२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

तातोपानी नाकामा दुई महिनाभित्र मान्छेका लागि पनि खोल्ने सहमति

  • २०८० श्रावण १६, मंगलबार मा प्रकाशित ९ महिना अघि
  • चौतारा । नेपाल र चीनबीचको पुरानो नाका तातोपानी (कोदारी) मानिसका लागि पनि खुला गरिने भएको छ । आठ वर्षयता आयात–निर्यात मात्रै हुँदै आएको तातोपानी नाकाबाट मानवलाई समेत आवतजावत गर्न दिने गरी दुई देशबीच सहमति भएको हो ।

    नेपाल–तीब्बत व्यापार सहजीकरण समितिको एघारौँ बैठकले तातोपानी नाकालाई आगामी दुई महिनाभित्रै मानवका लागि समेत खुला गर्ने सहमति गरेको हो । तिब्बतमा हालै सम्पन्न बैठकमा सेप्टेम्बर महिनाभित्र नाका मानवका लागि समेत खुला गर्ने निर्णय भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले बताए ।

    ‘बैठक फलदायी भयो, थुप्रै विषयमा छलफल र सहमति भए,’ तिवारीले भने, ‘सेम्टेम्बर महिनाभित्र तातोपानी नाका मानवका लागि समेत खोल्न उहाँ (चिनियाँ)हरू सहमत हुनुभयो, निर्णय भएर माइन्युट नै भएको छ, यो सबैभन्दा महत्वपूर्ण उपलब्धि भयो ।’ तिवारीले नेतृत्व गरेको नेपालको सात सदस्यीय वार्ताटोली शनिबार मात्रै काठमाडौं आइपुगेको छ ।

    ०७२ को भूकम्पपछि तातोपानी नाका करिब चार वर्ष पूर्ण रूपमा बन्द भएको थियो । १६ जेठ ०७६ मा नाका पुनः सञ्चालनमा आयो । तर, मानिसका लागि भने खुला गरिएन । चीनले निर्यातसमेत खोलेको थिएन । कोभिड सुरु भएपछि उक्त नाका एकतर्फी मात्रै सञ्चालन हुँदै आएको थियो ।

    गत १८ वैशाख ०८० देखि तातोपानी नाकाबाट आयात–निर्यात हुने गरी दुईतर्फी सञ्चालनमा आयो । तर, मानिस आवतजावत भने अझैसम्म खुला गरिएको थिएन । नेपालले मानिसका लागि समेत नाका खुला गरिनुपर्ने माग गर्दै आएको थियो ।

    द्विपक्षीय बैठकमा नाकामा पूर्वाधार निर्माण एवम् व्यापार सहजीकरणका लागि समेत समझदारी भएको छ । नाकामा अन्तरदेशीय विशेष आर्थिक क्षेत्र (सेज) र सुक्खा बन्दरगाह निर्माण गर्न चीनले सहयोग गर्ने, नेपालको निर्यातलाई सहजीकरण गर्ने, व्यापार तथा पारवहनसम्बन्धी सम्झौतालाई समयानुकूल बनाउने गरी पुनरावलोकन गर्ने, थप नाका सञ्चालन गर्नेलगायत समझदारीसमेत भएको उनले जानकारी दिए । समितिको १२औँ बैठक एक वर्षपछि काठमाडौंमा आयोजना हुनेछ ।

    द्विपक्षीय बैठकमा ल्हासा–काठमाडौं सीधा हवाई उडान पुनः सञ्चालनका लागि समेत दुई देश सहमत भएका छन् । बैठकले सन् २०२३ को अन्तिमसम्ममा सीधा उडान पुनः सुरु गर्ने निर्णय गरेको सहसचिव तिवारीले बताए । कोभिडपछि सीधा हवाई उडान बन्द भएपछि हाल काठमाडौंबाट चीनको छेन्दु हुँदै ल्हासा जानुपर्ने बाध्यता छ ।

    ‘सीधा उडान बन्द हुँदा ल्हासाबाट नेपाल आउने पर्यटकको संख्या घटेको छ, पर्यटकका साथै व्यवसायी तथा अन्य मानिसलाई समेत आवतजावतमा कठिनाइ भइरहेको छ,’ उनले भने, ‘नेपालले सीधा हवाई उडान पुनः सुरु गर्न माग गर्दै आएको थियो, त्यसमा उहाँहरू सहमत हुनुभएको छ ।’

    ल्हासा अन्तर्राष्ट्रिय विमानस्थल विस्तारको काम भइरहेकाले तत्काल उडान सुरु गर्न समस्या देखिएको उनले बताए । ‘सन् २०२३ को अन्तिमसम्ममा विमानस्थल विस्तार सम्पन्न हुने र सीधा उडान सुरु गर्ने उहाँहरूले बताउनुभएको छ,’ उनले भने ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस