२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

सड्ने अवस्थामा चालिस हजार किलोग्राम बढी रक्तचन्दन

  • २०७९ पौष २८, बिहिबार मा प्रकाशित १ साल अघि
  • पुस २७, २०७९
    सिन्धुपाल्चोक । स्पष्ट कानुन नहुँदा विभिन्न समय र स्थानबाट प्रहरीले बरामद गरेको करिब ४० हजार किलोभन्दा बढी रक्तचन्दन सिन्धुपाल्चोकमा अलपत्र परेकोे छ ।

    लुकाई छिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा दसकौँदेखि प्रहरीले बरामद गरेको रक्तचन्दन लिलामी वा फिर्ती हुन नसकेकाले अलपत्र भएको हो । पटक–पटक गरी बरामद गरिएको यो परिमाणको रक्तचन्दन स्पष्ट कानुन नहुँदा के गर्ने भन्ने अन्योलका कारण सडेर खेर जाने अवस्थामा पुगेको छ ।

    बरामद गरिएको रक्तचन्दन साबिक जिल्ला वन कार्यालयले संरक्षण गर्नुपर्ने भए पनि जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा राखिएको छ । वन परिसरमा स्थान अभाव तथा हेरालु नहुँदा संरक्षण र सुरक्षाका लागि प्रहरीलाई जिम्मा दिइएको सहायक जिल्ला वन अधिकृत कृष्णबहादुर थापाले जानकारी दिए ।

    तस्करहरुले अवैध रुपमा लुकाईछिपाई चीनको खासा लैजाँदै गरेको अवस्थामा प्रहरीले यो परिमाणको रक्तचन्दन बरामद गरेको थियोे । रक्तचन्दनबारे अझैसम्म पनि सम्बद्ध निकायले ठोस निर्णय नगरेकाले यस्तो अवस्थामा पुगेको हो ।

    “यसबारे विभाग वा मन्त्रालयले निर्णय गर्नुपर्छ । हामीलाई अधिकार छैन”, उनले भने, “ बरामद गरिएका रक्तचन्दन संरक्षण गरिराख्नु भन्ने माथिबाट निर्देशन भएकाले हामीले संरक्षण मात्र गरिरहेका हौँ ।”

    रक्तचन्दन वनको स्वामित्वमा भए पनि ठाउँ अभावका कारण प्रशासन प्राङ्गणमा राखिएको छ । साबिक वन विभागले अहिले बरामद रक्तचन्दनको अवस्थाबारे लेखेर पठाउन जिल्ला वन कार्यालयलाई निर्देशन दिएकामा पत्र आएपछि यहाँ भएका रक्तचन्दनको अवस्थाबारे जानकारी गराइएको सहायक वन अधिकृत थापाले बताए ।

    यसअघि उक्त कार्यालयले व्यवस्थापनका लागि वन विभागलाई पत्राचार गरे पनि विभाग मौन थियो । अर्बौं मूल्य बराबरको रक्तचन्दन वन कार्यालयले प्रहरीलाई आधिकारिक पत्रसहित सुरक्षाका लागि जिम्मा दिएको हो ।

    वन कार्यालयमा सशस्त्र वनरक्षक नभएको र सुरक्षामा कमजोरी रहेकाले रक्षाका लागि प्रहरीलाई जिम्मा दिइएको उनको भनाइ थियो । साइटिस सन्धिले ओसारपसारमा रोक लगाएको रक्तचन्दन गैरकानुनी रुपमा आएकाले प्रहरीले बरामद गर्दै आएको छ ।

    साइटिस–२ को सूचीमा रहेको रक्तचन्दन आयात गर्ने र निर्यात गर्ने मुलुकबीच सम्झौता भयो भने ओसारपसार गर्न पाइँछ तर तेस्रो राष्ट्रको बाटो भई जाने भएमा ती राष्ट्रबीच सम्झौता हुनुपर्छ । यहाँ बरामद गरिएका रक्तचन्दन भारतबाट लुकाईछिपाई चीन लैजाने गरिएका छन् ।

    ओसारपसारमा कुनै सम्झौता नभएकाले रक्तचन्दन नेपालमा बरामद गर्ने गरिएको हो । साइटिस–१ को सूचीमा रहेको कुनै पनि वनस्पति तथा वन्यजन्तुका अङ्गहरु भने कुनै पनि मुलुकले बिक्रीवितरण तथा कतै ओसारपसार गर्न नपाउने साइटिसको प्रावधान छ ।

    प्रशासनको परिसरमा रहेको रक्तचन्दनको जिम्मेवारी तथा सुरक्षा प्रहरीले गर्ने गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक शिवकुमार बुढाथोकीले जानकारी दिए । प्रशासन कार्यालयको प्राङ्गणमा ६२ सालदेखि बरामद गरिएका रक्तचन्दन छन् ।

    त्यसबेला बाह्रबिसे प्रहरीले बरामद गरेको सात हजार आठ सय किलो, ०६४ सालमा जिल्ला प्रहरी कार्यालयले बरामद गरेको छ हजार छ सय किलो, ०६४ सालमै मा विशेष अनुगमन टोलीले बरामद गरेको आठ हजार दुई सय किलोलगायत रक्तचन्दन छन् ।

    प्रहरीका अनुसार अरनिको राजमार्गमा रहेका विभिन्न प्रहरी चौकीले गरेको नियमित जाँचका क्रममा बढी रक्तचन्दन बरामद गरिएको थियो। बेवारिसे अवस्थामा रहेर बरामद गरिएका केही रक्तचन्दन पनि प्रशासन कार्यालयको प्राङ्गणमा रहेको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस