२०८१ बैशाख ३०, आईतबार | Sun, 12, May, 2024

४५ रुपैयाँको सगुन मिसाएर डबल ब्ल्याक बनाउने चौताराका दुईसहित ९ जना पक्राउ

  • २०८० माघ ३, बुधबार मा प्रकाशित ३ महिना अघि
  • काठमाडौं । प्रहरीले नक्कली मदिरा बनाउने कारखाना चलाएका ९ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकाहरु यसअघि पनि सोही काममा संलग्न रहेर खोजी सूचीमा रहेकादेखि धरौटीमा छुटेका समेत छन् ।

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले लिमा -३ अपरेसन अन्तरगत उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरुको साथबाट ठूलो संख्यामा नक्कली मदिरा समेत बरामद गरिएको अपराध अनुसन्धान कार्यालय का डिएसपी अनिल घिमिरेले पत्रकार सम्मेलन गरी जानकारी दिएका छन् ।

    घिमिरेकै नेतृत्वको टोलीले गरेको अपरेसनका क्रममा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ५ थलिमा भाडामा घर लिएर नक्कली मदिरा उत्पादन गरी बजारमा पठाउने धन्दा चलिरहेको भेटिएको हो ।

    यस्तो कार्यमा संलग्न रामेछाप, खाँडादेखि गाउँपालिका-२ घर भएका २८ वर्षीय मनोज खत्री, सोही स्थानका ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोक, चौताराका २७ वर्षीय मोहन खड्का, सिन्धुली, कमलामाई नगरपालिका-९ का २८ वर्षीय गौरव तामाङ छन्।

    यसैगरी काठमाडौं, कागेश्वरी मनोहरा-९ का ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुली, कमलामाई नगरपालिका- ७ का ४० वर्षीय लेखविक्रम थापा, रामेछाप मजुवा गाउँपालिका- ३ का २३ वर्षीय महेश खत्री, सिन्धुपाल्चोक, चौताराका १८ वर्षीय रोशन कार्की र रामेछाप, खाँडादेवी- २ का २० वर्षीय मनिष खत्री पनि पक्राउ परेको प्रहरीले जनाएको छ।

    प्रहरीका अनुसार गिरोहले ४५ रुपैयाँ पर्ने सगुन रक्सी मिसाएर नक्कली मदिरा उत्पादन गर्ने गरेको थियो ।

    ‘तयार हुने ब्रान्ड र सगुनको मात्रा आधा-आधा मिलाएर नक्कली रक्सी उत्पादन हुने गरेको पाइएको छ । गिरोहले सगुन मिसाइसकेपछि त्यसमा चिनी डढाइएको झोल पनि मिसाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ’, एसएसपी राठोरले भने ।

    प्रहरीले नक्कली मदिरा बजारमा रहेको सूचना पाएपछि एउटा खरिद गरेर परीक्षणका लागि पठाएर अनुसन्धान सुरु गरेको थियो ।

    परीक्षणका क्रममा मदिरा नक्कली भएको पाइएपछि अप्रेसन थालिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए ।

    ‘गिरोहले बजारबाट ५० रुपैयाँ हाराहारीमा विभिन्न ब्रान्डका रक्सीका खाली बोतल किन्ने गरेको पाइयो । उनीहरुले भारतबाट नक्कली राजस्व अन्तःशुल्क बनाएर ल्याउने र तयार भएका रक्सीका बोतलमा लगाउने गरेको अनुसन्धानका क्रममा पाइएको छ । नेपाली बजारमै प्रयोगमा आइसकेका मदिराका बोतलबाट राम्रोसँग निकालिएका स्टिकर पनि गिरोहले खरिद गर्ने गरेको देखिन्छ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

    गिरोहले दिउँसो मदिरा तयार गर्ने र राति मदिरा विक्रेतासम्म पुर्‍याउने गरेको पनि प्रहरीले दाबी गरेको छ ।

    मनोज खत्री तेस्रो पटक यो अपराधमा संलग्न रहेको पाइएको डिएसपी घिमिरेले बताए । पहिलो पल्ट पक्राउ परेका उनी ५० हजार धरौटीमा छुटेको र दोस्रो पटक भने भागेको प्रहरीले जनाएको छ । विनोद कार्की यसअघि तीन पटकसम्म प्रहरीलाई छलेर भागेका थिए । गौरव तामाङ पनि दोस्रो पटक यस्तो अपराधमा संलग्न रहेको अभियोगमा पक्राउ परेका हुन् ।

    प्रहरीले उक्त घरबाट ठूलो संख्यामा नक्कली मदिरा, अन्तशुल्कको स्टिकर र नक्कली मदिरा बनाउन प्रयोग हुने सामग्री समेत बरामद गरेको छ ।

    उक्त स्थानबाट प्रहरीले नक्कली खुकुरी रम २८८ बोतल, फाइटर प्रिमयम डिलक्स ९०० बोतल, ३६५ डेज ब्ल्याक ट्रिपल एक्स ९६ बोतल, गोल्डेन वक ६३ बोतल, ८८४८ नामक ४८ बोतल र सगुन गोल्ड १५ बोतल बरामद गरेको जानकारी दिएको छ । यस्तै ठूलो मात्रामा खालि बोतल र बिर्को समेत पाइएको छ ।

    उनीहरुले चीनी पानी मिलाउने र कालो हुने गरी पकाउने र मिसाएर बोतलमा हालेर बिक्री गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । यस्तो नक्कली मदिरा सक्कलीभन्दा निकै कम मुल्यमा बिक्री गर्ने गरेको पाइएको छ । यस्ता मदिरा खरिद गर्नेको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ३%२%

    प्रतिक्रिया दिनुहोस