गन्तव्यमा राखेको बताए । लामा यो अभियानको सहजकर्ता पनि हुन् । जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्बो र लामा मिलेर पूर्वाधार निर्माणमा धेरै काम गरेका छन् ।

    बेसक्याम्प पुग्ने ढुंगाको सिँडी, मानिस बस्ने माउन्टेन हट, ठाउँठाउँमा खानेपानी, अप्ठ्यारो बाटोमा फलामको भर्‍याङ (भिया फराता), चौतारी, खोला तर्ने फड्के निर्माण गरिएको अध्यक्ष स्याङ्बोले बताए । स्याङ्बोकै आग्रहमा नेपाल सरकारले हिमाल चढ्न लाग्ने सलामी दस्तुर मिनाह गरेको छ । नेपाल पर्वतारोहण संघका अध्यक्ष निमा नुरु शेर्पा र पर्यटन व्यवसायी ङवाङ ङिमा शेर्पाले कोरियन पर्यटकलाई नेपाल ल्याउन समन्वय गरेका छन् ।

    सन् २०१९ बाट जुगल हिमशृंखला आधिकारिक रूपमा आरोहण गर्न सुरु भएको हो । त्यसवेला ६,१५१ मिटर उचाइको ग्याल्जेन पिकको नेपाली पर्वतारोहीले सफलतापूर्वक आरोहण गरेका थिए । जुगल हिमशृंखलामा ६ हजार मिटरमाथिका १४ वटा हिमाल छन् । तेम्बाथाङभन्दा माथिका कुनै पनि स्थानमा दूरसञ्चार सेवा उपलब्ध छैन । तेम्बाथाङबाट बेसक्याम्प यांर्क पुग्दा पर्वतारोहीसँग सबै सम्पर्क टुट्छ । जुगल हिमाल राजधानीबाट सबैभन्दा नजिकको पर्यटन गन्तव्य हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस