२०८१ बैशाख २०, बिहिबार | Thu, 02, May, 2024

मेलम्ची पुगेर रवि लामिछानेले भने- पहिरो रोक्न सरकारले सिन्को भाँचेन

  • २०८० माघ २१, आईतबार मा प्रकाशित २ महिना अघि
  • मेलम्ची । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भ्रेमाथाङको पहिरो नरोकी मेलम्चीको पानी काठमाडौं लैजान सरकार हतारिएको टिप्पणी गरेका छन्।

    परियोजनाको मुहान अम्बाथानसम्म दबाब यात्रा सुरू गर्न आइतबार सिन्धुपाल्चोकको मेलम्ची पुगेका सभापति लामिछानेले पहिरो रोकथाम नगर्दा मेलम्ची दिगो नहुने बताएका छन्।

    ‘मेलम्चीको पानी काठमाडौं लैजान अहिलेसम्म ६२ अर्ब खर्च भएको छ। मुआब्जा, सुरूङ, बाँध क्षेत्रलगायत संरचना बनाउन ३२ अर्ब र काठमाडौं उपत्यकामा खानेपानीको सञ्जाल बिस्तार गर्न ३० अर्ब खर्च भएको छ। यत्रो पैसा खर्च गरेको परियोजना पहिराले पुरिएको छ। परियोजना बनाउँदा पर्यावरणीय अध्ययन, जलवायु परिवर्तनको असरलाई ध्यान दिइएन। फेरि पनि पहिराको जोखिम अध्ययन नगरी पैसा खन्याउने काम भएको छ,’ उनले भने।

    हेडवर्क्स बनाउने बेलामा पर्याप्त अध्ययन नभएको र सरकार अस्थायी तरिकाले पानी पथान्तरण गर्ने ध्याउन्नमा रहेको उनले बताए।

    ‘सरकारले खन्याएको पैसा ऋणको रूपमा हाम्रै थाप्लामा पर्ने हो। बाँध सार्दा ६–७ अर्ब रूपैयाँ लाग्ने देखिएको छ। त्यो पनि हाम्रै थाप्लामा पर्ने हो,’ उनले भने, अहिले सरकार अस्थायी तरिकाले पानी लाने र उद्घाटनमाथि उद्घाटन गरिरहेको छ। यो देशका कुनै नेता बाँकी नरहलानजस्तो छ, जसले मेलम्ची उद्घाटन नगरेको होस्!’

    मेलम्ची भेलबाढीबाट २४ जनाको हताहती भएको उनले बताए। त्यस्तै चिउरीखर्क, चनौटे, ग्याल्थुम, तालामाराङलगायत बजार अझै पनि उच्च जोखिममा रहेको उनको भनाइ छ। सरस्वती मावि, तेर्से मावि अझै बाढीको जोखिममा रहेकाले मेलम्चीकै पुनःनिर्माण, तटबन्ध र नदी नियन्त्रणमा सरकारले कुनै काम नगरेको बताए।

    ‘मेलम्ची उपत्यकाको पारिस्थिति प्रणाली खल्बल्याएर पानी लगेपछि २० प्रतिशत रोयल्टी यहाँका नागरिकले पाउनुपर्ने हो। त्यसको सुनिश्चिता हुन सकेको छैन,’ उनले भने।

    रास्वपाले मेलम्चीको मुहान अम्बाथानसम्म करिब २४ किलोमिटर दबाब यात्रा गर्न लागेको हो। यात्रा सुरू गर्नुपूर्व उसले बाढीले खण्डहर बनाएको मेलम्चीस्थित मनशान्ति टोलमा रित्ता गाग्रीसहित कोणसभा गरेको थियो।

    यसअघि रास्वपाले चितवनको नारायणगढदेखि बुटवलसम्म ११३ किलोमिटर सडक खण्डमा दबाब यात्रा सुरू गरेको थियो। रास्वपाको दबाब यात्रापछि अलपत्र अवस्थामा रहेको नारायणगढ–सडक पुनःनिर्माणले गति लिएको लामिछानेको भनाइ छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस