२०८१ जेष्ठ १, मंगलबार | Tue, 14, May, 2024

आलु उत्पादन गरेर जीविकोपार्जन गर्दै सिन्धुपाल्चोकका किसान

  • २०७९ मंसिर १६, शुक्रबार मा प्रकाशित १ साल अघि
  • मंसिर १६, २०७९

    चौतारा । सिन्धुपाल्चोकको उच्च पहाडी क्षेत्रका साथै तल्लो क्षेत्रका किसानका निम्ति पछिल्लो समय आलुखेती आम्दानीको गतिलो माध्यम बनेको छ। अन्य खेतीको तुलनामा आलुबाट बढी फाइदा हुने भएपछि किसान आलुखेतीमा आकर्षित भएका हुन्।

    जिल्लाको मध्यभागमा पर्ने ब्रम्हायणी नदी आसपासका सेराफाँट, अर्चलेफाँट, सिम्लेफाँट, कुविण्डेफाँट आलुखेतीले हरियाली भएका छन्।

    आलु लगाएर यस क्षेत्रका किसानले वार्षिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गरिरहेको स्थानीय रवीन्द्र खड्का बताउँछन्।

    कुविण्डेका किसान गोविन्द सापकोटाका अनुसार हिउँद र वर्षात् दुवै याममा पानी लाग्ने नौबिसेफाँटमा धानखेती गर्दा मुस्किलले चार–पाँच बोरा उत्पादन हुने गर्दथ्यो। त्यही खेतमा आलु लगाउँदा ९० हजार रुपैयाँसम्मको आम्दानी गर्दै आएको बताएका छन्।

    आलुखेतीबाट पर्याप्त आम्दानी भएपछि बतासे रानीटारका केदारनाथ काफ्लेले पनि पाँच वर्षदेखि आलुखेती लगाउँदै आइरहेको र यसपाला करिब १५ हजार रुपैयाँ खर्च गरेर आलुखेती गरेको बताए।

    यसबाट कम्तीमा ६०/७० हजार रुपैयाँ आम्दानी हुने उनको आश छ। ब्रम्हायणी नदी आसपासका फाँटमा सिँचाइ सुविधा प्रशस्त भएकाले पनि किसानलाई आलुखेती लगाउन निकै सुविधा भएको फुल्पिङकोटका प्रेमबहादुर भण्डारीको भनाइ छ।

    उता इन्द्रावती नदी दायाँ-बायाँका खेत पनि आलुखेतीले हरियाली भएका छन्। आलुखेतीबाट मनग्य आम्दानी भएपछि किसान आलुखेती लगाउन हौसिएका छन्।

    विगतमा गहुँखेती लगाएर जीविकोपार्जन गर्दै आएका किसान आलुखेतीमा समर्पित भएपछि यस क्षेत्रका बासिन्दाको आम्दानीमा सुधार भएको इन्द्रावती गाउँपालिका- १२ भीमटारका वडाध्यक्ष सुरेन्द्र दनुवार बताउँछन्।

    आलुखेती लगाएरै इन्द्रावती नदी आसपासका बासिन्दाले वार्षिक करोडौँ रुपैयाँ गाउँ भित्र्याउन सफल भएको दनुवारले बताए। आलु र तरकारी खेतीमा किसान लागेकाले यसलाई व्यवस्थित पार्न सिपाघाटमा तरकारी संकलन केन्द्र स्थापना गरिएको सिपापोखरेका सीताराम श्रेष्ठले जानकारी दिए।

    जिल्लाको उच्च पहाडी भू-भागमा उत्पादन हुने आलु पूर्णरूपमा अर्गानिक हुने भएकाले पछिल्लो समय यहाँ उत्पादन हुने आलुले राजधानीमा समेत राम्रो बजार लिएको मुडे आलु विकास केन्द्रले जनाएको छ। रासस

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस