२०८१ बैशाख २८, शुक्रबार | Fri, 10, May, 2024

तातोपानी नाका : निर्यात खुलाउन चीन सरकार सकारात्मक

  • २०७९ फागुन ५, शुक्रबार मा प्रकाशित १ साल अघि
  • फागुन ४, २०७९

    चौतारा । आयात मात्रै भइरहेको तातोपानीबाट निर्यात खुलाउन चीन सरकार सकारात्मक भएको छ । तातोपानी मितेरीपुलमा नेपाल र चीनका सरकारी अधिकारीहरूबीच भएको बैठकमा निकासी पनि खुलाउने गरी छलफल सुरु भएको बताइएको छ ।

    तर, कहिलेदेखि दुईतर्फी नाका सञ्चालन गर्ने भन्नेबारे सहमति नभएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

    अध्यागमन कार्यालय कोदारीका प्रमुख दीपक अधिकारी भने यो प्रारम्भिक छलफल मात्रै भएको बताउँछन् । बैठकमा चिनियाँ अधिकारीहरूले तातोपानी नाका पूर्ववत् सञ्चालनका लागि के गर्न सकिन्छ भनेर नेपालका अधिकारीसँग सुझाव मागेको प्रजिअ न्यौपानेले बताए ।

    निकासी वस्तुको चेकजाँच गर्न खासाको रमितेमा निकासी घर निर्माणाधीन रहेको पनि बैठकमा जानकारी गराइएको उनले बताए ।

    बैठकमा नेपालबाट सिन्धुपाल्चोक जिल्ला प्रशासन, अध्यागमन, सुरक्षा निकाय, भन्सारका प्रमुख तथा चीनबाट न्यालमकाउन्टी प्रशासन, सुरक्षा निकाय, अध्यागमनलगायत अधिकारीहरूको सहभागिता रहेको थियो ।

    भूकम्पपछि २०७६ जेठ १५ मा नाका एकतर्फी सञ्चालन भएको थियो । तर सोही वर्षको चैत ११ मा कोरोना भाइरस नियन्त्रण गर्न देशभर लकडाउनको घोषणा गरेपछि तातोपानी नाकाबाट हुने आयात वर्ष दिन जति रोकिएको थियो ।

    विसं २०७७ मा दुवै देशका स्थानीय अधिकारीले मितेरी पुलमा पाँच मिटर टाढा रहेर बैठक गरेका थिए । त्यसपछि यो नै पहिलो प्रत्यक्ष बैठक हो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस