२०८३ जेष्ठ २९, शुक्रबार | Fri, 12, Jun, 2026

म ओभरस्मार्ट भएँ, घमण्डीपन देखाएँ भन्नेहरूलाई विधिमाथि ‘कम्परमाइज’ गर्न सक्दिनँ : सरल सहयात्री

  • २०७९ पौष १७, आईतबार मा प्रकाशित ३ साल अघि
  • पुस १७, २०७९

    चाैतारा । नेकपा माओवादी केन्द्रका वागमती प्रदेश अध्यक्ष तथा प्रदेश सांसद सरल सहयात्री पौडेलले पार्टीभित्र विधि मर्दै जाने र व्यक्तिका इच्छा हावी हुँदै गएपछि पार्टी कमजोर बनेको टिप्पणी गरेका छन् ।

    शनिबारको बैठकले वागमती प्रदेश संसदीय दलमा सालिकराम जमरकट्टलाई चयन गरेपछि असन्तुष्ट रहेको पौडेलले आफू रहेसम्म निरन्तर पार्टीभित्र वैचारिक रुपमा प्रस्तुत हुने बताएका हुन् ।

    उनले फेसबुकमा भनेका छन्, ‘यसपटक पार्टी भित्रबाट र व्यक्तिगत रुपमा मलाई सहानुभूति राख्ने धेरैले वागमती प्रदेशको संसदीय दल नेताका रुपमा देख्ने चाहना राखेको महसुस गरेको थिएँ । उहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । ज-जसलाई मैले हतारो गरें, ओभरस्मार्ट भएँ, घमण्डीपन देखाएँ र कतिपय नेताका व्यक्तिगत आग्रह नमानेर गलत गरें भन्ने लागेको छ उहाँहरुको मप्रतिको सबैखाले धारणाप्रति उच्च सम्मान गर्दै सत्यताको हदसम्म महसुस गर्ने र बाँकी विषयलाई अनुभवको सम्पत्ति बनाएर राख्नेछु ।’

    माओवादी केन्द्रभित्र आन्तरिक जनवादमा सोपान क्रमको डरलाग्दो विभेद एवं परम्परागत ‘सर्वसहमत’ नामक जबरजस्ती संस्कारप्रति अथक संघर्ष रहिरहने बताएका छन् ।

    ‘मेरो जोड आज, भोलि र निरन्तर आफू रहेसम्म पनि वैचारिक एवं निश्चित उध्देश्य एवं लक्ष्यहरुसँग सम्बन्धित रहेर स्वतन्त्र निर्णय लिन सक्ने आत्मनिर्भर कार्यकर्तासहितको सबल पार्टी निर्माण नै हो’, उनले भनेका छन्, ‘म सरल सहयात्री भनेर चिनिएको छु भने यही पार्टी र आन्दोलनका कारण चिनिएको छु ।’

    वागमती प्रदेश अध्यक्ष भएदेखि आफू कतिपय सन्दर्भमा विधिमाथि कम्परमाईज गरेका कारण कतिपय स्थानीय नेता कार्यकर्तामा अन्याय हुन गएको बोध भएको उल्लेख गरेका छन् ।

    ‘आगामी दिनमा आफू मातहत पार्टीभित्रको आन्तरिक जनवादको पूर्ण रक्षक हुनेछु । यसका लागि आजको अपडेटेड पार्टी निर्माणका निम्ति ‘मिसन ११९’ अर्थात वागमती प्रदेशको ११९ वटा पालिकास्तरीय पार्टीलाई सबलीकरण गर्ने अभियानमा लाग्नेछु उनको भनाइ छ, ‘समग्र वैचारिक विषय हल नगरी समाधान आउँदैन भन्दै आफ्नै तालमा सुतिरहनेहरुको ठूलो पंक्ति हावी नै छ ।’

    उनले आफ्नो विचारमा जो जहाँ र जुन कार्यक्षेत्रको जिम्मेवारीमा उभिएको छ त्यही गर्दै जानुपर्नेमा जोड दिएका छन् ।

    ‘मिसन ११९’ अभियानलाइ सफल पार्न पार्टी प्रति निस्वार्थ भाव बोकेका, आर्थिक प्रलोभन नराख्ने, सबैखाले स्थानीय स्तरमा हुने अनियमितता, विभेद र भ्रष्टाचारको विरुद्धमा आवाज उठाउन र खबरदारी गर्न नैतिक बल भएका सबै कमरेडहरुलाई स्वयंसेवकीय साथ दिनुहुन विशेष अनुरोध गर्दछु’ उनले भनेका छन् ।

    तपाईंलाई यो खबर पढेर कस्तो लाग्यो ?
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस